प्रतिनिधि सभा निर्वाचन : बैतडीमा बढ्दो राजनीतिक चहलपहल

Published on

काठमाडौं । आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा सदस्य निर्वाचन नजिकिँदै जाँदा बैतडी जिल्लामा राजनीतिक गतिविधि बढ्दै गएको छ । विभिन्न राजनीतिक दलका सम्भावित उम्मेद्वारहरू निर्वाचन क्षेत्र केन्द्रित गतिविधिमा सक्रिय देखिन थालेका छन् । निर्वाचनको मिति नजिकिँदै जाँदा उम्मेद्वार बन्ने तयारीमा रहेका नेताहरू गाउँ–गाउँ र टोल–टोलमा पुगेर मतदातासँग भेटघाट, छलफल तथा स्थानीय समस्या सुन्ने र उठाउने कार्यमा व्यस्त छन् । नेपाली कांग्रेस, नेकपा (एमाले), राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)लगायत दलहरूले आन्तरिक छलफल, भेला तथा सभा सञ्चालन गरिरहेका  छन् । नेपाली कांग्रेस बैतडीले प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि जिल्ला सभापति चतुरबहादुर चन्दलाई सर्वसम्मत रूपमा उम्मेद्वार सिफारिस गरेको छ । यस्तै, नेकपा (एमाले) बैतडीले केन्द्रीय सदस्य दामोदर भण्डारीलाई प्रत्यक्षतर्फको उम्मेद्वारका रूपमा सिफारिस गरेको  छ ।

यस्तै, राष्ट्रिय स्वतन्त्र पार्टीबाट हरिमोहन भण्डारी र राष्ट्रिय प्रजातन्त्र पार्टीबाट भूपेन्द्रबहादुर चन्दको नाम सिफारिस भएको छ । नेपाली कम्युनिष्ट पार्टीको उम्मेद्वारको भने हालसम्म टुङ्गो लाग्न नसकेको जनाएको छ । पछिल्लो समय सहरदेखि गाउँसम्म निर्वाचनलाई लिएर चर्चा, परिचर्चा र बहससमेत बढ्न थालेको छ । यसैबिच, जिल्ला निर्वाचन कार्यालय बैतडीले निर्वाचन केन्द्रित आन्तरिक तयारी सुरु गरिसकेको जनाएको छ । निर्वाचनका लागि आवश्यक सामग्री ढुवानी, जनशक्ति खोजी तथा व्यवस्थापनको काम प्रारम्भ गरिएको निर्वाचन कार्यालयका निमित्त प्रमुख पुरुषोत्तम जोशीले बताउनुभयो । आगामी निर्वाचनका लागि बैतडीमा एक लाख ५६ हजार ३ सय ७२ मतदाता कायम भएका छन् । यो सङ्ख्या अघिल्लो निर्वाचनको तुलनामा ६ हजार २ सय १६ ले वृद्धि भएको निर्वाचन कार्यालयले जनाएको छ । जिल्लामा एक सय २९ मतदानस्थल कायम गरिएको छ भने मतदान केन्द्रको सङ्ख्या २ सय १४ पुगेको छ । अघिल्लो निर्वाचनमा जिल्लामा २ सय १० मतदान केन्द्र रहेका थिए । सिगास गाउँपालिका–४ को वडा कार्यालय भवन कान्धार, दशरथचन्द नगरपालिका–७ को केदारशीला आधारभूत विद्यालय सुर्काल, वडा नं ९ को केदार आधारभूत विद्यालय सीम लोडासौं, शिवनाथ गाउँपालिका–३ को श्रीपूर आधारभूत विद्यालय बछला तथा पाटन नगरपालिका–५ को त्रिपुरेश्वर मावि कुलडामा नयाँ मतदान केन्द्र थप गरिएको निमित्त प्रमुख जोशीले जानकारी दिनुभयो ।

यसैबिच निर्वाचन कार्यालयले अस्थायी मतदाताको विवरण सङ्कलन कार्यलाई पनि तीव्र बनाएको छ । स्थानीय, प्रदेश तथा सङ्घीय तहका कर्मचारी, सुरक्षा निकाय, कारागार तथा वृद्धाश्रममा रहेका व्यक्तिहरूको विवरण सङ्कलन भइरहेको जनाइएको छ । गोरखापत्र

spot_img

ताजा समाचार

साफ फुटसल : माल्दिभ्ससँग हारेपछि नेपाल बाहिरियो

काठमाडौं । नेपालले थाइलायन्डमा जारी साफ फुटसल च्याम्पियनसिपबाट बाहिरिएको छ । नोन्थाबुरी स्टेडियमको फुटसल...

मानव इतिहास खोजिँदै, भेटिए भाँडाका टुक्रा

काठमाडौं । चुरे क्षेत्रको बीचमा पर्ने दाङ तुलसीपुर उपमहानगरपालिका–१३ स्थित ‘तुई’ उपत्यकामा मानव सभ्यताको...

कराची मल आगलागीमा मृतक सङ्ख्या ५५ पुग्यो

काठमाडौं । पाकिस्तानको सबैभन्दा ठुलो सहर कराचीस्थित एक मलमा भएको भीषण आगलागीमा ज्यान गुमाउनेको...

अफगानिस्तानमा आम नागरिकमाथि भएको आक्रमणको राष्ट्रसंघीय सुरक्षा परिषद्द्वारा निन्दा

काठमाडौं । संयुक्त राष्ट्रसङ्घीय सुरक्षा परिषद्का सदस्यले अफगानिस्तानको राजधानी काबुलको रेस्टुरेन्टमा भएको आक्रमणको कडा...