नौमती-पञ्चेबाजा संरक्षण अभियानमा महिला

Published on

काठमाडौं । आधुनिक मनोरञ्जन, डिजिटल संगीत र डीजे संस्कृतिको बढ्दो प्रभावका कारण नौमती र पञ्चेबाजा जस्ता मौलिक लोककला तथा संस्कृतिहरू लोप हुने अवस्थामा पुगेका छन् । विगतमा गाउँ समाजका विवाह, जात्रा, संस्कार र सांस्कृतिक कार्यक्रमका अनिवार्य अंग मानिने यी परम्परागत बाजा पछिल्लो समय सीमित स्थानमा मात्र प्रयोग हुन थालेका छन् । पुस्तान्तरणको अभाव र कलाकारको सम्मान तथा पारिश्रमिकको सुनिश्चितता नहुनुले मौलिक लोककला संरक्षण थप चुनौतीपूर्ण बनेको सरोकारवालाहरूको भनाइ छ । यस्तो अवस्थामा मौलिक कला र संस्कृतिको संरक्षणमा स्थानीय सरकारले अग्रसर भूमिका खेल्नुपर्ने आवश्यकता महसुस गरिएको छ । सीप हस्तान्तरणलाई निरन्तरता दिँदै नयाँ पुस्तामा संस्कृतिप्रतिको अपनत्व विकास गर्न स्थानीय तहको योजनाबद्ध पहल महत्वपूर्ण मानिन्छ ।

यही सन्दर्भमा सल्यानको त्रिवेणी गाउँपालिकाले लोपोन्मुख अवस्थामा पुगेका मौलिक लोककला र संस्कृतिको संरक्षण गर्नुका साथै महिलालाई आत्मनिर्भर बनाउने उद्देश्यले नौमती तथा पञ्चेबाजा सम्बन्धी तालिम सञ्चालन गरेको छ । गाउँपालिकाभित्रका आमा समूहलाई लक्षित गरी हालै १० दिनसम्म सञ्चालन गरिएको तालिममा दुई समूहका १७ जना महिलाको सहभागिता रहेको थियो । तालिममार्फत् सहभागी महिलाहरूले परम्परागत नौमती र पञ्चेबाजा बजाउने व्यावहारिक सीप हासिल गरेको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत खुम बहादुर केसीले जानकारी दिनुभयो । अघिल्लो वर्ष एक समूहलाई मात्र तालिम दिइएकोमा यस वर्ष महिलाको सहभागिता बढाउँदै दुई समूहलाई समेटिएको उहाँको भनाइ छ । त्रिवेणी गाउँपालिकाले विगतका वर्षहरूदेखि नै लोककला प्रदर्शन सम्मेलन, पालिकास्तरीय समारोह तथा विभिन्न कार्यक्रमहरूमा मौलिक संस्कृतिलाई प्राथमिकता दिँदै आएको छ । यस वर्ष गाउँपालिकाको आयोजनामा तथा डेभलपमेन्ट सोसाइटी नेपालको समन्वयमा सञ्चालन गरिएको तालिममा सिन्धुली कलाघरका प्रशिक्षकहरूले प्रशिक्षण प्रदान गरेका थिए । तालिमले पुस्तान्तरणको अभावमा संकटमा पर्दै गएको मौलिक बाजा र लोककला संरक्षणमा टेवा पुग्नुका साथै महिलालाई सांस्कृतिक अभियानको अग्रपंक्तिमा उभ्याएको सहभागीहरूको भनाइ छ ।

गाउँपालिका अध्यक्ष खिम बहादुर रावतले कला र संस्कृति समाजलाई सही मार्गमा लैजाने आधार भएको उल्लेख गर्दै सीप र आयआर्जनसँग जोडिने कार्यक्रमलाई पालिकाले प्राथमिकतामा राख्दै आएको बताउनुभयो । “कला र संस्कृतिको संरक्षणसँगै महिलाको आत्मनिर्भरता बढाउने लक्ष्यसहित नौमती तथा पञ्चेबाजा तालिम सञ्चालन गरिएको हो,” उहाँले भन्नुभयो । महिलाको भूमिकालाई सशक्त बनाउँदै हराउँदै गइरहेका परम्परागत बाजा र संस्कृतिको जगेर्ना गर्ने उद्देश्यले तालिम सञ्चालन गरिएको गाउँपालिकाले जनाएको छ । तालिममा सहभागी शुभलक्ष्मी स्वास्थ्य आमा समूहकी अध्यक्ष कमला चन्दले यस वर्षको तालिम अघिल्लो वर्षको तुलनामा थप व्यवस्थित र सहज भएको बताउनुभयो । 

त्रिवेणी गाउँपालिकाको नौमती, पञ्चेबाजा, सोरठी र पैसरी नाच समूहले श्रीनगरमा जारी दोस्रो प्रादेशिक महोत्सवमा सांस्कृतिक प्रस्तुति समेत दिएको थियो । यसरी त्रिवेणी गाउँपालिकाले थालेको जस्तै व्यवहारिक पहल अन्य स्थानीय तहले पनि गर्न सके लोपोन्मुख मौलिक कला र संस्कृतिहरू पुनः जीवन्त बन्न सक्ने देखिन्छ । गोरखापत्र

spot_img

ताजा समाचार

जुम्लामा ४.१ म्याग्निच्युडको भूकम्प

जुम्ला जिल्लाको टाम्टी आसपास केन्द्रबिन्दु भएर बिहीबार बिहान भूकम्प गएको छ। राष्ट्रिय भूकम्प मापन...

महाकाली नदीमा बढ्दो डुबानका घटना न्यूनीकरण गर्न सचेतनामूलक बोर्डहरू राखिए

निलाक्सी चन्द कञ्चनपुर, जेठ ३ गते । पछिल्लो समय कञ्चनपुरस्थित महाकाली नदीमा मानिस डुबेर मृत्यु...

राष्ट्रिय हक्की टोलीमा मिथिला नगरपालिकाका ६ खेलाडी छनोट

काठमाडौँ । नेपाल हक्की सङ्घले घोषणा गरेको राष्ट्रिय महिला तथा पुरुष हक्की टोलीमा धनुषाको...

गृहमन्त्री गुरुङलाई नवलपुरमा कार्यकर्ताको स्वागत

काठमाडौँ । गृहमन्त्री सुधन गुरुङलाई राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) नवलपुरका सभापति नरेश्वर लामिछाने नेतृत्वको...