ताइवान स्वतन्त्र बनाउने प्रयास गरे युद्ध : चीन

Published on

काठमाडौं २९ जेठ । चीनले ताइवानलाई स्वतन्त्र बनाउने प्रयास गरे युद्ध सुरु हुने भन्दै अमेरिकालाई चेतावनी दिएको छ । चीनका रक्षामन्त्री वे फेङ्गेले एसियाली सुरक्षा सम्मेलनका अवसरमा अमेरिकी समकक्षी लोयड अस्टिनसँग भेटवार्ता गरेका हुन् । भेटका क्रममा वेले ताइवानलाई चीनबाट छुट्याइएको खण्डमा ‘चिनियाँ सेनासँग जुनसुकै हालतमा लड्नुबाहेक अन्य विकल्प नहुने’ बताएका हुन् ।

वार्तापछि बोल्दै अस्टिनले चिनियाँ सैनिक गतिविधि ‘उत्तेजनापूर्ण र अस्थिरता निम्त्याउने खालका’ भएको बताएका बीबीसीले जनाएको छ । ताइवानमाथि चीनले दैनिकजसो ठूलो संख्यामा वायुयानहरू उडाइरहेका र त्यसले उक्त क्षेत्रमा ‘शान्ति र स्थिरतालाई अवमूल्यन गरिरहेको’ अस्टिनको भनाइ छ । चीनले आफ्नो भूमिको अभिन्न अंग मान्ने स्वशासित ताइवानलाई हतियार बेचेको भन्दै चिनियाँ रक्षामन्त्री वेले अमेरिकाको निन्दा गरेका छन् ।

‘ताइवानलाई चीनबाट कसैले अलग गर्ने प्रयास गर्छ भने चिनियाँ जनमुक्ति सेनासमक्ष लड्नु र स्वतन्त्र हुने ताइवानको प्रयासलाई कुनै पनि मूल्यमा दमन गरी देशको राष्ट्रिय सार्वभौमसत्ता र भौगोलिक अखण्डताको सुरक्षा गर्नुबाहेक कुनै विकल्प हुँदैन,’ वेलाई उद्धृत गर्दै एक प्रवक्ताले भनेका छन् ।

अस्टिनले भने बेइजिङलाई पूर्ण सरकारका रूपमा मान्यता दिन र ताइवानको स्वतन्त्रताको विपक्षमा उभिने यथास्थितिलाई स्वीकार गर्न अमेरिका प्रतिबद्ध रहेको बताएका बीबीसीले उल्लेख गरेको छ । बल प्रयोग गरेर तनाव अन्त्य गर्न नहुनेमा अस्टिनले जोड दिएका जनाइएको छ । दुई देशका रक्षामन्त्रीहरूबीच सिंगापुरमा आयोजित सांग्रिला सम्मेलनका क्रममा भएको कुराकानी करिब एक घण्टा चलेको थियो । दुवै पक्षले हार्दिकताका साथ कुराकानी भएको जनाएका छन् । अमेरिकी रक्षामन्त्री अस्टिनले कुनै असमझदारीको अवस्था उत्पन्न हुन नदिन चिनियाँ सेनासँग पूर्ण रूपमा सञ्चार संयन्त्र खुला राखिनुपर्नेमा जोड दिएका जनाइएको छ ।

मे महिनाको अन्त्यमा ताइवानी आकाशमा चीनले ३० वटा लडाकु विमानहरू उडाएपछि ताइवानले युद्धक विमानहरू परिचालन गर्दै चीनलाई चेतावनी दिएको थियो । चीन र ताइवान सन् १९४० को गृहयुद्धको समयमा विभाजित भएका हुन् । तर बेइजिङले आवश्यक परेको खण्डमा बल प्रयोग गरेर ताइवानलाई आफ्नो मूल भूमिमा गाभ्ने बताउने गरेको छ । तीन लाख सक्रिय सुरक्षाकर्मी रहेको ताइवानको आफ्नै संविधान छ र नेताहरू लोकतान्त्रिक रूपमा निर्वाचित हुन्छन् । तर ताइवानलाई निकै कम देशहरूले मात्र मान्यता दिएका छन् । एजेन्सी

spot_img

ताजा समाचार

‘स्मार्ट हुलाक’ विस्तार, सरकारी कागजात अब घरमै

काठमाडौं । सरकारले हुलाक सेवालाई प्रविधिमैत्री बनाउँदै ‘स्मार्ट हुलाक’ कार्यक्रम प्रभावकारी रूपमा अघि बढाएको...

लुम्बिनीमा मन्त्रालय घटाइयो, अब मुख्यमन्त्रीसहित ९ मन्त्रालय

देउखुरी । लुम्बिनी प्रदेश सरकारले कार्यसम्पादनलाई प्रभावकारी बनाउन मन्त्रालय पुनःसंरचना गर्दै मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को...

सी चिनफिङसँग भेट सुनिश्चित भए मात्रै चीन जाने रविको अडान

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले राष्ट्रपति सी चिनफिङसँग भेट सुनिश्चित...

रास्वपाले बालेन शाहलाई वरिष्ठ नेता मनोनित गर्‍यो

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को केन्द्रीय समितिको बैठकले प्रधानमन्त्री बालेन्द्र (बालेन) शाहलाई...