काठमाडौं । सुनसरीमा सोमबार राति आएको हावाहुरीसहितको असिनापानीले मकै, गहुँ तथा तरकारी बालीमा ठुलो क्षति पुर्याएको छ। हावाहुरी र असिनाले खाद्यान्न तथा नगदे बाली नष्ट गरेपछि सदरमुकाम इनरुवासहित दक्षिणवर्ती क्षेत्रका किसान चिन्तित बनेका छन्। जिल्लाको उत्तरी क्षेत्रमा आइतबार दिउँसो र सोमबार राति दक्षिणवर्ती क्षेत्रमा परेको असिनापानीले मकै, गहुँ, खेसरी, मसुरो र तरकारी बालीमा क्षति पुर्याएको स्थानीय किसान शम्भु यादवले बताउनुभयो। असिनापानीले विशेष गरी इनरुवाको बबिया, जल्पापुर, मधेसा र हरिनगर गाउँपालिकाको रामनगर भुटाहा, वसन्तपुर तथा देवानगञ्ज गाउँपालिकाका विभिन्न वडामा लगाइएका बालीनाली नष्ट भएका छन्।
इनरुवा नगरपालिका–९, बबियाका किसान जसलाल यादवको डेढ बिघामा लगाइएको मकैमा आंशिक र शिवनारायण यादवको दुई बिघामा लगाइएको मकै बाली पूर्ण रूपमा नष्ट भएको छ। यस्तै सत्रुघन यादवको १० कठ्ठाको गहुँ र विधानन्द यादवको मकै, तरकारी तथा प्याज बालीमा पनि असिनाले क्षति पुर्याएको छ। रामधुनी नगरपालिका–८ का भागवत ठाकुरलगायत धेरै किसानको मकै र गहुँ खेती सखाप भएको छ। स्थानीय किसान बुद्धिलाल मेहताका अनुसार बबिया क्षेत्रमा मात्रै करिब एक हजार बिघा जमिनको बालीमा क्षति पुगेको छ। इनरुवा कृषि शाखाका कृषि विकास अधिकृत कुवेर निरौलाले पालिकाभित्रको खेतीयोग्य जमिनमध्ये ६० प्रतिशतमा मकै र ३० प्रतिशतमा गहुँ खेती गरिएको जानकारी दिनुभयो। असिनाका कारण धानचमर निस्किएका र सुत्ला च्यापेका मकै तथा बाला लाग्न लागेका गहुँ पूर्ण रूपमा नष्ट भएको उहाँको भनाइ छ। कृषि शाखाले क्षतिको यकिन विवरण सङ्कलन भइरहेको जनाएको छ। गोरखापत्र

