हत्या गरेको आशङ्कामा सासू र नन्द पक्राउ

Published on

काठमाडौं । सिन्धुलीको कमलामाई नगरपालिका –४ धुराफाँट निवासी ३२ वर्षीया सुशीला बम्जनको हत्यामा संलग्न रहेको आशङ्कामा दुई जनालाई पक्राउ गरी घटनाको थप अनुसन्धान अघि बढाएको प्रहरीले जनाएको छ । जिल्ला प्रहरी कार्यालय सिन्धुलीले मङ्गलबार विज्ञप्ति जारी गर्दै घट्नामा संलग्न भएको आशङ्कामा मृतककी सासू ५९ वर्षीया मायारानी बम्जन र नन्द ३५ वर्षीया मीना लामा (बम्जन) लाई पक्राउ गरी थप अनुसन्धान कार्य भइरहेको जनाएको छ । पक्राउ परेका दुबै जनाले आइतबार (पुस ६ गते) दिउँसो अन्दाजी साढे ४ बजे घरको भान्सा कोठामा मृतकको शरीरमा पेट्रोल छर्की आगो लगाई हत्या गरेको बताइएको छ ।

कार्यालयका प्रहरी नायब उपरीक्षक सूर्यप्रकाश सुबेदीका अनुसार घटनास्थल शङ्कास्पद देखिएकाले सोही दिन तत्काल मृतककी सासू मायारानी र नन्द मीनालाई प्रहरीले नियन्त्रणमा लिएको छ । मृतकका बुबा हरिहरपुरगढी गाउँपालिका –४ निवासी प्रेमबहादुर घिसिङ्ले सोमबार पक्राउ परेका प्रतिवादीको नाममा किटानी जाहेरी दर्ता गराउनुभएको छ । ‘उक्त जाहेरी ज्यानसम्बन्धी कसुर (कर्तव्य ज्यान) मुद्दा शीर्षकमा मुद्दा दर्ता गरिएको र पक्राउ परेका प्रतिवादीलाई जिल्ला अदालतबाट सोमबार नै पाँच दिनको म्याद थप लिई घटनाको अनुसन्धान भइरहेको छ’ उहाँले भन्नुभयो, ‘प्रारम्भिक सोधपुछको क्रममा पक्राउ परेकी मीनाले मृतक सुशीलालाई पेट्रोल छर्की आगो लगाएको बताएकी छन् ।’ कार्यालयका अनुसार घटनाको प्रारम्भिक अनुसन्धानको क्रममा घटनास्थलबाट पेट्रोलसहितको दुई बोतल पेट्रोल, जलेको अवस्थामा रहेको बोतलमा पिधमा पेट्रोल, लाइटर र बाँसको भाटामा सल बेरी राखेको अवस्थामा राँको (पुल्ठो) समेत फेला परेको छ । 

उक्त घटनामा मृतकका ससुरा ६२ वर्षीय दुर्गामान बम्जनसमेत आगोको लप्काले भेटेर दाहिने हात, दाहिने खुट्टा र ढाड जलेर घाइते भएको र उहाँलाई सिन्धुली अस्पतालमा उपचारपछि थप उपचारका लागि कीर्तिपुर बर्न अस्पतालमा लगिएको छ । सुशीलाका ७ वर्षका तिम्ल्याहा दुई छोरा र एक छोरी छन् । बोर्डिङ्बाट छोराछोरी घरमा आएर खाजा खाएपछि बच्चाहरुलाई ट्युसन पुगाएर सुशीला घर फर्किएपछि उक्त घटना भएको पाइएको छ । मृतक सुशीलाका आफन्त र स्थानीयले मङ्गलबार सुशीलाको न्याय र घटनाको निष्पक्ष छानबिन गरी दोषीलाई कारवाहीको माग गर्दै जिल्ला प्रहरी कार्यालय सिन्धुलीमा घेराउ गरी दवाब दिएका छन् । शरीरमा पेट्रोल छर्केर आगो लगाएर मार्न थालेपछि सुशीलाले चिच्याएर बचाउन हारगुहार गरेको सुनेपछि स्थानीयहरु घरमा आउँदा गेटमा ताल्चा लगाएको, कोठामा आगो लगाइएको, नन्द मीना घरको गल्लीमा उभिइरहेको र आगो दनदनी बलिरहेको स्थानीय बताउँछन् । स्थानीयका अनुसार सुसुरा, सासू र नन्दले सुशीलालाई पाँच वर्षभन्दा बढी समयदेखि विभिन्न बहानामा निरन्तर मानसिक, शारीरिक यातना दिँदैआएको बताइएको छ । पछिल्लो दुई महिनादेखि नन्द मिनाले सुशीलालाई घर छोडेर नगए मार्छु भन्दै निरन्तर धम्की दिएको खुलेको छ । मृतकका श्रीमान् सूर्य बम्जन भने हाल वैदेशिक रोजगारीका सिलसिलामा कोरियामा छन् । गोरखापत्र

spot_img

ताजा समाचार

राष्ट्रिय हक्की टोलीमा मिथिला नगरपालिकाका ६ खेलाडी छनोट

काठमाडौँ । नेपाल हक्की सङ्घले घोषणा गरेको राष्ट्रिय महिला तथा पुरुष हक्की टोलीमा धनुषाको...

गृहमन्त्री गुरुङलाई नवलपुरमा कार्यकर्ताको स्वागत

काठमाडौँ । गृहमन्त्री सुधन गुरुङलाई राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) नवलपुरका सभापति नरेश्वर लामिछाने नेतृत्वको...

क्रिकेटर करण केसी कारबाहीमा : म्याच शुल्क कट्टा हुने, एक खेलमा प्रतिबन्ध

काठमाडौँ । नेपाल क्रिकेट संघ (क्यान) ले राष्ट्रिय टोलीका सदस्य तथा नेपाल पुलिस क्लबका...

टिप्परको ठक्करबाट स्कुटर चालकको मृत्यु

काठमाडौँ । प्यूठानमा टिप्परको ठक्करबाट एक जना पुरुषको मृत्यु भएको छ । चेरनेटा–बरौला सडक...