एक गाग्री पानी ल्याउन डेढ घण्टा

Published on

काठमाडौं । माङसेबुङ गाउँपालिका(६ रक्से बजारकी वसन्ता राईको बिहान पानी बोक्दैमा बित्छ । रक्से बजारमा रहेको उहाँको सानो होटल सञ्चालनका लागि पानीका लागि उहाँलाई हरेक विहान डेढ घण्टाभन्दा बढी समय उकालो ओरालो गर्नुपर्छ । उहाँ मात्रै होइन यहाँका अधिकांशको विहानी पानी जोहोमै बित्ने गरेको छ ।

“बजारमा पानीको ठूलो समस्या छ । बजारभन्दा करिब एक किलोमिटर तल धाराखामबाट गाग्रीमा बोकेर जीविका चलाउनुपरेको छ”, उहाँले भन्नुभयो, “बिहान ३ बजेदेखि नै लाइन लागेर पानी थाप्नुपर्छ, पानी सानो भएकाले गाग्री भरिन समय लाग्छ । लाइन लाग्नुपर्दा कहिलेकाहीँ डेढ घण्टासम्म खर्चनुपर्छ ।” सोही ठाउँकी कमलकुमारी राईको पीडा पनि उस्तै छ । उहाँल खानेपानीको व्यवस्थापन चिन्ताको विषय भएको बताउनुभयो । चिसोपानी पञ्चमीबाट अस्थायीरुपमा पाइपमार्फत ल्याएको पानी निकै कम भएकाले एक गाग्री पनि भर्न नपाइने उहाँको भनाइ छ । त्यसैले पानीको जोहो गर्न धाराखाममै जानु परेको उहाँले सुनाउनुभयो । “चिसोपानीबाट ल्याइएको पानी त विहान एक घण्टा मात्र आउँछ । कहिले काँही त एक गाग्री भर्नै नपाइ बन्द हुन्छ”, उहाँले भन्नुभयो, “त्यसैले धाराखाममा भर पर्नुको विकल्प छैन । कहिले काहीँ त ट्याङ्करबाट पानी किनेरसमेत प्रयोग गर्नुपरेको छ ।” रक्से बजारमा पानीको समस्याकै कारण विकासले गति लिन नसकेको स्थानीयको बझाइ छ । पानी अभावका कारण विकास निर्माणमा पछि परेको स्थानीयवासी सुनिता राईले बताउनुहुन्छ ।

“विकासको काम गर्न वा कुनैपनि संरचना बनाउनका लागि पानीकै आवश्यकता पर्दो रहेछ । यहाँ खानेपानी नै छैन, अन्य प्रयोजनका लागि त पानी झन् टाढाको कुरा भयो”, उहाँले भन्नुभयो, “खानेपानीको व्यवस्थापन गर्न जनप्रतिनिधिसँग पटक पटक माग राखेका छौंँ, आश्वासन पनि नपाएको होइन तर भएन, यस पटक पम्पिङ सिस्टमबाट खानेपानी आउने आश्वासन पाएका छौँ ।” रक्से बजारकी बसन्ता, कमलकुमारी र सुनिता मात्र होइन, यहाँका करिब ५० घरपरिवारले वर्षौदेखि खानेपानीको लागि घण्टौँसम्म उकालोओरालो गर्नुपर्ने बाध्यता झेल्दै आउनुभएको छ । खानका लागि मात्र होइन, शौचालय जान, नुहाइधुवाइ गर्न, लुगाकपडा धुन तथा वस्तुभाउलाई खुवाउन झनै समस्या भोग्नु परेको कमलकुमारी बताउनुहुन्छ । सरकारसँग चाँडो खानेपानीको दिगो व्यवस्थापन गरिदिन उहाँको माग छ । बोकेर ल्याएको पानीले खान नै नपुग्ने अवस्थामा शौचालयमा प्रयोगलगायत अन्य प्रयोजनमा प्रयोग गर्न झनै समस्या हुने गरेको उहाँहरुको भनाइ छ । त्यस ठाउँमा खानेपानी आयोजना सञ्चालन नभएको भने होइन । तर, दिगो मुहान नभएका कारण समस्या झेल्नुपरेको स्थानीयवासी किरणकुमार राई बताउनुहुन्छ ।

“आर्थिक वर्ष २०६७र६८ मा मावाखोलाको शिर खालेधाराबाट अस्थायी खानेपानीको व्यवस्थापन गरेका थियौँ, त्यो पनि ६ महिना आउँछ त्यसपछि मुहान सुक्छ । असारमा मूल फुटेपछि मात्र आउँछ”, उहाँले भन्नुभयो, “अहिले त्यो पानी मुहान सुकेर बन्द भइसकेको छ, घण्टौँसम्म पर्खेर डोकोबाट पानी ओसार्नुको विकल्प छैन ।” खानेपानीको माग गर्दै सरकारी निकाय, विकासे संस्थालाई गुहार्दासमेत आफूहरुको समस्या ज्यूँकात्यूँ रहेको स्थानीयको भनाइ छ । नजिकै खानेपानीको स्रोत नभएपछि सरकारी निकाय र विकासे संस्था समेत पन्छिएर जाने गरेको उनीहरुको गुनासो छ । समुद्री सतहदेखि करिब दुई हजार मिटर उचाइमा अवस्थित रक्से बजारमा नजिकै पानीको स्रोत नभएको र सरकारी निकायले समेत खानेपानी आयोजना निर्माणमा गम्भीर चासो नदेखाएका कारण लामो समयदेखि पानीको समस्या भोग्दै आउनु परेको राई बताउनुहुन्छ । खानेपानीको अभावकै कारण स्थानीय माङमालुङ आधारभूत विद्यालयका शिक्षक(विद्यार्थीसमेत समम्यामा परेका छन् । पानीको अभावका कारण रक्से बजार सरसफाइमासमेत बाधा पुग्ने गरेको छ ।

माङसेबुङ गाउँपालिका अध्यक्ष हेमन्त राईले आगामी वर्षसम्म रक्सेबजारबासीको खानेपानीकै समस्या समाधान हुने दाबी गर्नुभयो । सङ्घीय सरकारको विशेष अनुदानबाट दुई करोडको लागतमा मिक्लाजुङ खानेपानी आयोजना अन्तर्गत गढेरे खोलालाबाट एक सय ७१ घरधुरीका लागि पम्पिङ सिस्टमबाट वृहत खानेपानी आयोजना सञ्चालन हुने तयारी भइरहेको बताउनुभयो । रासस

spot_img

ताजा समाचार

मतदाता गाउँ फर्किएपछि बेनी बजार सुनसान

काठमाडौं । बिहीबार हुने प्रतिनिधिसभा सदस्य निर्वाचनमा मतदानका लागि मतदाताहरु गाउँफर्किन थालेका छन् ।...

पाँच वर्षे मार्गचित्र सार्वजनिक गर्दै चीनको वार्षिक राजनीतिक अधिवेशन सुरु

काठमाडौं । सुस्त बन्दै गएको अर्थतन्त्र, उच्च युवा बेरोजगारी र बाह्य व्यापारिक दबाबका बीच...

निर्वाचनका लागि मतदान केन्द्र निर्माण कार्य सुरु

काठमाडौं । बिहीबार हुने प्रतिनिधि सभा निर्वाचनका लागि मतदान केन्द्र बुथहरू धमाधम निर्माण गरिँदै...

निर्वाचन र सार्वजनिक बिदामा तनहुँ जिल्ला अदालत खुला रहने

काठमाडौं । निर्वाचन र सार्वजनिक बिदामा पनि तनहुँ जिल्ला अदालत खुला रहने भएको छ...