टनकपुर सन्धिको २६ वर्षपछि नेपाललाई पानी

Published on

चन्द्रकान्त जोशी, महेन्द्रनगर १४ असार । नेपाल र भारतबीच महाकाली एकीकृत विकास सन्धि भएको २६ वर्षपछि नेपालले पानी पाएको छ । सन् १९९६ मा नेपाल र भारतबीच भएको महाकाली एकीकृत सन्धिअनुसार मूलनहर निर्माणकार्य थालनी भएको थियो । नहर थालनी भएको २० वर्षभित्र नहर निमार्ण गरी सक्नुपर्ने भएपनि लामो समय नहर निर्माण ढिलाईको कारण गतिलिन नसकेको नहर आयोजनालाई २६ वर्षपछि भारतले पानी दिएको हो ।

महाकाली सिंचाई आयोजना तेस्रो चरणका अनुसार भारत तर्फबाट निमार्ण गरेको नहरको भागमा केही दिन अगाडिबाट परीक्षण गर्नको लागि पानी छोड्न थालेको छ । यसैगरी नेपाली पक्षले पनि आवश्यक तयारी गरेर बुधवार पानी नहरमा ल्याउने गरी तयारी गरिरहेको आयोजना कार्यालयले जनाएको छ । लामो समय भारतले आफ्नो भूमिमा बनाउनुपर्ने मूल नहर निर्माणमा चासो देखाएको थिएन । तर केही वर्ष अगाडिबाट नहर निर्माणमा भारतीय पक्षले तदारुकता देखाएपछि २६ वर्षपछि नहरमा पानी आएको हो ।

महाकाली सिंचाई आयोजना तेस्रो चरणका आयोजना निर्देशक रणबहादुर बमले तीन दिनदेखि निरन्तर रुपमा टनकपुर नहरबाट नेपालतर्फ पानी आइरहेको बताए । उनले टनकपुर नहरबाट २६ वर्षपछि आएको पानीले भोलि असार १५ अर्थात धान दिवसको दिन नहरको पानीबाट किसानहरुले धान रोप्ने कार्यक्रमसमेत रहेको बताए । निर्देशक बमले २६ वर्षपछि महाकालीको पानी नेपालको नहरमा बग्दा सबैमा खुसी छाएकोसमेत बताए । उनले नहर निर्माण पूर्ण रुपमा पूरा नभएकोले निर्माण कार्य सम्पन्न भएको क्षेत्रलाई आधार बनाएर नहरमा पानी सञ्चालन गर्ने योजना बनाएको बताए ।

उनले भने, ‘नेपाल–भारत दुई देशबीच महाकाली सम्झौता भएको थियो । त्यो सम्झौता अनुसार नेपाललाई टनकपुर ब्यारेजबाट हामीलाई २८।३५ क्युम्याक्स पानी उपलब्ध गराउने सहमति भएको थियो । काम गर्दै जाँदा २६ वर्षको दौडान नेपालतर्फ नहर बनेर पानी झरेको अवस्था छ । अहिले निरन्तर पानी परीक्षण भइरहेको छ । भोलि हामी किसानको चाडपर्व धान दिवसको अवसरमा टनकपुरबाट १९ किलो मिटरबाट पानी ल्याएर टनकपुरको पानीबाट पहिलो पटक किसानको खेतमा पानी पु¥याएर रोपाईं गर्ने कार्यक्रम राखेका छौं । २६ वर्षपछि महाकालीको पानी नेपालको नहरमा बग्दा सबैलाई खुशी लागेको छ ।

आयोजना निर्देशक बमले नेपाल भारत सन्धि भएको झण्डै २६ वर्षसम्म आउँदा मूल नहरको १८।५ किलोमिटर क्षेत्रमा मात्रै मूलनहर निर्माण सम्पन्न भएको बताए । उनले व्रह्मदेव क्षेत्रबाट सन् २००१ मा मूलनहर निर्माण गर्ने भनेर अनुसन्धान थालिएको नहरको आर्थिक वर्ष ०६३÷०६४ देखि सिंचाइको मुख्य नहर निर्माण अगाडि बढाइएको बताए । निर्देशक बमले मूलनहर निर्माण शुरु भएपनि नहर निर्माणको गति तीव्र भएको कारण नहरमा अहिले पानी बग्ने अवस्था आएको बताए । व्रह्मदेव क्षेत्रबाट १५२ किलोमिटर लामो मूलनहर, १७२ किलोमिटर लामो शाखा नहर र एक हजार २४ किलोमिटरको शाखा नहर बनाउनुपर्ने नहरहको अहिले विभिन्न चरणमा नहर निमार्णको कार्य भइरहेको बताए ।

उनले महाकाली सन्धिको धारा ४ अनुसार नेपाली इलाकाको दोधारा–चाँदनी क्षेत्रका लागि शारदा नहरबाट पाउने पानीको लागि पनि नहर निमार्णको काम अगाडि बढाइएको बताए । निर्देशक बमले दोधारा चाँदनी नगरपालिका क्षेत्रमा आवश्यक जग्गा अधिकरण गर्नको लागि प्रक्रिया अगाडि बढाइएको पनि बताए । सन् २०२२ सम्म मूलनहर निर्माण पूर्ण रुपमा सम्पन्न गरिसक्नुपर्ने भनिएपनि निर्माण पूरा हुने सम्भावना भने न्यून देखिन्छ । सन्धिअनुसार मूल नहरबाट नेपालले गर्मीमा २८।३५ क्युमेक्स पानी पाउनेछ भने हिउँदको समयमा ८।५ क्युमेक्स पानी प्राप्त गर्नेछ ।

मूल नहर निर्माणसँगै मूल नहरको शाखानहर निर्माण गर्ने कुरालाई पनि अगाडि बढाइएको छ । महाकाली सिंचाई तेस्रो चरण आयोजनाका अनुसार व्रह्मदेव क्षेत्रमा १२ वटा शाखा बिस्तार गरिनेछन् भने मुसेपानी हात्तीथला क्षेत्रमा १० वटा नहरका शाखा बिस्तार गरिनेछन् । सन्धिअनुसार दोधारा–चाँदनी क्षेत्रमा भारतले १० घनमिटर प्रतिसेकेण्ड ९३५० क्यूसेक० पानी उपलब्ध गराउनेछ भनेर उल्लेख गरिएको छ । यस्तै भारतले भने सन् १९२८ मा नै निर्माण गरेकोे शारदा ब्यारेजबाट निरन्तर भारतीय भूमिमा पानी आपूर्ति गराउने नहर करिव साढे ११ हजार क्युसेक क्षमताको छ ।

नेपाली पक्षबाट समयमै नहर निमार्ण गर्न नसक्दा पानीको ठूलो हिस्सा कब्जा गरेको भारतले दोधारा–चाँदनीले पाउनुपर्ने जम्मा ३ सय ५० क्युसेक पानी पनि भारतले अहिलेसम्म दिएको छैन । सन् १९९६ मा नेपाल र भारतबीच एकीकृत महाकाली सन्धि हुँदा दोधारा र चाँदनीलाई सिंचाइका लागि पानी दिनुपर्ने तथा भारतीय भूमिमा एक हजार दुईसय नहर निर्माण गर्नुपर्ने कुरा उल्लेख गरिएको थियो । वि।सं २०५२ माघ २९ गते तत्कालीन प्रधानमन्त्री शेरबहादुर देउवा र भारतीय प्रधानमन्त्री पीभी नरसिंह रावबीच महाकाली सन्धि भएको थियो ।

spot_img

ताजा समाचार

वर्षामा बिपी राजमार्गः अवरुद्ध भए आधा घण्टामै खुलाइने

बाढीपहिरोका कारण पटकपटक अवरुद्ध हुने बिपी राजमार्ग अब अवरुद्ध भएमा आधा घण्टाभित्रै सञ्चालनमा ल्याउने...

गणेश नेपालीलाई उपचारका लागि भारत लैजाने तयारी

त्रिपुरेश्वरस्थित राहदानी विभागअगाडि भएको घटनामा गम्भीर रूपमा घाइते भएका गणेश नेपालीको सम्पूर्ण उपचार खर्च...

जुम्लामा ४.१ म्याग्निच्युडको भूकम्प

जुम्ला जिल्लाको टाम्टी आसपास केन्द्रबिन्दु भएर बिहीबार बिहान भूकम्प गएको छ। राष्ट्रिय भूकम्प मापन...

महाकाली नदीमा बढ्दो डुबानका घटना न्यूनीकरण गर्न सचेतनामूलक बोर्डहरू राखिए

निलाक्सी चन्द कञ्चनपुर, जेठ ३ गते । पछिल्लो समय कञ्चनपुरस्थित महाकाली नदीमा मानिस डुबेर मृत्यु...