काठमाडौं । नेकपा (एमाले) का नेता महेश बस्नेत बारा आउनु भएपछि सिमरा क्षेत्रमा तनाव उत्पन्न भएको छ । सम्भावित झडपलाई रोक्न प्रशासनले दिउँसो १२ बजेदेखि राति ८ बजेसम्म आज सिमरा आसपास क्षेत्रमा निषेधाज्ञा आदेश जारी गरेको छ। घटनापछि सिमरा विमानस्थल पूर्णरुपमा बन्द गरिएको छ । आजको सबै उडान समेत सेवा थप्प भएको छ। यात्रुहरुलाई विमानस्थलमै अलपत्र पर्न नपरोस् भनेर एयरलाइन्सलाई पूर्व सूचना दिइएको सिमरा विमानस्थल कार्यालयले जनाएको छ।
सिमरा विमानस्थल घेराउ गर्न पुगेका जेनजी युवाहरुको भिड अघि बढेपछि स्थिति नियन्त्रणबाहिर जान सक्ने अनुमानमा सुरक्षाकर्मीले अश्रु ग्यास प्रहार गरी भिड तितर–बितर पारेको बाराका सहायक प्रमुख जिल्ला अधिकारी (सह–सीडीओ) छविरमण भट्टराईले जानकारी दिनुभयो। उहाँका अनुसार विमानस्थलको संवेदनशीलताका कारण थप जोखिम लिन मिल्दैन । भिड रोक्न आवश्यक बल प्रयोग गरिएको र अहिले स्थिति सुरक्षा निकायको नियन्त्रणमा छ।
निषेधाज्ञा जारी भएपछि सिमरा बजार, परवानीपुर, जितपुरसिमरा –१६ आसपासको क्षेत्र सुनसान छ । यातायात बन्द हुँदा यात्रु तथा स्थानीयलाई असहज भएको अधिकारकर्मीको भनाइ छ । अत्यावश्यक सेवा एम्बुलेन्स, स्वास्थ्यकर्मी, सुरक्षासँग सम्बन्धित सवारीलाई आवत–जावतमा छुट दिइएको स्थानीय प्रशासनले जनाएको छ। विमानस्थल बन्द भएपछि निर्धारित सबै उडान रद्द गरिएको छ । एयरलाइन्सहरुले टिकट बुकिङ गरिसकेका यात्रुलाई अर्को मितिमा सार्ने वा पैसा फिर्ता दिने व्यवस्था मिलाउने बताएका छन् । प्रशासनले सर्वसाधारणलाई अफवाहमा नपर्न र अवस्था सामान्य नहुँदासम्म घरमै बस्न अनुरोध गरेको छ। सुरक्षा निकाय उच्च सतर्कतामा रहेको र आवश्यक परे थप बल परिचालन गरिने जनाइएको छ। यसबारे थप विवरण आउन बाँकी रहेको बारा प्रहरीले जनाएको छ । गोरखापत्र


