वर्षाको अद्यावधिक आकलनः अझै पनि कम वर्षा हुने

Published on

काठमाडौं । जल तथा मौसम विज्ञान विभागले अझै केही महिना वर्षा सरदरभन्दा कम हुने आकलन सार्वजनिक गरेको छ । सार्वजनिक आकलनअनुसार यही पुस १७ देखि आगामी फागुन १६ गतेसम्मको अवधिमा सरदरभन्दा कम वर्षा हुने अनुमान गरिएको विभागले जनाएको छ । विभागका सूचना अधिकारी दिनकर कायस्थका अनुसार गत डिसेम्बरमा पनि सरदरभन्दा कम वर्षा भएको थियो । आउँदा दिनमा पनि कम वर्षाको आकलन गरिएको उहाँले बताउनुभयो । यही पुस १७ गतेदेखि फागुन १६ गतेको दुई महिना अवधिमा देशका अधिकांश भूभागमा सरदरभन्दा कम वर्षा हुने बताउँदै उहाँले सुदूरपश्चिम, कर्णाली प्रदेशका उत्तरी भूभाग र गण्डकी प्रदेशका उत्तर–पश्चिमी भूभागमा सरदरभन्दा कम, सरदर र सरदरभन्दा बढी वर्षा हुने सम्भावना रहेको उल्लेख गर्नुभयो ।

कायस्थका अनुसार सुदूरपश्चिम प्रदेशका मध्य भूभाग, कर्णाली, लुम्बिनी र गण्डकी प्रदेशका दक्षिणी भूभाग, बागमती प्रदेशका अधिकांश भाग, मधेस प्रदेशका मध्य भूभाग र कोशी प्रदेशका पश्चिमी भूभागमा सरदरभन्दा कम वर्षा हुने सम्भावना ५५ देखि ६५ प्रतिशत छ । सुदूरपश्चिमका दक्षिण–पश्चिमी भूभाग, कर्णालीका मध्य भूभाग, लुम्बिनीका उत्तरी भूभाग, गण्डकीका मध्य भूभाग, बागमतीका मध्य भूभाग, मधेसका पूर्वी तथा पश्चिमी भूभाग र कोशी प्रदेशका मध्य तथा दक्षिणी भूभागमा सरदरभन्दा कम वर्षा हुने सम्भावना ४५ देखि ५५ प्रतिशत रहेको उहाँले जानकारी दिनुभयो । देशका बाँकी भूभागमा सरदरभन्दा कम वर्षा हुने सम्भावना ३५ देखि ४५ प्रतिशत रहेको विभागले सार्वजनिक गरेको जलवायु आकलनमा उल्लेख छ । हालसम्म प्राप्त प्रारम्भिक तथ्याङ्कअनुसार गत डिसेम्बरमा देशभर सरदरभन्दा कम वर्षा मापन गरिएको छ । 

आकलनका आधारहरू 

विभागले यस आकलन विश्व मौसम सङ्गठनको विश्वभर तथा क्षेत्रीयस्तरको जलवायु सूचना उत्पादन गर्ने केन्द्रहरूको जलवायु प्रारुपका आकलनको आधारमा तयार गरिएको जनाएको छ । साथै नेपालको हिउँद अवधिको जलवायुमा प्रभाव पार्ने पूर्वी प्रशान्त महासागरमा विकसित हुने एलनिनो तथा हिन्द महासागरमा विकसित हुने इन्डियन ओसन डिप्लोइको हालको अवस्थालाई समेत मध्यनजर गरी तयार गरिएको विभागका सूचना अधिकारी कायस्थले बताउनुभयो । हाल प्रशान्त महासागरमा लानिनाको अवस्थामा रहेको र हिउँद ऋतुको अन्त्यसम्ममा तटस्थतर्फ जाने विश्वव्यापी प्रारुपहरूको आकलन रहेको छ । त्यसैगरी, हिन्द महासागरमा विकसित हुने इन्डियन ओसन डिप्लोइक (आइओडी) हाल तटस्थ अवस्थामा रहेको र हिउँद अवधिभर तटस्थ अवस्थामै रहने विश्वव्यापी प्रारुपहरूको आकलन गरिएको छ ।

ऋतुगत जलवायु विभिन्न सामुद्रिक तथा वायुमण्डलीय प्रणालीहरू, भूउपयोगजस्ता विषयमा निर्भर हुने र जलवायु प्रारुपहरूलाई यस्ता प्रणाली ऋतु परिवर्तन हुने समयमा शतप्रतिशत विश्वसनीय पूर्वानुमान गर्न कठिन हुने विभागका सूचना अधिकारी कायस्थले उल्लेख गर्नुभयो । गोरखापत्र

spot_img

ताजा समाचार

जुम्लामा ४.१ म्याग्निच्युडको भूकम्प

जुम्ला जिल्लाको टाम्टी आसपास केन्द्रबिन्दु भएर बिहीबार बिहान भूकम्प गएको छ। राष्ट्रिय भूकम्प मापन...

महाकाली नदीमा बढ्दो डुबानका घटना न्यूनीकरण गर्न सचेतनामूलक बोर्डहरू राखिए

निलाक्सी चन्द कञ्चनपुर, जेठ ३ गते । पछिल्लो समय कञ्चनपुरस्थित महाकाली नदीमा मानिस डुबेर मृत्यु...

राष्ट्रिय हक्की टोलीमा मिथिला नगरपालिकाका ६ खेलाडी छनोट

काठमाडौँ । नेपाल हक्की सङ्घले घोषणा गरेको राष्ट्रिय महिला तथा पुरुष हक्की टोलीमा धनुषाको...

गृहमन्त्री गुरुङलाई नवलपुरमा कार्यकर्ताको स्वागत

काठमाडौँ । गृहमन्त्री सुधन गुरुङलाई राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) नवलपुरका सभापति नरेश्वर लामिछाने नेतृत्वको...