अस्पतालको भवन निर्माणमा ढिलाइ

Published on

काठमाडौं । जिल्ला सदरमुकाम खलङ्गास्थित गल्फैमा रहेको जिल्ला अस्पताल दार्चुलाको निर्माणाधीन भवनको निर्माण कार्यमा ढिलाइ भएपछि बिरामीलाई सेवा दिन समस्या भएको छ । अस्पतालका सबैजसो सेवालाई सहज रुपमा सञ्चालन गर्न यहाँ पचास शय्याको नयाँ भवन निर्माणको काम भइरहेको छ, तर निर्माणको गति सुस्त भएको सरोकारवालाहरुले बताएका छन्। भवन निर्माणका लागि आर्थिक वर्ष २०७८÷७९ को असार २४ गते सम्झौता भएको भए पनि चार वर्ष बितिसक्दा समेत भवनको निर्माण सम्पन्न नभएको अवस्था छ । भवन निर्माण सम्पन्न हुन अझै समय लाग्ने निर्माण कम्पनी श्याम सुन्दर गोर्खा वाईआर जेभीका प्रतिनिधि तथा इन्जिनियर गोकर्णप्रसाद जोशीले जानकारी दिनुभयो । अहिले भवनको दुई तलाको ढलान गरेर तेस्रो तलाको सेट्रिङ भइरहेको उहाँले बताउनुभयो । निर्माण कम्पनीसँगको सम्झौता अनुसार २०८२ मङ्सिर महिनामा भवन निर्माण गरिसक्नुपर्ने हो । “सम्झौता अनुसार यसै महिना काम सक्नुपर्ने हो, तर काम सकिने अवस्था छैन्, भवन निर्माणको ४५ प्रतिशत मात्रै काम भएको छ, उहाँले भन्नुभयो ।”

यसअघि भवन अभावले बिरामीलाई सेवा लिन असहज भएको भन्दै यथाशीघ्र निर्माण कार्य सम्पन्न गर्न नागरिक समाज दार्चुलाका संयोजक महेश भट्टले जिल्ला प्रशासन कार्यालय मार्फत ज्ञापनपत्र बुझाइ सरोकारवालाको गम्भीररुपमा ध्यानाकर्षण गराउनुभएको थियो । जिल्ला अस्पताल दार्चुलाको चारतले भवन निर्माणका लागि सङ्घीय सरकारले चौबिस करोड रुपियाँ विनियोजना गरेको थियो । २०७० सालमा महाकाली नदीमा आएको बाढीले अस्पतालको जमिन बगाएको थियो, भने भवनमा समेत क्षति पुर्‍याएको थियो । जमिन अभावमा भएकै संरचना हटाएर नयाँ भवन निर्माणको काम गरिँदा ढिलाइ भएको निर्माण कम्पनीले जनाएको छ । यसैगरी, दैनिक रुपमा दुई सयभन्दा बढी सेवाग्राहीलाई सेवा दिंदै आइरहेको जिल्ला अस्पताल दार्चुलामा भवन नहुँदा अन्तरङ्ग (इन्डोर) सेवा सञ्चालनमा समस्या भएको छ । अस्पतालका सूचना अधिकारी डम्मरदत्त भट्टका अनुसार भवन नहुँदा प्रसूति, आइसियु, भिडियो एक्सरे र अल्ट्रासाउण्ड लगायतका सेवाहरु सञ्चालनमा समस्या भएको हो । पन्ध्र शय्याको जिल्ला अस्पतालमा दैनिक दुई भन्दा बढी सेवाग्राहीलाई सेवा दिनुपरेको उहाँले बताउनुभयो । भवन अभावमा साँघुरा कोठाहरुमा सञ्चालन गरिएको अन्तरङ्ग सेवाले बिरामीहरुमा सङ्क्रमणजन्य रोगहरु छिटोछिटो फैलिने समस्या हुने गरेको उहाँले बताउनुभयो । गोरखापत्र

spot_img

ताजा समाचार

राष्ट्रिय हक्की टोलीमा मिथिला नगरपालिकाका ६ खेलाडी छनोट

काठमाडौँ । नेपाल हक्की सङ्घले घोषणा गरेको राष्ट्रिय महिला तथा पुरुष हक्की टोलीमा धनुषाको...

गृहमन्त्री गुरुङलाई नवलपुरमा कार्यकर्ताको स्वागत

काठमाडौँ । गृहमन्त्री सुधन गुरुङलाई राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) नवलपुरका सभापति नरेश्वर लामिछाने नेतृत्वको...

क्रिकेटर करण केसी कारबाहीमा : म्याच शुल्क कट्टा हुने, एक खेलमा प्रतिबन्ध

काठमाडौँ । नेपाल क्रिकेट संघ (क्यान) ले राष्ट्रिय टोलीका सदस्य तथा नेपाल पुलिस क्लबका...

टिप्परको ठक्करबाट स्कुटर चालकको मृत्यु

काठमाडौँ । प्यूठानमा टिप्परको ठक्करबाट एक जना पुरुषको मृत्यु भएको छ । चेरनेटा–बरौला सडक...