विदेशमा होइन, स्वेदशमै पसिना बगाउने सङ्कल्प

Published on

काठमाडौँ । रोजगारीका लागी साउदी अरब पुगेर फर्केका भगवतीमाई गाउँपालिका–४, मन्घरका सुनील बिसीले विदेश बस्दाको अपमानभन्दा स्वदेशमै बसेर पसिना बगाउने प्रण गर्नुभएको छ । दुई वर्ष विदेशमा बसेर फर्केका बिसीले भन्नुभयो, “विदेश बस्दा जस्तो खालको मैले अपमान सहेँ, त्यो सम्झन पनि मन छैन । अब जे जति पसिना बगाउँछु, आफ्नै गाउँमा बगाउँछु भनेर कृषि पेसामा लागेको छु ।” दुई रोपनीबाट सुरु गरेको तरकारी खेती अहिले ३० रोपनीमा फैलिएको छ । त्यसमा आलु, काउली, बन्दा र अन्य तरकारी खेती गरिरहेका उहाँले अझै जग्गा भाडामा लिएर तरकारी खेती विस्तार गर्ने योजना बनाइरहनुभएको छ । विदेशको अपमानले स्वदेशमै फर्किएर तरकारी खेती गर्नुभएका भएका बिसीको वार्षिक आम्दानी सातदेखि १० लाख रुपियाँसम्म हुने गरेको छ ।

गाउँका अधिकांश युवा खाडी मुलुकमा रहेका बेला स्वदेशमै कृषिलाई मूल पेसा बनाएका बिसीले भन्नुभयो, “हाम्रै घरबारीमा पैसा छ, त्यो भेउ नपाएर होला, हामी सबै पैसा खोज्न देशबाहिर जाने गरेका छौँ । अब यो बानी सपार्नु पर्छ ।” डुङ्गेश्वर गाउँपालिका–६ का देवेन्द्र गोदार रोजगारीका लागि भारतको गुजरातबाट फर्केपछि अहिले व्यावसायिक तरकारी खेतीमा लाग्नुभएको छ । लामो समय होटेलमा काम गर्नुभएका उहाँ स्वदेशमा आफू मात्र होइन, अरूलाई पनि रोजगारी दिनु पर्छ भन्ने उद्देश्यले कृषि पेसामा लागेको बताउनुहुन्छ । कृषि पेसा अँगालेपछि उहाँले पाँच जनालाई रोजगारीसमेत दिनुभएको छ । उहाँ मात्र होइन, रोजगारीका लागि साउदी अरब पुगेका दुल्लु नगरपालिका–१३ का गणेशबहादुर शाहीसमेत स्वदेश फर्केर व्यावसायिक बिउ उत्पादनमा लाग्नुभएको छ ।

तरकारी बालीको बिउ उत्पादन गरी वार्षिक सात लाख रुपियाँसम्म आम्दानी गर्ने गरेको उहाँले बताउनुभयो । उहाँले भन्नुभयो, “घरपरिवारसँगै बसेर लाखौँ रकम कमाउन सकिने रहेछ, व्यर्थैमा ऋण काढेर साउदी पुगेँ, खासै उपलब्धि हुन सकेन ।” माथिका केही प्रतिनिधि पात्र हुन्, जसले विदेश त्यागेर कृषि रोजे र गाउँमा उदाहरण पनि बनेका छन् । पछिल्लो समय विदेशबाट फर्केर कृषि व्यवसायमा लाग्नेको सङ्ख्या जिल्लामा बढ्दो क्रममा रहेको छ । विदेशबाट फर्किएर कृषि व्यवसाय गरेका कृषकलाई अनुदान, सहुलियत ऋण र प्राविधिक सहयोग उपलब्ध हुने भएपछि कृषि व्यवसायप्रति युवाको आकर्षण बढ्दो क्रममा रहेको छ । जिल्ला कृषि विकास कार्यालय दैलेखका कृषि अर्थविज्ञ झलक भण्डारीले विदेशबाट फर्केर स्वदेशमै व्यावसायिक कृषि गरेका युवाकोे प्रगति लोभलाग्दो भएको बताउनुभयो । उहाँले कृषि विकास कार्यालयले समेत विदेशबाट फर्किएका युवालाई व्यावसायिक कृषिमा लगाइराख्न अनुदान दिएर प्रोत्साहन गरिरहेको बताउनुभयो । उहाँले भन्नुभयो, “कार्यालयबाट सञ्चालन हुने जैविक तरकारी खेती, नमुना फार्म र हाइटेक टनेल खेतीलगायतका कार्यक्रम सञ्चालन गरिएका छन् ।”

व्यावसायिक तरकारी खेती गरिरहेका युवालाई भने सिँचाइ अभावले सताउन थालेको छ । भगवतीमाई गाउँपालिका–४ का सुनील बिसीले भन्नुभयो, “पहाडी भेगमा सिँचाइको राम्रो अवस्था छैन । काम गर्ने जोसजाँगर छ, पानीको अभावले सोचे जस्तो प्रतिफल लिन सकेको छैन ।”

बजार सहज हुँदै

व्यावसायिक कृषिबाट उत्पादन भएको तरकारीको बिक्रीवितरण गर्न किसानलाई समस्या छैन । जताततै बाटोघाटो पुगेको छ । बिसीले भन्नुभयो, “हाम्रो उत्पादन सुर्खेत, नेपालगन्ज, जाजरकोट, दैलेख सदरमुकाममा सहजै पुग्ने गरेको छ । बजारको चिन्ता छैन ।” उहाँले भन्नुभयो, “मध्यपहाडी राजमार्ग आफ्नै कृषि फार्मनजिकै भएर जाने भएका कारण पनि तरकारी सहजै बिक्री हुने गरेको छ । यद्यपि भारतको रुपैडियाबाट आउने तरकारीका कारण यहाँका किसानले उत्पादन गरेको तरकारीले उचित मूल्य पाउन नसकेको किसानको गुनासो छ । त्यसैले किसानले सस्तोमा तरकारी बेच्नुपर्ने बाध्यता पनि रहेको छ ।

दुल्लु नगरपालिका–१३ का गणेश शाहीले आफूले उत्पादन गरेको तरकारी, बिउ सहजै बजारसम्म लैजाने गरेको बताउनुभयो । उहाँका अनुसार कर्णाली राजमार्गले गर्दा कालीकोट, सुर्खेत, नेपालगन्ज, दाङ, चितवनमा समेत बिउ बिक्री हुने गरेको छ । बिउ उत्पादन हुनेबित्तिकै एग्रोभेट सञ्चालकले सिधै सामान मगाउने गरेको उहाँले बताउनुभयो । गोरखापत्र

spot_img

ताजा समाचार

‘स्मार्ट हुलाक’ विस्तार, सरकारी कागजात अब घरमै

काठमाडौं । सरकारले हुलाक सेवालाई प्रविधिमैत्री बनाउँदै ‘स्मार्ट हुलाक’ कार्यक्रम प्रभावकारी रूपमा अघि बढाएको...

लुम्बिनीमा मन्त्रालय घटाइयो, अब मुख्यमन्त्रीसहित ९ मन्त्रालय

देउखुरी । लुम्बिनी प्रदेश सरकारले कार्यसम्पादनलाई प्रभावकारी बनाउन मन्त्रालय पुनःसंरचना गर्दै मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को...

सी चिनफिङसँग भेट सुनिश्चित भए मात्रै चीन जाने रविको अडान

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले राष्ट्रपति सी चिनफिङसँग भेट सुनिश्चित...

रास्वपाले बालेन शाहलाई वरिष्ठ नेता मनोनित गर्‍यो

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को केन्द्रीय समितिको बैठकले प्रधानमन्त्री बालेन्द्र (बालेन) शाहलाई...