चार दशकदेखि घुमन्ते व्यापार गर्दै दास

Published on

काठमाडौं । नोकरी जाइसे न अभिएसे न कहिए बलम जी, घरे छुटी लके और कुछदिन रहिए बलम जी । टाउकोमा भारी, काँधमा गम्छा, मुहारमा मिठो मुस्कानसहित गीतमा रमाउँदै व्यापार गर्नु हुन्छ घुरन दास । ६५ वर्षीय दासका सधैंको सहयात्री हुन यी गीतका पङ्ति । मधेस प्रदेशको महोत्तरीका दासले सुदूरपश्चिम प्रदेशको धनगढीमा एक्लै आफ्नो टाउकोमा व्यापार गर्दै आएको चार दशक नाघि सक्यो । उहाँले पारिवारिक गुजाराका लागि विगत ४२ वर्षदेखि धनगढीमा चटपट व्यापार गरिरहनु भएको छ । कलकलाउँदो जवानीमा धनगढी प्रवेश गर्नु भएका दासको अब कपाल फुलिसकेको छ । दाँतले पनि उहाँको साथ छोड्न थालेका छन् । तर, दासको व्यापार गर्ने उर्जामा भने कमी आएको छैन । उहाँले चटपट बनाउने सामग्री टाउकोमा बोकेर पैदल हरेक दिन धनगढीको परिक्रमा गरिरहनु भएको छ । “मेरो धेरैजसो पुरानै ग्राहक छन्” दासले भन्नु भयो, “उनीहरू मलाई बोलाइ–बोलाइ चटपट खान्छन् ।” 

दासले भुजा, भट्मास, मटरमा कालो चुक मिसाएर चटपट बनाउने गर्नु भएको छ । चाउचाउ, अजिना नमिसाउने गरेकाले बजारमा पाइने अन्य चटपटभन्दा उहाँको चटपट फरक स्वादको छ । चाउचाउ, अजिना नमिसाएकै कारण अहिलेसम्म आफ्नो चटपट चलेको उहाँको ठम्याइ छ । दासले २० देखि ३० रुपियाँमा मान्छेलाई आफ्नो चटपट दिने गर्नु हुन्छ । यो व्यापारबाट खाना खर्च, घरभाडा सबै कटाएर मासिक १० देखि १५ हजार रुपियाँ बचत गर्ने गरेको उहाँले सुनाउनु भयो । “बचत गरेको रुपियाँ महोेत्तरीमा परिवारलाई पठाउने गरेको छु” दासले भन्नु भयो, “यही व्यापार गरेर तीन छोरी, दुई छोरा हुर्काएँ, थोरथोरै पढाएँ । अहिले आठ कोठाको एकतले घर बनाएको छु ।” दासको श्रीमतीसहित छोराछोरी महोत्तरीको मटिहानी नगरपालिका–८ मा बस्दै आएका छन् । केहीको विवाह भइसकेको छ । त्यो बेला मजबुरीका कारण छोराछोरी धेरै पढाउन नसकेको सुनाउने घुरनले अब ठुलो छोराले कमाएर सहयोग गर्न थालेको उल्लेख गर्नु भयो । उहाँका अनुसार पहिले धनगढीमा चटपट व्यापार राम्रो थियो । अहिले ठाउँ ठाउँमा चटपट पाइने पसल खुलेका छन् । कोरोना महामारीको क्रममा भएको लकडाउनको बेलादेखि आफ्नो व्यापार घटेको उहाँ बताउनु हुन्छ । “नत्र पहिले धेरै राम्रो व्यापार थियो”, दासले थप्नु भयो,“अझै पनि छ तर, पहिलेको तुलनामा घटेको छ ।”

काँधमा गम्छा हालेर मिठो मुस्कान दिँदै ग्राहक आकर्षित गर्न घुरनले आफ्नै भाषाको गीत गुनगुनाउने गर्नु हुन्छ । गीत गाउँदा थकाइ पनि मेटेको महसुस हुने गरेको उहाँको भनाइ छ । सुन्दरी प्रतियोगिताको मञ्चमा ‘क्याट वाक’ गरे जस्तै हिड्ने दासलाई कतिपयले ‘बसन्ती’ वा ‘चमेली’ भनेर बोलाउने गरेका छन् । “उनीहरूले मलाई माया गरेर बसन्ती कि त चमेली भन्छन्”, मुस्कुराउँदै उहाँले भन्नु भयो । जन्मथलो मध्यपूर्व भए पनि कर्मथलो सुदूरपश्चिमको धनगढीलाई बनाएका दास बेलाबखत मात्रै परिवार भेट्न महोत्तरी जाने गर्नु भएको छ । जीवनको धेरै समय धनगढीमै बितिरहेको उहाँले सुनाउनु भयो । गोरखापत्र 

spot_img

ताजा समाचार

जुम्लामा ४.१ म्याग्निच्युडको भूकम्प

जुम्ला जिल्लाको टाम्टी आसपास केन्द्रबिन्दु भएर बिहीबार बिहान भूकम्प गएको छ। राष्ट्रिय भूकम्प मापन...

महाकाली नदीमा बढ्दो डुबानका घटना न्यूनीकरण गर्न सचेतनामूलक बोर्डहरू राखिए

निलाक्सी चन्द कञ्चनपुर, जेठ ३ गते । पछिल्लो समय कञ्चनपुरस्थित महाकाली नदीमा मानिस डुबेर मृत्यु...

राष्ट्रिय हक्की टोलीमा मिथिला नगरपालिकाका ६ खेलाडी छनोट

काठमाडौँ । नेपाल हक्की सङ्घले घोषणा गरेको राष्ट्रिय महिला तथा पुरुष हक्की टोलीमा धनुषाको...

गृहमन्त्री गुरुङलाई नवलपुरमा कार्यकर्ताको स्वागत

काठमाडौँ । गृहमन्त्री सुधन गुरुङलाई राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) नवलपुरका सभापति नरेश्वर लामिछाने नेतृत्वको...