‘मिहिनेत गरे नेपालमै सुन फलाउन सकिन्छ’

Published on

काठमाडौं । नवलपुरको कावासोती चार हसौराका मित्रबहादुर गाहा मगरले तरकारी खेती गर्दैआएको सात वर्ष भयो । लामो समयदेखि कृषि पेशामा लाग्नुभएका उहाँ जस्तोसुकै परिस्थितिमा पनि कहिल्यै विचलित हुनुभएन । पेशाप्रतिको लगाव, मेहेनत र निरन्तरताले नै उहाँ अहिले एक सफल किसान बन्नुभएको छ । उहाँले हसौरामा ३१ कठ्ठा क्षेत्रफल लिजमा लिएर सिजन अनुसारको तरकारी खेती गर्दै आउनुभएको छ । उहाँलाई उहाँकी श्रीमती र परिवारका अन्य सदस्यले साथ सहयोग दिहुनुन्छ । उहाँले कृषि पेशा सुरु गर्नुअघि मलेसियामा लामो समय पसिना बगाउनुभएको थियो । विदेशमा पाँच वर्ष काम गरेर कमाएको भन्दा पनि आफ्नै देशमा पसिना बगाउन सके धेरै राम्रो हुने उहाँले अनुभव सुनाउनुभयो । तरकारी खेतीबाट वार्षिक रुपमा सबै लागत कटाएर सात लाख रुपिँया बराबरको आम्दानी हुनेगरेको उहाँ बताउनुहुन्छ ।

‘कुनै बेला बजारभाउ राम्रो मिल्दैन त्यस्तो बेलामा नाफा कम हुन्छ, बजार भाउ राम्रो पाउँदा त राम्रै आम्दानी हुन्छ, सरदर वर्षको सात लाख हाराहारी त हुन्छ । कहिले धेरै पनि हुन्छ’ मगरले भन्नुभयो । अहिले उहाँको बारीमा स्थानीय भक्तपुरे जातको काँक्रो खेती निकै राम्रो भएको छ । उहाँले सिजनअनुसार बोडी, करेला, टमाटर, खुर्सानी, घिउसिमीलगायतका तरकारी खेती गर्नुहुन्छ । उहाँले बढी मात्रामा लगाउने खेती भनेकै काँक्रो हो । तरकारी खेती सुरु गरेपछि आयआर्जन हुन लाग्यो । त्यसै आम्दानीले उहाँलाई साहस दियो । उहाँ भन्नुहुन्छ, ‘तरकारी खेतीबाट नै राम्रो आम्दानी गर्न थालेपछि विदेश किन जानु भन्ने सोँच आयो । त्यसैले आफ्नै देशमा पसिना बगाउने निर्णय गरे । राम्रो पनि भयो ।’ विदेशमा पाएको दुःख सम्झदै उहाँले भन्नुभयो, ‘आफ्नै परिवारसँग बसेर कृषि कर्म गर्दा निकै खुसी छु । मेहेनत गरे नेपालमै सुन फलाउन सकिन्छ, विदेश जानु पर्दैन ।’ राष्ट्रिय कृषि आधुनिकीकारण कार्यक्रम, कार्यक्रम कार्यान्वयन एकाइ नवलपुरमार्फत यहाँ ‘तरकारी सुपरजोन’ लागू भएपछि धेरै सहज भएको उहाँको अनुभव छ । उहाँ मात्र होइन, अहिले यस क्षेत्रका अन्य किसानहरू समेत यस परियोजनाबाट लाभान्वित भएका छन् । परियोजना अन्तर्गत विभिन्न सामग्री अनुदानमा सहयोग पाउँदा नयाँ किसान समेत तरकारी खेतीमा आकर्षित बनेको उहाँको भनाइ छ । ‘तरकारी सुपरजोन’ कार्यक्रम अन्तर्गत नवलपुरको कावासोतीको वडा ४ र हुप्सेकोट गाउँपालिकामा विशेषगरी स्थानीय भक्तपुरे जातको काँक्रो खेती हुँदैआएको छ । जिल्लाको पाँचवटा पालिकामा ‘तरकारी सुपरजोन’ कार्यक्रम लागू भएको राष्ट्रिय कृषि आधुनिकीकरण कार्यक्रम, कार्यक्रम कार्यान्वयन एकाइ नवलपुरका सूचना अधिकारी रणबहादुर महतोले जानकारी दिनुभयो । 

हुप्सेकोट गाउँपालिकाको –१, २, ३ र ४, मध्यविन्दु नगरपालिका वडा १, २, ३, ६ र ९, कावासोती नगरपालिका वडा ४, ९, १०, १२, १५, १६ र १७ , बौदीकाली गाउँपालिका वडा ५ र ६ र बुलिङ्गटार गाउँपालिका वडा ५ वडामा कार्यक्रम लागू भएको सूचना अधिकारी महतोले बताउनुभयो । अहिले ८ सय हेक्टर क्षेत्रफलमा तरकारी सुपरजोन कार्यक्रम सञ्चालन गरिएको उहाँले जानकारी दिनुभयो । सुपरजोनमा आबद्ध भएका कृषक तथा कृषि समूहलाई कार्यालयले सिँचाइको प्रबन्ध गर्ने, जैविक मल निर्माण र प्रयोगलाई प्रोत्साहन गर्ने, यान्त्रीकरणलाई जोड दिँदै निःशुल्क रूपमा प्राविधिक सेवा प्रदान गर्ने र कृषि उत्पादनको प्रवर्धन तथा बजारीकरणमा सहयोग गर्ने काम गर्दैआएको राष्ट्रिय कृषि आधुनिकीकारण कार्यक्रम, कार्यक्रम कार्यान्वयन एकाइ नवलपुरका प्रमुख तथा वरिष्ठ कृषि अधिकृत डा. देवराज अधिकारीले बताउनुभयो ।  गोरखापत्र

spot_img

ताजा समाचार

जुम्लामा ४.१ म्याग्निच्युडको भूकम्प

जुम्ला जिल्लाको टाम्टी आसपास केन्द्रबिन्दु भएर बिहीबार बिहान भूकम्प गएको छ। राष्ट्रिय भूकम्प मापन...

महाकाली नदीमा बढ्दो डुबानका घटना न्यूनीकरण गर्न सचेतनामूलक बोर्डहरू राखिए

निलाक्सी चन्द कञ्चनपुर, जेठ ३ गते । पछिल्लो समय कञ्चनपुरस्थित महाकाली नदीमा मानिस डुबेर मृत्यु...

राष्ट्रिय हक्की टोलीमा मिथिला नगरपालिकाका ६ खेलाडी छनोट

काठमाडौँ । नेपाल हक्की सङ्घले घोषणा गरेको राष्ट्रिय महिला तथा पुरुष हक्की टोलीमा धनुषाको...

गृहमन्त्री गुरुङलाई नवलपुरमा कार्यकर्ताको स्वागत

काठमाडौँ । गृहमन्त्री सुधन गुरुङलाई राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) नवलपुरका सभापति नरेश्वर लामिछाने नेतृत्वको...