काठमाडौं । भक्तपुरको सूर्यविनायकदेखि काभ्रेपलाञ्चोकको धुलिखेलसम्मको सडक विस्तार कार्य अहिले समग्रमा ५० प्रतिशत पुगेको छ । अरनिको राजमार्गअन्तर्गत पर्ने १५.८ किलोमिटर लम्बाइको यो खण्डलाई दुई प्याकेजमा विभाजन गरी ६ लेनमा विस्तार गरिँदैछ । पहिलो प्याकेजअन्तर्गत सूर्यविनायक–साँगा ८.३ किलोमिटर सडकको भौतिक प्रगति ४५ प्रतिशत छ भने दोस्रो प्याकेजअन्तर्गत साँगा–धुलिखेल ७.५ किलोमिटर खण्डको प्रगति ५५ प्रतिशत पुगेको छ । दुवै खण्डमा निर्माण कार्य तीव्र गतिमा भइरहेको बताइएको छ।
ऊर्जा, जलस्रोत तथा सिँचाइ, भौतिक पूर्वाधार तथा यातायात तथा शहरी विकासमन्त्री कुलमान घिसिङले स्थलमै पुगेर कामको अवस्था निरीक्षण गर्नुभएको छ । यस क्रममा उहाँले विभागीय अधिकारी, आयोजन प्रमुख र निर्माण व्यवसायीसँग छलफल गर्दै अनुकूल मौसमको फाइदा उठाई निर्माणलाई अझ द्रुतगतिमा अघि बढाउन निर्देशन दिनुभयो। मन्त्री घिसिङका अनुसार आयोजनासम्बन्धी कुनै निर्णय बाँकी छ भने तत्काल टुंग्याउनुपर्ने र आवश्यक जनशक्ति तथा उपकरण थपेर आगामी असारभित्र विस्तार कार्य सम्पन्न गर्ने गरी अघि बढ्नुपर्नेमा जोड दिनुभयो । अर्थ मन्त्रालयले आवश्यक बजेटको प्रतिबद्धता जनाइसकेकाले अब आर्थिक अभाव नहुने पनि उहाँले स्पष्ट पार्नुभयो।
यसअघि सडक सीमा विवाद, घरटहरा हटाउने चुनौती र बजेट अभावले निर्माणमा प्रभाव पारेका थिए । चालु वर्षका लागि ७० करोड रुपैयाँ मात्र विनियोजन भए पनि आयोजनाले करिब चार अर्ब रुपैयाँ अतिरिक्त बजेट माग गरेको छ। बनेपा बजार क्षेत्रमा देखिएका समस्या समाधानका लागि बनेपा नगर प्रमुखसँगसमेत मन्त्रिले समन्वयात्मक सहकार्य गर्न अनुरोध गर्नुभएको छ। दुवै प्याकेजमा टेवा पर्खाल तथा नाली निर्माण ९५ प्रतिशत पुरा भइसकेको छ । साँगा–धुलिखेल खण्डका करिब दुई किलोमिटर सडक कालोपत्रे पनि भइसकेको छ।

