काठमाडौं । गोरखामा आफैँले बोकेको भरुवा बन्दुक पडकिएर धार्चे गाउँपालिका–४ लाप्राकका टेकबहादुर गुरुङ घाइते भएका छन् । भरुवा बन्दुक बोकेर बारीतर्फ जाने क्रममा असावधानीबश ट्रिगर थिचिन पुग्दा आफैँलाई गोली लागि गुरुङ घाइते भएका छन् ।जिल्ला प्रहरी कार्यालय गोरखाका प्रहरी नायब उपरीक्षक राजकुमार श्रेष्ठले गुरुङले अवैध रुपमा भरुवा बन्दुक बोकी हिँडिरहेको अवस्थामा अचानक पड्किएर घाइते भएको जानकारी दिनुभयो
गुरुङलाई उपचारका लागि अल नेपाल अस्पताल सामाखुशी काठमाडौँ लगिएको र हाल उपचार भइरहेको सूचना प्राप्त भएपछि जिल्ला प्रहरी कार्यालय गोरखाबाट प्रहरी टोली घट्नास्थलतर्फ खटिएको थियो । सूचना पाए लगत्तै घटनास्थल पुगेको प्रहरी टोलीले घटनास्थल नजिकै रहेको बारीमा शनिबार बेलुका भरुवा बन्दुक फेला पारेको जिल्ला प्रहरी कार्यालय गोरखाका प्रहरी नायब उपरीक्षक श्रेष्ठको भनाइ छ । प्रहरीको प्रारम्भिक अनुसन्धानका क्रममा बन्दुक अवैध रुपमा राखिएको हुन सक्ने आंशका प्रहरीले गरेको छ ।
जिल्ला प्रहरी कार्यालय गोरखाको प्रहरी टोलीले भरुवा बन्दुक नियन्त्रणमा लिई घटनाको वास्तविक कारण, बन्दुक कसरी र कहिलेदेखि प्रयोगमा थियो भन्ने विषयमा थप अनुसन्धान भइरहेको प्रहरी नायब उपरीक्षक श्रेष्ठको भनाइ छ । जिल्लमा अवैध हातहतियार प्रयोग तथा राख्ने कार्य कानुन विपरीत भएकाले घटनासँग सम्बन्धित सबै पक्षको गहिरो अनुसन्धान गरी आवश्यक कानुनी प्रक्रिया अघि बढाइने जिल्ला प्रहरी कार्यालय गोरखाले जनाएको छ । गोरखापत्र

