उद्योगपति चौधरीलाई विरासत जोगाउन चुनौती, चतुष्कोणीय प्रतिस्पर्धा कडा

Published on

काठमाडौं । आगामी प्रतिनिधि सभा सदस्य निर्वाचनका लागि पश्चिम नवलपरासी निर्वाचन क्षेत्र नम्बर १ मा चुनावी सरगर्मी ह्वात्तै बढेको छ। साविकका विजेता, पुराना अनुभवी राजनीतिज्ञ र नयाँ शक्तिको उदयले यस क्षेत्रको प्रतिस्पर्धालाई चतुष्कोणीय र रोचक बनाएको छ।

चौधरीको दोहोरिने कसरत
नेपाली कांग्रेसका तर्फबाट उद्योगपति विनोदकुमार चौधरी फेरि मैदानमा हुनुहुन्छ। उहाँ, सडक सञ्जाल र स्वास्थ्य क्षेत्रमा आफूले गरेका कामको फेहरिस्त लिएर मतदाताको घरदैलोमा पुगिरहनुभएको छ। “केही अधुरा काम पूरा गर्न मलाई एक पटक पुनः मौका दिनुहोस्,’’ भन्दै उहाँले मत मागिरहनुभएको छ। यद्यपि, अघिल्लो निर्वाचनका कतिपय प्रतिबद्धता पूरा नभएको भन्दै मतदाताले उहाँलाई प्रश्न गरिरहेका छन्।

त्रिपाठीको ‘साख’ फर्काउने अन्तिम दौड
यस क्षेत्रबाट पाँच पटक निर्वाचन जितिसकेका चतुर खेलाडी हृदयेश त्रिपाठी यस पटक जनता समाजवादी पार्टी (जसपा) बाट चुनावी मैदानमा हुनुहुन्छ। २०७० र २०७९ मा पराजय भोग्नुभएका त्रिपाठीका लागि यो निर्वाचन गुमेको साख फिर्ता गर्ने ठुलो अवसर हो। यस पटक चार मधेशवादी दलको एकीकरणले उहाँलाई केही राहत दिए पनि स्थानीय तहको अङ्कगणित र कांग्रेसको बलियो उपस्थितिले उहाँका लागि चुनौती कायमै छ।

खनालको ‘नयाँ’ पाइला र कांग्रेसलाई धक्का
नेपाली कांग्रेस लुम्बिनी प्रदेशका महामन्त्री पद छाडेर विक्रम खनाल राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) बाट उम्मेदवार बनेपछि यहाँको राजनीतिमा नयाँ तरङ्ग आएको छ। २०७० का संविधानसभा सदस्य खनालले कांग्रेसभित्रको असन्तुष्ट मत र रास्वपाको बढ्दो क्रेजलाई आफ्नो पक्षमा पार्ने रणनीति लिनुभएको छ। उहाँको उम्मेदवारीले विशेष गरी कांग्रेसको भोट काटिने डर देखिएको छ।

एमालेका पाण्डेः मौन रणनीतिका साथ मैदानमा
यसअघिका निर्वाचनमा त्रिपाठीलाई सघाउँदै आएको नेकपा एमालेले यस पटक सुस्ता गाउँपालिकाका पूर्व अध्यक्ष रामप्रसाद पाण्डेलाई उम्मेदवार बनाएको छ। स्थानीय तहमा गरेको काम र पार्टीको सङ्गठनका कारण पाण्डे आफूलाई बलियो प्रतिस्पर्धी ठान्नुहुन्छ। कांग्रेसभित्रको अन्तरद्वन्द्व र पुराना अनुहारप्रतिको वितृष्णाको फाइदा उठाउँदै बाजी मार्ने दाउँमा एमाले देखिन्छ। यस क्षेत्रमा गत २०७९ को समानुपातिक मत परिणामलाई हेर्दा नेपाली कांग्रेसको २३ हजार ५१५ मत नेकपा एमालेको १७ हजार १७२ मत, रास्वपा को  १० हजार ७१८ मत र जनमत पार्टीको ७ हजार ४१४ मत पाएको थियो ।

यस पटकको निर्वाचनमा कुनै एक पक्षको स्पष्ट वर्चस्व देखिँदैन। चौधरीको विकासका काम, त्रिपाठीको पुरानो अनुभव, खनालको नयाँ शक्ति र पाण्डेको सङ्गठनबिचको चतुष्कोणीय प्रतिस्पर्धाले पश्चिम नवलपरासी–१ को नतिजा निकै रोमाञ्चक हुने पक्का छ। यो क्षेत्रमा नेकपाकी सिन्धु जलेसा बुढाथोकी, जनमत पार्टीका गणेशबहादुर चौधरी र राप्रपाका नवनितकुमार मिश्र, सहित कुल २६ जना उम्मेदवार चुनावी मैदानमा छन्।  क्षेत्र नम्बर १ मा पर्ने बर्दघाट नगरपालिका, प्रतापपुर र सुस्ता गाउँपालिकामा कांग्रेसले जितेको छ भने सरावलका केही वडाहरूमा एमालेको वर्चस्व छ। एक लाख २३ हजार ८० मतदाता रहेको यस क्षेत्रमा यस पटक कसले बाजी मार्ला भन्ने विषयमा निकै चासोका साथ हेरिएको छ। गोरखापत्र

spot_img

ताजा समाचार

ढोरपाटनमा दादुरा विरुद्धको खोप अभियान सञ्चालन गरिने

काठमाडौं । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले बागलुङको ढोरपाटन नगरपालिकामा दादुराको सङ्क्रमण देखिएपछि दादुरा विरुद्धको...

प्रत्यक्षतर्फ चौध जना महिला निर्वाचित

काठमाडौं । यस पटक प्रतिनिधि सभा निर्वाचनको प्रत्यक्षतर्फ जित हासिल गर्ने महिला राष्ट्रिय स्वतन्त्र...

घरपझोङमा फोहोर प्रशोधन केन्द्र बनाइने

काठमाडौं । मुस्ताङको घरपझोङ गाउँपालिकाले कुहिने र नकुहिने फोहोर छुट्टाछुट्टै वर्गीकरण गर्न फोहोर संकलन...

लागूऔषधसहित विभिन्न स्थानबाट १४ जना पक्राउ

काठमाडौं । प्रहरीले देशका विभिन्न स्थानबाट लागूऔषधसहित १४ जनालाई पक्राउ गरेको छ । बर्दियाको गुलरिया...