ताप्लेजुङमा दादुरा–रुबेला खोप अभियान फागुन १८ देखि

Published on

काठमाडौं । आइतबारदेखि देशव्यापी रूपमा सुरु भएको दादुरा–रुबेला राष्ट्रिय खोप अभियान ताप्लेजुङमा आउँदो शुक्रबारदेखि सञ्चालन हुने भएको छ । स्वास्थ्य कार्यालय ताप्लेजुङका अनुसार फागुन १८ गते शुक्रबारदेखि जिल्लामा दुई चरणमा दादुरा–रुबेला खोप अभियान सञ्चालन हुने भएको हो ।

स्वास्थ्य कार्यालयले आइतबार सदरमुकाम फुङ्लिङमा जिल्लास्तरीय दादुरा–रुबेला खोप अभियान तयारी तथा नियमित खोप सुदृढीकरणबारे अभिमुखीकरण आयोजना गरी खोप कार्यक्रमबारे जानकारी गराएको हो । स्वास्थ्य कार्यालय ताप्लेजुङका प्रमुख युगराज घिमिरेले नौवटा स्थानीय तह रहेको जिल्लामा दुई चरणमा खोप अभियान सञ्चालन गर्ने तयारी गरिएको जानकारी दिनुभयो । उहाँका अनुसार पहिलो चरणमा फागुन १८ देखि २२ गतेसम्म सदरमुकामस्थित फुङ्लिङ नगरपालिका, सिदिङ्वा गाउँपालिका, सिरिजङ्घा गाउँपालिका र पाथीभरा याङ्वरक गाउँपालिकामा अभियान सञ्चालन गरिनेछ । त्यस्तै दोस्रो चरणमा फागुन २४ देखि २८ गतेसम्म आठराई त्रिवेणी गाउँपालिका, मैवाखोला गाउँपालिका, मेरिङ्देन गाउँपालिका, मिक्वाखोला गाउँपालिका र फक्ताङ्लुङ गाउँपालिकाका दादुरा–रुबेला खोप अभियान सञ्चालन हुनेछ ।

प्रत्येक वडामा पाँचवटा खोप केन्द्र सञ्चालन गरी सम्बन्धित वडा तथा टोलका बालबालिकालाई दादुरा–रुबेलाविरुद्धको खोप लगाइने पनि स्वास्थ्य कार्यालय प्रमुख घिमिरेले जानकारी दिनुभयो । उहाँका अनुसार नौ महिनादेखि पाँच वर्षसम्मका बालबालिकालाई दादुरा–रुबेला खोप दिइनेछ । जिल्लाभरका १० हजार बालबालिकालाई खोप दिने लक्ष्य रहे पनि स्वास्थ्य कार्यालयले सङ्कलन गरेको तथ्याङ्कअनुसार खोप लगाउनुपर्ने लक्षित बालबालिकाको सङ्ख्या आठ हजार १८७ जना रहेको पनि घिमिरेले बताउनुभयो । स्वास्थ्य कार्यालयका अनुसार दादुरा–रुबेला खोप लगाउनुपर्ने सबैभन्दा बढी फुङ्लिङ नगरपालिकाका एक हजार ६३१ जना लक्षित बालबालिका छन् । यस्तै सिरिजङ्घा गाउँपालिकामा एक हजार ५० जना, आठराई त्रिवेणी गाउँपालिकामा ८६०, मिक्वाखोला गाउँपालिकामा ८५३, फक्ताङ्लुङ गाउँपालिकामा ८१३ जना बालबालिका छन् । मैवाखोला गाउँपालिकामा ७८६ जना, मेरिङ्देन गाउँपालिकामा ७७७, सिदिङ्वा गाउँपालिकामा ७४२ र पाथीभरा याङ्वरक गाउँपालिकामा ६७५ जना लक्षित बालबालिका छन् । स्वास्थ्य कार्यालयका अनुसार लक्षित बालबालिकालाई दादुरा–रुबेला खोपसँगै यसअघि छुटेका बालबालिकालाई नियमित खोपअन्तर्गत डीपीटी–हेप, बी–हिव, पीसीभी र आइपीभी खोप पनि लगाइनेछ ।

यता अभिमुखीकरणमा सहभागी फुङ्लिङ नगरपालिकाका प्रमुख अमिर मादेनले कोही पनि बालबालिकालाई खोप लगाउन नछुटाउन र अभियानलाई प्रभावकारी बनाउन स्वास्थ्य कार्यालयलाई सुझाव दिनुभयो । उहाँले अभियानका लागि स्थानीय तहको तर्फबाट गर्नुपर्ने सहयोगमा कमी नहुने पनि बताउनुभयो । यस्तै कार्यवाहक जिल्ला समन्वय समिति प्रमुखको जिम्मेवारी सम्हाली रहनुभएको उपप्रमुख कृष्णप्रसाद लिङ्खिमले पनि दादुरा–रुबेला खोप अभियानलाई प्रभावकारी बनाउनुपर्ने बताउनुभयो । उपप्रमुख लिङ्खिमले लक्षित बालबालिका भएका परिवारलाई खोप अभियानमा अनिवार्य सहभागी हुन आह्वान पनि गर्नुभयो । प्रमुख जिल्ला अधिकारी हीरादेवी पौडेलले अभियानका क्रममा आवश्यक पर्ने सुरक्षा व्यवस्थाका लागि आवश्यक प्रबन्ध मिलाउने प्रतिबद्धता जनाउनुभयो ।

spot_img

ताजा समाचार

राष्ट्रिय हक्की टोलीमा मिथिला नगरपालिकाका ६ खेलाडी छनोट

काठमाडौँ । नेपाल हक्की सङ्घले घोषणा गरेको राष्ट्रिय महिला तथा पुरुष हक्की टोलीमा धनुषाको...

गृहमन्त्री गुरुङलाई नवलपुरमा कार्यकर्ताको स्वागत

काठमाडौँ । गृहमन्त्री सुधन गुरुङलाई राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) नवलपुरका सभापति नरेश्वर लामिछाने नेतृत्वको...

क्रिकेटर करण केसी कारबाहीमा : म्याच शुल्क कट्टा हुने, एक खेलमा प्रतिबन्ध

काठमाडौँ । नेपाल क्रिकेट संघ (क्यान) ले राष्ट्रिय टोलीका सदस्य तथा नेपाल पुलिस क्लबका...

टिप्परको ठक्करबाट स्कुटर चालकको मृत्यु

काठमाडौँ । प्यूठानमा टिप्परको ठक्करबाट एक जना पुरुषको मृत्यु भएको छ । चेरनेटा–बरौला सडक...