बर्दीबासमा ३१ फिट अग्लो महादेवको मूर्ति निर्माण हुने

Published on

काठमाडौं । बर्दीबासको नाम, पहिचान तथा धार्मिक महत्त्व बोकेको वडा १४ स्थित कामेश्वरनाथ तलाउमा आराध्यदेव भगवान् शिवको ३१ फिट अग्लो मूर्ति निर्माण गरिने भएको छ । नगरपालिकाको आन्तरिक स्रोतबाट करिब ४२ लाख रुपियाँ लागतमा निर्माण हुने मूर्तिको बर्दीबास नगरपालिका प्रमुख प्रह्लाद क्षेत्री तथा वडा १४ का वडाध्यक्ष विजय महतोले वैदिक विधिअनुसार आज (सोमबार) बिहान शिलान्यास गर्नुभयो । शिलान्यास कार्यक्रममा बोल्दै नगर प्रमुख क्षेत्रीले कामेश्वरनाथ तलाउसँग बर्दीबासको नाम, पहिचान र धार्मिक आस्था गाँसिएकोले जनभावनाको कदर गर्दै यस तलाउलाई धार्मिक पर्यटनसँग जोड्ने उद्देश्यले यस भेगकै सबैभन्दा अग्लो महादेवको मूर्ति स्थापना गर्न लागिएको जनाउनुभयो । 

स्थानीय बुढापाकाका अनुसार उक्त पोखरी कहिले निर्माण भयो ? यकिन इतिहास नपाइए पनि यसको सम्बन्ध जयनगर–जनकपुर रेल्वेसँग गाँसिएको छ । विक्रम सम्वत् १९९४ साल (सन १९३७) मा तत्कालीन ब्रिटिस भारत सरकारले महोत्तरीका जङ्गलबाट काठ ढुवानी गर्न जयनगर–जनकपुर न्यारोगेज रेलवे निर्माण गरेको थियो, जुन महोत्तरीको विजलपुरासम्म विस्तार भएको थियो । रेलवे ट्रयाक निर्माण तथा सेवा सञ्चालनका क्रममा माईस्थान, टुटेश्वरलगायतका क्षेत्रमा व्यापक रुख कटानी भए । ती काठहरू जङ्गलबाट नजिकको रेलवे स्टेसनसम्म सयौँ बैलगाडाबाट ढुवानी गरिन्थ्यो। जङ्गल र रेलवे स्टेसनको बिचमा पर्ने निर्जन स्थानमा रहेको यही कामेश्वरनाथ तलाउ किनारामा ती बैलगाडा एक रात बास बस्थे । थाकेका गोरुका बथान त्यही आराम गर्थे । त्योेबेला तलाउको पानी स्वच्छ र पिउनयोग्य भएकोले बहलमानहरू (गाडा चालक) सोही पोखरीको पानीले खाना बनाएर खान्थे, आराम गर्थे र झिसमिसेमै गाडा जोतेर रेल्वे स्टेसनतर्फ लाग्थे । 

वडाध्यक्ष विजय यादवका अनुसार काठ बोकेर आएका सयौँ गाडाका ‘बरद’ अर्थात् गोरुहरू यहीँ बास बस्ने भएकाले यो ठाँउलाई स्थानीय भाषामा ‘बरद बास’ भनिन थालियो । यही शब्द अपभ्रंश हुँदै यस स्थानको नाम बर्दीबास रहन गएको हो । बस्ती विस्तारसँगै पोखरीको पश्चिमतर्फ कामेश्वरनाथ मन्दिर स्थापना भएपछि तलाउ पनि कामेश्वरनाथ पोखरीका नामले चिनिन थाल्यो । पछि राजमार्ग विस्तारसँगै यो क्षेत्र टुटेश्वरनाथ मन्दिर र हलेसी महादेव जोड्ने धार्मिक मार्गका रूपमा विकास भएपछि यो पोखरीको पनि धार्मिक तथा पर्यटकीय महत्त्व बढेकोले जनभावलाई अनुमोदन गर्दै विशालकाय महादेवको मूर्ति निर्माणको निर्णय गरिएको वडाध्यक्ष महतोले बताउनुभयो ।

‘वरद’ अर्थात् बसाहाको ऐतिहासिक पहिचानलाई मूर्तरूप दिन महादेवको मूर्तिसँगै बसाहाको मूर्ति पनि निर्माण गरिने डिजाइन गरिएको उहाँले जानकारी दिनुभयो । वडाध्यक्ष महतोका अनुसार फाउन्डेसनको काम यही फागुन महिनाभित्र सम्पन्न गरी वर्षा सुरु हुनु अगावै मूर्ति निर्माण कार्य पूरा गर्ने लक्ष्य राखिएको छ । मूर्ति निर्माणपछि बर्दीबासको आन्तरिक पर्यटन प्रवर्धन तथा स्थानीय बजार व्यवसाय चलायमान हुने अपेक्षा गरिएको छ । गोरखापत्र

spot_img

ताजा समाचार

छथरमा जातीय–सांस्कृतिक सहअस्तित्व र साहित्यमा केन्द्रित प्राज्ञिक गोष्ठी

काठमाडौं । तेह्रथुम – छथर गाउँपालिकामा जातीय, सांस्कृतिक विविधता र साहित्यिक–सामाजिक सहअस्तित्वका विषयमा प्राज्ञिक...

राष्ट्रपति पौडेलसँग ब्रिटिश गोर्खा सेनाको वार्षिक प्रतिवेदन प्रस्तुत

काठमाडौं। राष्ट्रपति रामचन्द्र पौडेलसँग संयुक्त अधिराज्य बेलायती सेनाका मेजर जेनरल जेरल्ड एम स्ट्रिकलेण्डसहितको टोलीले...

सुनसरी–४ का मतदाताले उम्मेदवारसँग मागे बाढी नियन्त्रण र पूर्वाधार सुधार

काठमाडौं । आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा सदस्य निर्वाचनअन्तर्गत सुनसरी क्षेत्र नं...

कास्की–२ कांग्रेस उम्मेदवार बास्तोलाको हात फ्र्याक्चर, चुनावी अभियानमा चोट

काठमाडौं । नेपाली कांग्रेसका कास्की–२ का उम्मेदवार माधवप्रसाद बास्तोला निर्वाचन अभियानका क्रममा घाइते हुनुभएको...