‘एमसिसी निर्धारित समयमै सक्न सरकार प्रतिबद्ध’

Published on

काठमाडौं । अर्थमन्त्री वर्षमान पुनले मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसिसी) परियोजना अन्तर्गतका सबै काम निर्धारत मितिमै सम्पन्न गर्न सरकार प्रतिबद्ध रहेको बताउनुभएको छ । नेपाल भ्रमणमा रहनुभएका एमसिसीका युरोप, एसिया, प्रशान्त र ल्याटिन अमेरिकाका लागि सहायक उपाध्यक्ष जोनाथन ब्रुक्ससँगको भेटमा सरकार पूर्वनिर्धारित समयमा एमसिसी सम्पन्न गर्न प्रतिबद्ध रहेको बताउनुभएको हो । आयोजना समयमै सम्पन्न गर्न मन्त्रालयका तर्फबाट गर्नुपर्ने काममा आवश्यक सहयोग र समन्वय हुने उहाँको भनाइ थियो । “एमसिसी कम्प्याक्टका आयोजना समयमै सक्नेमा सरकारको प्रतिबद्धता छ र त्यो रहिरहन्छ,” उहाँले भन्नुभयो । एमसिसी परियोजना अन्तर्गतका आयोजनाको काम खण्ड खण्डमा भइरहेकाले पनि समयमै सकिनेमा विश्वस्त रहेको उहाँले बताउनुभयो । परियोजना कार्यान्वयनका क्रममा आउने जमिनको मुआब्जा, वन क्षेत्रको प्रयोग जस्ता समस्या एमसिए नेपालमार्फत समाधान हुने उहाँले बताउनुभयो । उपाध्यक्ष ब्रुक्सले एमसिसी परियोजना अन्तर्गत निर्माणाधीन विद्युत् प्रसारण लाइन र सडक निर्माणमा भइरहेको प्रगति जानकारी गराउनुभएको थियो । आयोजनाको हालसम्मको कार्यप्रगति सन्तोषजनक रहेको पनि उहाँले बताउनुभयो ।

करिब ६० अर्ब रुपियाँ बराबरको एमसिसी सम्झौता अन्तर्गत पाँच वर्षभित्र ३१५ किलोमिटर लामो विद्युत् प्रसारण लाइन र ७७ किलोमिटर सडक निर्माण हुने छ । सम्झौता अनुसार ६० अर्बमध्ये ४५ अर्ब एमसिसीले अनुदानमा उपलब्ध गराउने छ भने १५ अर्ब रुपियाँ नेपाल सरकारका तर्फबाट लगानी हुने अर्थ मन्त्रालयले जनाएको छ । एमसिसीबाट नेपालले पाउने ४५ अर्ब अनुदानमध्ये अधिकांश रकम नेपाल–भारत अन्तरदेशीय प्रसारण लाइन निर्माणमा खर्च हुने छ । आयोजनाले बुटवलबाट भारतको गोरखपुरसम्म सीमापार प्रसारण लाइन निर्माण गर्ने छ । जस अन्तर्गत ३१५ किलोमिटर लामो डबल सर्किट चार सय केभी प्रसारण लाइन निर्माण हुने छ । हाल नुवाकोटको बेलकोटगढी नगरपालिकास्थित रातमाटे, तनहुँको दमौली र नवलपरासी पश्चिमको भुमहीमा सबस्टेसन निर्माणको काम अघि बढेको छ । यस्तै रातमाटेबाट काठमाडौँको लप्सीफेदीमा नेपाल विद्युत् प्राधिकरणद्वारा निर्माणाधीन चार सय केभी सबस्टेसन र मकवानपुरको हेटौँडामा रहेको प्राधिकरणकै चार सय केभी सबस्टेसन दुवैमा रातमाटेबाट विद्युत् प्रवाह हुने छ ।

चार सय किलोभोल्ट उच्च क्षमताको विद्युत् प्रवाह गर्न सक्ने यो नेपालको हालसम्मकै ठुलो प्रसारण लाइन हो । आयोजना अन्तर्गत ८५६ वटा टावर बन्ने छन् । काठमाडौँ, नुवाकोट, सिन्धुपाल्चोक, धादिङ, मकवानपुर, चितवन, तनहुँ, पाल्पा, नवलपुर र नवपरासीपश्चिम जिल्लालाई प्रसारण लाइनले छुन्छ । परियोजना अन्तर्गत ३०५ किलोमिटर रणनीतिक सडक सञ्जालको मर्मत सम्भार र गुणस्तर सुधारको काम हुने छ । पूर्वपश्चिम राजमार्ग अन्तर्गत दाङको भालुवाङबाट पश्चिमतर्फ धानखोला–लमही सडक खण्डको ४० किलोमिटर सडक नयाँ प्रविधिमार्फत विस्तार तथा सोही राजमार्गको दाङ र अर्घाखाँचीमा पर्ने लमही–शिवखोला खण्डको ३७ किमी सडक मर्मतको काम अघि बढेको छ । एमसिसी अन्तर्गत मध्य पहाडी पुष्पलाल लोकमार्गको पोखरा–बाग्लुङ सडक खण्ड विस्तारको काम करिब सकिएको छ । नेपाल र अमेरिकी सरकारको एमसिसीबिच सन् २०१७ मा आयोजनासम्बन्धी हस्ताक्षर भए पनि दुई वर्षअघि नेपालको संसद्ले सम्झौता अनुमोदन गरेसँगै आयोजना कार्यान्वयनमा आएको हो ।

spot_img

ताजा समाचार

जुम्लामा ४.१ म्याग्निच्युडको भूकम्प

जुम्ला जिल्लाको टाम्टी आसपास केन्द्रबिन्दु भएर बिहीबार बिहान भूकम्प गएको छ। राष्ट्रिय भूकम्प मापन...

महाकाली नदीमा बढ्दो डुबानका घटना न्यूनीकरण गर्न सचेतनामूलक बोर्डहरू राखिए

निलाक्सी चन्द कञ्चनपुर, जेठ ३ गते । पछिल्लो समय कञ्चनपुरस्थित महाकाली नदीमा मानिस डुबेर मृत्यु...

राष्ट्रिय हक्की टोलीमा मिथिला नगरपालिकाका ६ खेलाडी छनोट

काठमाडौँ । नेपाल हक्की सङ्घले घोषणा गरेको राष्ट्रिय महिला तथा पुरुष हक्की टोलीमा धनुषाको...

गृहमन्त्री गुरुङलाई नवलपुरमा कार्यकर्ताको स्वागत

काठमाडौँ । गृहमन्त्री सुधन गुरुङलाई राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) नवलपुरका सभापति नरेश्वर लामिछाने नेतृत्वको...