म्याद सकिनै लाग्दा आधा मात्रै काम

Published on

काठमाडौं । तीन वर्षमा निर्माण सम्पन्न गर्ने लक्ष्यका साथ सुरु गरिएको अरनिको राजमार्गको सूर्यविनायक–धुलिखेल सडकखण्ड विस्तार आयोजनाको सम्झौताको समयावधि सकिन केही दिन बाँकी रहँदा ५० प्रतिशत मात्रै काम सम्पन्न भएको छ ।  सरकारले अरनिको राजमार्गको सूर्यविनायकदेखि धुलिखेलसम्मको १६ किलोमिटर सडकलाई दुई खण्डमा विभाजन गरी विस्तारको काम गरेको हो । सूर्यविनायक–धुलिखेल सडक आयोजनाका प्रमुख सुपरिन्टेन्डेन्ट इन्जिनियिर विजय महतोले सडक विस्तारको जिम्मा पाएको निर्माण व्यवसायीको समयावधि सकिन लाग्दा बल्ल ५० प्रतिशत काम मात्रै सम्पन्न भएको बताउनुभयो । उहाँले सडक आयोजना अन्तर्गत साँगादेखि धुलिखेलसम्मको ८.५ किलोमिटर सडकखण्डमा हालसम्म ५५ प्रतिशत काम र सूर्यविनायकदेखि साँगासम्मको ७.५ किलोमिटर सडकखण्डमा ४२ प्रतिशत काम सकिएको बताउनुभयो । 

साँगादेखि धुलिखेलसम्मको कामको जिम्मेवारी पाएको लामा कन्स्ट्रक्सनसँगको सम्झौताको म्याद यही मङ्सिर २५ गते र सूर्यविनायक–साँगा खण्डको जिम्मा पाएको आशिष कुमार श्रेष्ठ÷बन्धन÷भगवती जेभीसँगको सम्झौताको म्याद पुस मसान्तमा सकिन लागेको हो । “काभ्रेपलाञ्चोकतर्फको ठेक्का पाएको लामा कन्स्ट्रक्सनले डेढ वर्षको समय थप गर्न माग गरेको छ । निर्माण व्यवसायीले माग गरेको समयावधिको विषयमा मूल्याङ्कनको काम भइरहेको छ । कार्यालयबाट कति समय ढिलाइ भएको छ, सो अनुसार हामी म्याद थप गर्नेछौ,ँ” प्रमुख महतोले भन्नुभयो ।  उहाँले काभ्रेपलान्चोकतर्फ अझै पनि एक तिहाइ विद्युत्को पोल स्थानान्तरण गर्न बाँकी रहेको बताउनुभयो । बनेपामा सडकको सीमा, केन्द्र भागको विषयमा विवाद समाधान गर्न बाँकी रहेको छ । ढल व्यवस्थापन, खानेपानीको पाइप स्थानान्तरणका कारणले सडक विस्तारको काममा ढिलाइ भएको उहाँको भनाइ छ ।

आयोजना प्रमुख महतोले सडकका लागि आवश्यक पर्ने निर्माण सामग्री ल्याउने पनौतीको रोसी क्षेत्रको समस्या, सवारी आवागमनलगायतका कारणसमेत सडक विस्तारको काममा ढिलाइ भएको बताउनुभयो । आयोजनाका ई. विष्णुप्रसाद खनालले सडक विस्तार अन्तर्गत काभ्रेपलान्चोक खण्डको धुलिखेल बिपी चोकदेखि बाँसघारीसम्म र बनेपा पुलबजारमा गरी हालसम्म करिब दुई किलोमिटर सडक कालोपत्रे सकिएको जानकारी दिनुभयो । उहाँले पुल बजारदेखि जनागालसम्म एकतर्फी रूपमा राजमार्ग र सर्भिस लेनको कालोपत्रे सकिएको बताउनुभयो । बाँकी राजमार्ग र सर्भिस लेनमा समेत काम अघि बढेको छ । इन्जिनियर खनालले काभ्रेपलान्चोकतर्फ आगामी असार मसान्तभित्र कालोपत्रेको सबै काम सक्ने लक्ष्यका साथ कामलाई अघि बढाइएको जानकारी दिनुभयो । उहाँले असारसम्म कालोपत्रेको काम सकेर त्यसपछि सडक पेन्टिङ, सडक पोल, बत्ती, गार्डेनिङ, एक्सेस रोड, सडक सुरक्षालगायतका काम गर्ने गरी निर्माण व्यवसायीलाई काममा लगाइएको बताउनुभयो । 

सडक विस्तार अन्तर्गत धुलिखेल बाँसघारीदेखि २८ किलोसम्म सर्भिस लेनबाट सवारी सञ्चालन गरेर राजमार्ग निर्माणका लागि पुरानो कालोपत्रे उप्काउनेलगायतका काम भइरहेको छ । घरटहराको मुआब्जा, बनेपा क्षेत्रमा देखिएको विवाद, बिजुली पोल स्थानान्तरण, निर्माण सामग्रीको ढुवानीका साथै सरकारले आयोजनाका लागि पर्याप्त बजेट विनियोजन नगरेका कारण महिनौसम्म सडक विस्तारको कामले गति लिन नसकेको हो ।  चालु आवको मङ्सिर र पुस मसान्तमा सम्झौता सकिनै लाग्दा सरकारले सडकको काम पूरा गर्न करिब चार अर्ब रुपियाँको बजेट विनियोजन गर्नुपर्नेमा चालु आवमा सडक विस्तारतर्फ ६० करोड र पुल निर्माणतर्फ १० करोड रुपियाँ मात्रै विनियोजन गरेको छ । 

अरनिको राजमार्गको सूर्यविनायकदेखि धुलिखेलसम्मको १६ किलोमिटर सडकलाई दुई खण्डमा विभाजन गरी साढे दुई वर्षदेखि सडक विस्तारको काम हुँदै आएको छ ।  सूर्यविनायकदेखि साँगासम्मको ७.५ किलोमिटर सडक निर्माणका लागि आशिष कुमार श्रेष्ठ÷बन्धन÷भगवती जेभीसँग भ्याटसहित तीन अर्ब ८८ करोड ९३ लाख रुपियाँको लागतमा २०७९ पुसदेखि काम गर्दै आएको छ ।  यस्तै काभ्रेपलान्चोकतर्फ साँगादेखि धुलिखेलसम्मको ८.५ किलोमिटर सडक निर्माणका लागि लामा कन्स्ट्रक्सनसँग भ्याटसहित चार अर्ब पाँच करोड ६४ लाख रुपियाँमा ठेक्का सम्झौता गरी २०७९ मङ्सिरदेखि सडक विस्तारको काम गर्दै आएको छ ।  गोरखापत्र

spot_img

ताजा समाचार

जुम्लामा ४.१ म्याग्निच्युडको भूकम्प

जुम्ला जिल्लाको टाम्टी आसपास केन्द्रबिन्दु भएर बिहीबार बिहान भूकम्प गएको छ। राष्ट्रिय भूकम्प मापन...

महाकाली नदीमा बढ्दो डुबानका घटना न्यूनीकरण गर्न सचेतनामूलक बोर्डहरू राखिए

निलाक्सी चन्द कञ्चनपुर, जेठ ३ गते । पछिल्लो समय कञ्चनपुरस्थित महाकाली नदीमा मानिस डुबेर मृत्यु...

राष्ट्रिय हक्की टोलीमा मिथिला नगरपालिकाका ६ खेलाडी छनोट

काठमाडौँ । नेपाल हक्की सङ्घले घोषणा गरेको राष्ट्रिय महिला तथा पुरुष हक्की टोलीमा धनुषाको...

गृहमन्त्री गुरुङलाई नवलपुरमा कार्यकर्ताको स्वागत

काठमाडौँ । गृहमन्त्री सुधन गुरुङलाई राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) नवलपुरका सभापति नरेश्वर लामिछाने नेतृत्वको...