आर्थिक उपार्जनका लागि कफीखेती अभियान

Published on

 काठमाडौं । काभ्रेपलाञ्चोकको डाँडापारिस्थित महाभारत गाउँपालिका–५ घैयाँडाँडाकी देवीमाया तुम्सिङ मगर पाखोबारीमा मकै छर्ने कामसँगै कफीको बोट रोप्नका लागि खाल्डो खन्ने काममा व्यस्त हुनुहुन्छ । उहाँले आफ्ना बारीका पाटाभरि कफीका बिरुवा रोप्न ज्यालामा पाँच जना खेताला लगाएर खाल्डो खनिरहनुभएको छ । अन्य अन्नबाली खेतीभन्दा कफीबाट बढी आम्दानी हुने भएपछि मगरले केही वर्षदेखि कफी खेतीलाई प्राथमिकता दिनुभएको हो । मकै खेती गर्दा उत्पादन कम हुने र भएको अन्नबाली जङ्गली जनावर बाँदरले नोक्सान गर्न थालेपछि कफी खेतीतर्फ आकर्षण बढेको उहाँले बताउनुभयो । यस वर्ष मात्रै करिब ८०० खाल्डो खनिसकिएको र अझै खन्ने काम बाँकी रहेको मगरको भनाइ छ । यस्तै महाभारत–५ चौडिक भोर्लेनीका हिराबहादुर राना मगरले पनि कफीको बिरुवा रोप्न यस वर्ष करिब तीन रोपनी क्षेत्रफलमा खाल्डो खनिसक्नुभएको छ । धेरै वर्षअघि रोपेका बोटबाट उत्पादन आउन थालेको उहाँले बताउनुभयो । यसअघि काठमाडौँमा व्यवसाय गर्दै आउनुभएका उहाँ विगत दुई वर्षदेखि गाउँमै बसेर कफी खेतीमा लाग्नुभएको हो । अन्य अन्नबालीभन्दा कफीबाट बढी आम्दानी हुने भएकाले यसतर्फ आकर्षित भएको उहाँको भनाइ छ । यसैगरी रामकुमार लुङ्गेली मगरले पनि यस वर्ष २०० भन्दा बढी खाल्डो खनिसक्नुभएको छ । उचित स्याहार र सिँचाइको व्यवस्था गर्न सके रोपेको दुई वर्षदेखि नै उत्पादन दिन थाल्ने उहाँले बताउनुभयो । महाभारत गाउँपालिकाका कफी उत्पादन हुने बस्तीमा व्यापारी घर–घरमै कफी खोज्न आउन थालेपछि यहाँका किसान कफी खेतीतर्फ थप आकर्षित भएका छन् । 

बागमती प्रदेश सरकार र महाभारत गाउँपालिकाको सहयोगमा कफी खेती प्रवद्र्धन हुँदै आएको छ । महाभारत साना किसान तथा कृषि सहकारी संस्थाका प्रबन्धक चन्द्रकुमार लुङ्गेली मगरका अनुसार प्रदेश सरकारको ६०, गाउँपालिकाको २० र किसानको २० प्रतिशत लागत साझेदारीमा व्यावसायिक कफी खेती भइरहेको छ । गत वर्षदेखि सुरु भएको अभियानअन्तर्गत यस वर्ष ३० हजार कफीका बिरुवा रोप्ने लक्ष्य रहेको उहाँले बताउनुभयो । महाभारत–५ का किल्ला, भलडाँडा, भोर्लेनी र चौडिकलगायत बस्तीका किसान बिरुवा रोप्न बारीमा खाल्डो खन्ने क्रममा छन् । महाभारत गाउँपालिकाका अध्यक्ष कान्छालाल जिम्बाका अनुसार वडा नं १, २, ४, ५ र ८ लाई कफी उत्पादन क्षेत्रका रूपमा पहिचान गरिएको छ । विगत करिब चार वर्षदेखि बिरुवा वितरण तथा आवश्यक औजार–उपकरण उपलब्ध गराएर किसानलाई सहयोग गर्दै आएको उहाँले बताउनुभयो । पालिकाले वडा नं ५ मा ‘एक वडा एक उत्पादन’ कार्यक्रम र ‘जसले रोप्छ कफीको बोट, उसले पाउँछ रु २०’ कार्यक्रममार्फत किसानलाई प्रोत्साहन गर्दै आएको छ । गत वर्ष ३८ हजार बिरुवा वितरण गरिएकामा यस वर्ष वडा नं ५ लाई कफी हबका रूपमा विकास गर्न करिब ३० हजार बिरुवा वितरण गर्ने योजना रहेको छ । समग्रमा यस वर्ष एक लाख बिरुवा वितरण गर्ने लक्ष्य रहेको अध्यक्ष जिम्बाले जानकारी दिनुभयो । उत्पादन र गुणस्तर राम्रो भएको महाभारत गाउँपालिकामा कफीको बजारीकरण पनि सन्तोषजनक छ । गाउँपालिकाका अनुसार यस वर्ष मात्रै ८० टनभन्दा बढी कफी उत्पादन तथा निर्यात भएको छ । गोरखापत्र

spot_img

ताजा समाचार

‘श्रम स्वीकृति’सम्बन्धी भ्रामक सूचना हटाउन वैदेशिक रोजगार विभागको निर्देशन

काठमाडौं । वैदेशिक रोजगार विभागले विभाग आसपास रहेका साइबर सेन्टर र तालिम केन्द्र (इन्स्टिच्युट)बाट...

बेमौसमी मकै खेतीमा बढ्दै छ किसानको रुचि

काठमाडौं । बाँकेको डुडुवा गाउँपालिकाका किसान मकै खेतीतर्फ आकर्षित हुन थालेका छन् । बाँकेको...

टी–१२ क्रिकेट प्रतियोगिताको उपाधि नेपालगन्ज ८ लाई

काठमाडौं । रमवापुर स्पोर्टस क्लबको आयोजनामा जानकी गाउँपालिका वडा–३ मा सञ्चालन भएको वडास्तरीय ‘राजकुमार...

घानाको उत्तर क्षेत्रमा डुङ्गा दुर्घटनाः कम्तीमा ७ जनाको मृत्यु

काठमाडौं । घानाको उत्तरी क्षेत्रमा भएको डुङ्गा दुर्घटनामा कम्तीमा ७ जनाको मृत्यु भएको छ...