काठमाडौं । बर्दियामा तीन लाख २३ हजार २ सय ६६ मतदाताले मतदान गर्न पाउने भएका छन् । आगामी फागुन २० गतेसम्म १८ वर्ष पुगेका मतदाताले मतदान गर्न पाउने भएका हुन्। निर्वाचन कार्यालय बर्दियाले प्रकाशन गरेको अन्तिम मतदाता नामावली अनुसार पुरुष एक लाख ५९ हजार तीन सय ८७ र महिला एक लाख ६३ हजार आठ सय ७३ जना र अन्य छ जना मतदाता रहेका छन् ।
गत असोज १० गते यता पुरुष तीन हजार दुई सय ९२ र महिला दुई हजार छ सय ४० जना गरी पाँच हजार ९ सय ३२ मतदाता थपिएका छन् । असोज १० गतेभन्दा अगाडि बर्दिया जिल्लामा तीन लाख १७ हजार तीन सय ३४ जना मतदाता रहेको निर्वाचन कार्यालय बर्दियाका सूचना अधिकारी अनुप ढकालले बताउनुभयो ।
त्यसैगरी बर्दियामा एक सय ५४ मतदाता स्थलमा तीन सय ८७ मतदान केन्द्र राखिएको छ । यस वर्ष मतदान स्थल र मतदान केन्द्र थपघट नगरेपनि दुई ओटा मतदान स्थल स्थानान्तरण गरिएको छ । गुलरिया नगरपालिका वडा ६ को टाउनहलबाट श्री राधाकृष्ण थारू बंगलामुखी मा विमा र सामुदायिक भवन धामपुरबाट सदाशिव बहुमुखी क्याम्पस धामपुरमा स्थानान्तरण गरिएको छ । गोरखापत्र

