राजस्व उठाउने काममा जिम्मेवार र कर्तव्यनिष्ठ भएर लाग्न कर्मचारीलाई अर्थमन्त्रीकाे निर्देशन

Published on

काठमाडौं । अर्थमन्त्री डा. प्रकाशशरण महतले राजस्व उठाउने काममा जिम्मेवार र कर्तव्यनिष्ठ भएर लाग्न कर्मचारीलाई निर्देशन दिनुभएको छ। 

बुधबार आन्तरिक राजस्व विभाग अन्तर्गत देशभरका कर्मचारीलाई निर्देशन दिनुहुँदै मन्त्री डा. महतले भन्नुभयो, ‘‘कर्तव्यनिष्ठ भएर काम गर्नु होला। यो वर्ष र आगामी आर्थिक वर्षको राजस्वको लक्ष्य पूरा गर्न सबै कर्मचारी जिम्मेवार र कर्तव्यनिष्ठ भएर काम गर्नुपर्छ।’’ उहाँले थप भन्नुभयो, ‘‘कर्तव्यबाट पन्छिने छुट हामी कसैलाई छैन, जिम्मेवारी जे छ त्यसैमा कर्तव्यनिष्ठ भएर काम गर्नुहोला।’’

व्यक्तिगत सुविधा लिने र त्यसबापत राज्यले प्राप्त गर्ने करमा सम्झौता हुँदैन भन्दै उहाँले राम्रो काम गर्ने कर्मचारीलाई धन्यवाद दिनुभयो। अर्थमन्त्री महतले भन्नुभयो, ‘‘अर्थ मन्त्रालयको सबैभन्दा ठुलो काम भनेको स्राेत जुटाउने हो, राज्यको सम्पूर्ण आवश्यकतालाई सम्बोधन गर्ने स्राेत जुटाउने जिम्मेवारीमा हामी छौं। त्यसमा सबैभन्दा ठुलो हिस्सा राजस्वको छ। अहिले राजस्वको हिस्साले हामीलाई पुगिरहेको छैन, राजस्वको हिस्साको प्रतिशतलाई बढाउनुपर्ने आवश्यकता छ।’’ 

मन्त्री महतले तलब भत्ता, सामाजिक सुरक्षा र पूँजीगत खर्चको आवश्यकतालाई राजस्वले योगदान दिन सकोस् भन्ने चाहना रहेको उल्लेख गर्नुभयो। ‘‘राजस्वको दायरा बढाउँछौं भनेर मात्र बढ्दैन, अर्थतन्त्रले गति लिनुपर्छ, त्यसका लागि सरकारले बजेट प्रस्तावमार्फत् पनि पुँजीगत खर्चलाई चलायमान बनाउने कुरा गरेको छ। बुँदागत स्पष्ट प्रस्ताव राखिएको छ। भन्सार र आन्तरिक राजस्व उठाउने कुरामा हामीले गम्भीर ध्यान दिनुपरेको छ।’’

मन्त्री महतले सधैं भन्सारमा आधारित राजस्वमा निर्भर हुन नसकिने भन्दै ऋण उत्पादनमुखी क्षेत्रमा लगानी हुनुपर्नेमा जोड दिनुभयो। यसमा आन्तरिक राजस्व विभागको भूमिका महत्त्वपूर्ण हुने उहाँको भनाइ छ। आन्तरिक राजस्व विभागमार्फत् यसको दायरा वृद्धि गर्ने दुईवटा उपाय भएको मन्त्री डा. महतले बताउनुभयो। ‘‘अर्थतन्त्र चलायमान बनाउन सकियो भने स्वतः कर लिने आधार वृद्धि हुन्छ। अर्को अहिलेकै अवस्थामा पनि जुन वर्ग समूह करको दायरामा आउनुपर्ने हो, उनीहरु आइरहेका छैनन्। उनीहरुलाई करको दायराभित्र ल्याएर करको दायरा बढाउन सकिन्छ।’’ 

मन्त्री महतले भ्याटलाई गम्भीरतापूर्वक लिनुपर्नेसमेत बताउनुभयो। उहाँले राजस्व विभागले करको दुरुपयोग रोकेर बेरुजु उठाउनुपर्नेमा जोड दिनुभएको छ। अर्थमन्त्री महतले भन्नुभयो, ‘‘भ्याटलाई हामी गम्भीरतापूर्वक लिनुपर्छ। सेवाग्राहीले राज्यलाई तिर्ने रकम पनि दुरुपयोग हुनु गम्भीर विषय हो। सेवाग्राहीले राज्यलाई छुट्टयाएको रकम अरुले प्रयोग गर्ने गरी छुट दिन मिल्दैन। व्यवसायीले बिक्रीको क्रममा भ्याट उठाउँछन्, त्यो राजस्वमा बिना शर्त दाखिला गर्नुपर्छ। यसलाई आन्तरिक राजस्व विभागले गम्भीरताका साथ लिनुपर्छ। विभिन्न खाले दुरुपयोग रोक्नुपर्छ, बेरुजु तदरुकताका साथ उठाउनुपर्छ।’’  

spot_img

ताजा समाचार

‘स्मार्ट हुलाक’ विस्तार, सरकारी कागजात अब घरमै

काठमाडौं । सरकारले हुलाक सेवालाई प्रविधिमैत्री बनाउँदै ‘स्मार्ट हुलाक’ कार्यक्रम प्रभावकारी रूपमा अघि बढाएको...

लुम्बिनीमा मन्त्रालय घटाइयो, अब मुख्यमन्त्रीसहित ९ मन्त्रालय

देउखुरी । लुम्बिनी प्रदेश सरकारले कार्यसम्पादनलाई प्रभावकारी बनाउन मन्त्रालय पुनःसंरचना गर्दै मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को...

सी चिनफिङसँग भेट सुनिश्चित भए मात्रै चीन जाने रविको अडान

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले राष्ट्रपति सी चिनफिङसँग भेट सुनिश्चित...

रास्वपाले बालेन शाहलाई वरिष्ठ नेता मनोनित गर्‍यो

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को केन्द्रीय समितिको बैठकले प्रधानमन्त्री बालेन्द्र (बालेन) शाहलाई...