माथिल्लो म्याग्दी–१ जलविद्युत् आयोजना : तीस प्रतिशत भौतिक प्रगति

Published on

काठमाडौं । म्याग्दीको धवलागिरी र मालिका गाउँपालिकामा निर्माणाधिन ५३ दशमलव पाँच मेगावाट क्षमताको माथिल्लो म्याग्दी–१ जलविद्युत् आयोजनाको ३० प्रतिशत भौतिक प्रगति भएको छ । अपर म्याग्दी हाइड्रोपावर लिमिटेड प्रवर्धक रहेको आयोजनाको बाँध, सुरुङ र विद्युतगृह निर्माण कार्यले तीव्रता पाएको छ । आयोजना प्रमुख ज्योतिकुमार केसीले एक वर्षको अवधिमा ३० दशमलव ९४ प्रतिशत भौतिक र ३० दशमलव ८० प्रतिशत वित्तीय प्रगति भएको जानकारी दिनुभयो । “चार ठाउँबाट सुरुङ खन्ने काम भैरहेको छ,” उहाँले भन्नुभयो, “विस २०८३ फागुनभित्र विद्युत् उत्पादन सुरु गर्ने लक्ष्यअनुसार विद्युतगृह र बाँध निर्माण कार्यलाई पनि तीव्रता दिएका छौँ ।” कुल पाँच हजार सात सय ८९ दशमलव ७१ मिटर लामो सुरुङ हालसम्म दुई हजार तीन सय ६० मिटर निर्माण सकिएको छ ।

 बाँध निर्माणस्थलमा ४५ प्रतिशत भौतिक प्रगति हासिल भएको छ । करिब दुई हप्तामा विद्युतगृहको उत्खनन् कार्य सकेर संरचना निर्माणको तयारी भएको छ । विसं २०८० चैत १९ मा सम्झौता गरेको सिभिल ठेकेदार लुना बिल्डर्स एण्ड कन्ट्र्याक्टरले २०८१ जेठ ८ गते परिचालित भएको थियो । धवलागिरी गाउँपालिका–४ खाम्लामा म्याग्दी नदीको पानीलाई सुरुङमा छिराउनका लागि १५ मिटर अग्लो र ४० मिटर लामो बाँध निर्माण भएरहेको छ । बाँध निर्माण स्थल नजिकै एक सय मिटर लामो र १५ मिटर अग्लो तीन वटा पानी थिग्राउने पोखरी निर्माणाधीन छ । मेकानिकल र इलेक्ट्रो–मेकानिकल कार्यका लागि निर्माण कम्पनी छनोट भएको छ । रन अफ द रिभर प्रकृतिको आयोजनाको आउटलेटबाट विद्युतगृहको उचाइ एक सय ९६ मिटर छ । आउटलेटबाट पानीलाई विद्युतगृहमा खसाल्न छ सय ९२ मिटर पेनस्टक पाइप जडान गरिनेछ ।

ऊर्जा इन्जिनियरीङ एण्ड म्यानेजमेन्ट सोलुुसनले परामर्शदाता रहेको यस आयोजनाको प्रवर्धक कम्पनी ऊर्जा डेभलपर्स प्रालिमा आबद्ध छ । विद्युतगृहबाट मालिका गाउँपालिका–७ डाडाखेतमा निर्माणाधीन एक सय ३२ केभी क्षमताको सबस्टेशन जोड्ने एक सय ३२ केभी क्षमताको एक दशमलव पाँच किलोमिटर प्रसारण लाइनको अध्ययन भइरहेको छ । सानीमा बैङ्कको नेतृत्वमा छ वटा बैङ्कको ऋण, प्रवर्द्धक कम्पनी र सर्वसाधारणको शेयरमार्फत जुटाइने ११ अर्ब २३ करोड २७ लाख छ हजार रुपियाँको लगानीमा निर्माण हुने आयोजनाको विद्युतगृह मालिका गाउँपालिका–७ भारवाङमा रहनेछ । यस आयोजनाबाट वार्षिक औसत तीन सय १५ दशमलव ०१ गिगावाट घण्टा विद्युत् केन्द्रीय लाइनमा जोडिनेछ । भारवाङबाट बाँध निर्माण स्थलसम्म नौ किलोमिटर पहुँचमार्ग निर्माण गरिसकेको आयोजनाले सामाजिक उत्तरदायित्वका कार्यक्रमका लागि छ करोड २० लाख रुपियाँ बजेट विनियोजन गरेको छ । हालसम्मको प्रगतिअनुसार निर्धारित समय तालिकाभित्रै सम्पन्न हुनेमा विश्वस्त रहेको आयोजना प्रमुख केसीले बताउनुभयो । गोरखापत्र

spot_img

ताजा समाचार

जुम्लामा ४.१ म्याग्निच्युडको भूकम्प

जुम्ला जिल्लाको टाम्टी आसपास केन्द्रबिन्दु भएर बिहीबार बिहान भूकम्प गएको छ। राष्ट्रिय भूकम्प मापन...

महाकाली नदीमा बढ्दो डुबानका घटना न्यूनीकरण गर्न सचेतनामूलक बोर्डहरू राखिए

निलाक्सी चन्द कञ्चनपुर, जेठ ३ गते । पछिल्लो समय कञ्चनपुरस्थित महाकाली नदीमा मानिस डुबेर मृत्यु...

राष्ट्रिय हक्की टोलीमा मिथिला नगरपालिकाका ६ खेलाडी छनोट

काठमाडौँ । नेपाल हक्की सङ्घले घोषणा गरेको राष्ट्रिय महिला तथा पुरुष हक्की टोलीमा धनुषाको...

गृहमन्त्री गुरुङलाई नवलपुरमा कार्यकर्ताको स्वागत

काठमाडौँ । गृहमन्त्री सुधन गुरुङलाई राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) नवलपुरका सभापति नरेश्वर लामिछाने नेतृत्वको...