विश्व क्रिकेट भारतको धाक

Published on

काठमाडौं । विश्वकप क्रिकेट प्रतियोगितामा खेल्दा भारत सधैँ प्रमुख दाबेदारका रूपमा रहेको हुन्छ तर विश्वकपमा भारतले कहिल्यै आफूमाथिको अपेक्षा पूरा गर्न सकेन । सन् २००७ मा टी–२० विश्वकपको पहिलो संस्करणमै च्याम्पियन हुँदा भारतबाट अपेक्षा गरिएको थिएन । त्यसपछि भारतमा टी–२० क्रिकेटको लहरै चल्यो । सोही क्रेजले भारतमा इन्डियन प्रिमियर लिग (आइपिएल) सुरु भयो । जसले टी–२० क्रिकेटलाई अझ उचाइमा पु¥यायो । क्रिकेटको यस छोटो संरचनामा भारतीय टिमले पनि विश्व क्रिकेटमा दबाब बनाउँदै लग्यो तर भारत टी–२० विश्वकपमा दोस्रो पटक च्याम्पियन बन्न सकेको थिएन । यस पटक नवौँ संस्करणमा आएर १३ वर्षपछि भारत टी–२० विश्वकप च्याम्पियन बनेको छ । भारतले दक्षिण अफ्रिकालाई सात रनले हराएर उपाधि जितेको हो । यस उपाधिसँगै भारतले क्रिकेटमा आफू महाशक्ति टिम हो भन्ने साबित ग¥यो । भारत अहिले टी–२० र एकदिवसीय दुवै संरचनाको क्रिकेटमा एक नम्बर टिम हो । टेस्ट संरचनाको वरीयतामा पनि अस्ट्रेलियापछि भारत दोस्रो स्थानमा छ ।

यस उपाधिसँगै भारतले सात महिनाअघि विश्वकप एकदिवसीय फाइनलमा मिलेको पीडादायी हारमा पनि मलहम लगाएको छ । सो समय भारतले नै विश्वकप जित्छ भनेर ठुलै चर्चा भएको थियो । भारतको क्रिकेट टिम फाइनलअघिसम्म अजय नै देखिन्थ्यो । भारत लगातार १० खेल जितेर उपाधि भिडन्तमा पुग्यो । यस क्रममा उसले सबै विपक्षीलाई सजिलै माथ दिएको थियो । त्यसैले फाइनलमा भारतलाई दाबेदार मानिएको थियो तर भारतले अन्तिम किल्ला ठोक्न सकेन । भारतले फाइनलमा अचम्मै हुने गरी अस्ट्रेलियाविरुद्ध घुँडा टेक्यो । आफ्नो टिमले विश्वकप उपाधि जित्छ भनी भारतका प्रधानमन्त्री नरेन्द्र मोदी रङ्गशालामा आउनुभएको थियो । एक लाख ३२ हजार दर्शक मात्र होइन एक अर्ब ४० करोड भारतीय आकाशबाट जमिनमा पछारिएका थिए । यसपालि भने आफूमाथि गरेको भरोसालाई सही साबित गर्दै भारत च्याम्पियन बनेको छ । अझ भारतले टी–२० विश्वकपको इतिहासमै पहिलो पटक अपराजित रहेर उपाधि जितेको हो । यद्यपि भारत लगातार दोस्रो पटक विश्वकपको फाइनलमा हारको सँघारमा थियो । वास्तवमा दक्षिण अफ्रिका उपाधिनजिक थियो । दक्षिण अफ्रिकाले फाइनलमा छ विकेट बाँकी रहेको स्थितिमा ३० बलमा ३० रन बनाउन नसक्दा भारत भाग्यमानी साबित भयो । जसले प्रमुख प्रतियोगितामा दक्षिण अफ्रिकामाथि लागेको चोकर्सको दाग अझै मेटिएनभन्दा फरक नपर्ला । पछिल्ला विश्वकप प्रतियोगितामा उपाधि दाबेदार भएर पनि महत्वपूर्ण खेलमा सधैँ चिप्लिने हुँदा दक्षिण अफ्रिकालाई हरुवाको ट्याग दिइएको थियो । यसअघि एकदिवसीय र टी–२० विश्वकपमा गरेर सात पटक सेमिफाइनलमा पुगेर पनि दक्षिण अफ्रिका उपाधि भिडन्तसम्म पुग्न सकेको थिएन । यसपालि दक्षिण अफ्रिका फाइनलमा त पुग्यो तर उसले अन्तिम समयमा मनोबल उच्च पार्न सकेन । दक्षिण अफ्रिका उपाधिको सँघारमै रहेर पनि आफ्नै गल्तीले पहिलो पटक विश्वविजेता बन्नबाट वञ्चित भयो । भारतको जितको प्रमुख कारण उसको सन्तुलित टिम थियो । भारत यसपालि ब्याटिङ र बलिङ दुवैमा उत्तिकै सशक्त थियो । विशेषतः रोहित शर्माको कुशल नेतृत्व र ब्याटिङ अनि तेज बलर जस्प्रित बुमराह र अर्सदीप सिंहको बलिङले महत्वपूर्ण भूमिका निर्वाह गरे । अर्सदीपले अफगानिस्तानका फजलक फारुकीसरह सर्वाधिक १७ विकेट लिनुभयो । बुमराह आफ्नो बलिङले विश्वकपकै सर्वश्रेष्ठ खेलाडी चुनिनुभयो । विश्वका महान् ब्याट्सम्यानको सूचीमा परिसकेका विराट कोहलीले पनि हिरोको पालो ‘अन्तिम’ मा भने झैँ फाइनलमा म्याच जिताउने पालि खेल्नुभयो । यसअघि पूरै प्रतियोगितामा कोहलीको ब्याट शान्त थियो । जसले गर्दा उहाँ आलोचित पनि बन्नुभयो तर कोहलीले फाइनलमा ‘म्यान अफ दी म्याच’ बनेर आफ्ना आलोचकलाई चुप पार्नुभयो ।

भारत मानसिक रूपमा पनि बलियो देखियो । फाइनलमा हारको मुखबाट जित प्राप्त गरेर भारतले अन्तिम समयसम्म लड्ने खुबी मात्र होइन, खेलाडीहरू मानसिक रूपमा कत्तिको सबल छ भन्ने पनि देखायो । यसअघि भारतलाई पनि फाइनलको दबाब थेग्न नसक्ने टिम मानिन्थ्यो । हुन पनि सन् २०११ मा एकदिवसीय विश्वकप जितेपछि भारत आइसिसीका चार प्रमुख प्रतियोगिताका फाइनलमा हारेको थियो । सन् २०१४ मा टी–२० विश्वकप फाइनल, सन् २०१७ मा च्याम्पियनसिप ट्रफी फाइनल, सन् २०२१ मा विश्व टेस्ट च्याम्पियनसिपको फाइनल र सन् २०२३ मा घरेलु मैदानमा एकदिवसीय विश्वकपको फाइनलमा हार बेहोरेपछि भारतलाई पनि चोकर्स भन्न थालिएको थियो ।

विश्व क्रिकेटका शक्तिहरू पाकिस्तान, न्युजिल्यान्ड र श्रीलङ्काका लागि यसपालिको विश्वकप बिर्सनलायक रह्यो । यी तिनै राष्ट्रले समूह चरण पनि पार गर्न सकेन । समूह चरणमा अस्ट्रेलियाले सानदार लय देखायो । जसले भारत र अस्ट्रेलियाबिच पुनः फाइनल भिडन्त हुने अनुमान गरिएको थियो तर सुपर आठमा पुगेपछि एक्कासि अस्ट्रेलियाको लय बिग्रियो । अफगानिस्तान र भारतसँग हारेपछि अस्ट्रेलिया सेमिफाइनलमा पुग्न सकेन । अन्डरडगका रूपमा रहेको अफगानिस्तानले लगातार दोस्रो विश्वकपमा सबैको मन जित्यो । अफगानिस्तानले सेमिफाइनलसम्मको यात्रामा न्युजिल्यान्ड, अस्ट्रेलिया, बङ्गलादेश जस्ता राष्ट्रलाई धराशायी बनाएको थियो । सात महिनाअघि भारतमा सम्पन्न एकदिवसीय विश्वकप पनि अफगानिस्तानका लागि सपनाको यात्रा बनेको थियो । सो विश्वकपमा अफगानिस्तानले तीन पूर्वच्याम्पियन इङ्ग्ल्यान्ड, पाकिस्तान र श्रीलङ्कालाई स्तब्ध पारेको थियो । त्यसैले अब अफगानिस्तान पनि विश्व क्रिकेटको सशक्त टिम बनिसकेको छ ।

यस प्रतियोगितामा आफ्नो छवि उच्च पार्ने अर्को राष्ट्र अमेरिका हो । सहआयोजक अमेरिकाले अनपेक्षित रूपमा सुपर आठमा स्थान बनाएर एसोसिएट राष्ट्र पनि कमजोर छैन भन्ने साबित ग¥यो । अमेरिकाले सुपर ओभरमा गत उपविजेता पाकिस्तानविरुद्ध हासिल गरेको जित टी–२० विश्वकप क्रिकेटकै ठुलो स्तब्धकारी नतिजा बन्यो । नेपाल समूह चरणबाट बिदा भए पनि विपक्षी टिमहरूलाई टक्कर दिएर इमिर्जिङ क्रिकेट राष्ट्रका रूपमा आफ्नो पहिचानलाई गुम्न दिएन । यसपालि सहभागी २० मध्ये नौ एसोसिएट राष्ट्र थिए । विगतका विश्वकपमा टेस्ट मान्यताप्राप्त र एसोसिएट टिमबिचको स्तरमा ठुलो खाडल हुँदा विश्वकपको रौनकमा कमी आउने पनि गरेको थियो । त्यसैले पछिल्ला केही विश्वकपमा विश्वकपको रोमाञ्च घट्ने डरले आइसिसीले प्रारम्भिक चरणको प्रावधान राखेको थियो तर यसपालि यस्तो प्रावधान थिएन । एसोसिएट टिमहरूले पनि आइसिसीको यस निर्णयलाई सही साबित गर्दै आइसिसीका पूर्णकालीन सदस्य टिमहरूलाई कडा चुनौती दिए । विशेषतः अमेरिका र नेपालले आफ्नो पहिचान बनाए । नेदरल्यान्ड्स, नामिबिया, क्यानडा, ओमान, स्कटल्यान्डले पनि विपक्षीबाट सम्मान पाए तर युगान्डा र पपुआ न्युगिनी भने कमजोर देखिए । नेपाल र दक्षिण अफ्रिका, पाकिस्तान र अमेरिका तथा नामिबिया र क्यानडाबिचको खेल यस विश्वकपकै रोमाञ्चक खेल बने । अफगानिस्तान र बङ्गलादेशबिचको सुपर आठको खेल पनि सनसनीपूर्ण थियो ।

यसपालि क्रिकेटलाई विश्वव्यापी गराउने लक्ष्य अनुरूप अमेरिकालाई पनि सहआयोजकको जिम्मेवारी दिइएको थियो । यद्यपि अमेरिकाका पिच पूर्ण रूपमा तयार भएको देखिएन । अमेरिकामा भएका सबै जसो खेलमा न्यून स्कोर बने । यसपालिको विश्वकप बलरका लागि उत्कृष्ट साबित भयो । टी–२० अहिले ब्याट्सम्यानको खेल भइसकेको छ । आजकल यस संरचनामा दुई सय रन पनि जित हात पार्न पर्याप्त छैन तर अमेरिकामा १२० देखि १३० रनको स्कोर जोगाउन पनि हम्मेहम्मे बनेको थियो । अमेरिकामा भएको विश्वकपले पिच र वातावरणको प्रभाव क्रिकेटमा कत्तिको हुन्छ भन्ने देखाएको छ । वेस्ट इन्डिजको पिचमा भने ब्याट्सम्यान र बलर दुवैका लागि मौका मिलेको थियो । व्यक्तिगत प्रदर्शनमा भारतका रोहित शर्मा, जस्प्रित बुमराह र अर्सदीप सिंह, अफगानिस्तानका रहमनुला गुरबाज, तेज बलर फजलक फारुकी र रासिद खान, दक्षिण अफ्रिकाका क्विन्टन डिक र एन्रिच नोर्ट्जे, वेस्ट इन्डिजका निकोलस पुरन र बङ्गलादेशका तेज बलर तन्जिम हसन सकिन चम्किनुभयो । गुरबाज यस विश्वकपमा सबभन्दा बढी रन बनाउने ब्याट्सम्यान बन्नुभयो ।

नेपालको प्रदर्शन

दोस्रो पटक टी–२० विश्वकपमा खेलेको नेपालले यस विश्वकपमा अनपेक्षित नतिजा निकाल्ने आशा गरिएको थियो । नेपाललाई हेर्नलायक टिममध्ये एक मानिएको थियो । यद्यपि नेपाल जितविहीन बन्यो तर नेपाली क्रिकेटरहरूले नेपाली जनता र समर्थकलाई खुसी बनाउने भरमग्दुर प्रयास ग¥यो । नेपालले जित प्राप्त गर्न नसके पनि बङ्गलादेश, दक्षिण अफ्रिका र नेदरल्यान्ड्सलाई कडा टक्कर दियो । पहिलो खेलमा नेदरल्यान्ड्सका तेज बलरहरूको स्विङ बलिङमा कमजोर देखिएपछि नेपाल १०६ रनमै अलआउट भएको थियो तर नेपालले नेदरल्यान्ड्सलाई सजिलै जित हासिल गर्न दिएन । नेदरल्यान्ड्सले आठ बल बाँकी छँदा मात्र बल्लतल्ल जित प्राप्त गरेको थियो । त्यसपछि दक्षिण अफ्रिकाविरुद्धको खेलमा इतिहास रच्नबाट नजिक पुगेर असफल हुँदा हुने पीडाको अनुभव नेपाली व्रिmकेटर र समर्थकले गरे । उपविजेता बनेको दक्षिण अफ्रिकासँग नेपाल एक रनले स्तब्ध भएको थियो । नेपालले खेल जित्न दुई बलमा दुई रन बनाउन नसकेको हो । सो खेल जितेको भए नेपाल टी–२० विश्वकपमा अहिलेसम्मकै स्तब्धकारी नतिजा निकाल्न सफल हुन्थ्यो । बङ्गलादेशविरुद्धको खेलमा विपक्षीलाई १०६ रनमै रोकेर पनि नेपाल २१ रनले पछि प¥यो । श्रीलङ्काविरुद्धको खेल भने वर्षाका कारण नेपालले खेल्न पाएन ।

ब्याटिङमा नेपालका लागि उल्लेख्य क्षण रहेन । नेपालका लागि सबभन्दा धेरै रन बनाउने आसिफ शेखको ब्याटबाट पनि तीन खेलमा मात्र ६३ रन निस्केको थियो । यद्यपि अमेरिकामा बलिङमैत्री पिच भएकाले ब्याट्सम्यानको प्रदर्शनमा खासै औँला उठाउने ठाउँ पनि छैन । बलिङमा दीपेन्द्रसिंह ऐरीले छ, कुशल भुर्तेलले चार, सोमपाल कामीले तीन, रोहित पौडेल र सन्दीप लामिछानेले दुईरदुई विकेट लिनुभयो । यसपालिको विश्वकपमा नेपाली क्रिकेट समर्थकको चर्चा पनि विश्वभर चुलियो । टेक्सास र फ्लोरिडाको रङ्गशाला रातो र निलो जर्सीले सजिएको थियो तर नेपाली क्रिकेट टिमले विभिन्न स्थानबाट लामो यात्रा तय गरेर डालास र फ्लोरिडा पुगेका नेपाली समर्थकलाई खुसी खुसी घर फर्काउन सकेनन् । वेस्ट इन्डिजमा पनि नेपाली क्रिकेट समर्थकको उल्लेखनीय उपस्थिति रहेको थियो । नेपाली क्रिकेट समर्थक राष्ट्रिय भावनाले ओतप्रोत छन् र विश्वको कुनै पनि कुनामा राष्ट्रिय टिमको खेल हुँदा नेपाली समर्थक त्यहाँ पुग्छ भन्ने सन्देश यस विश्वकपले दिएको छ ।

spot_img

ताजा समाचार

जुम्लामा ४.१ म्याग्निच्युडको भूकम्प

जुम्ला जिल्लाको टाम्टी आसपास केन्द्रबिन्दु भएर बिहीबार बिहान भूकम्प गएको छ। राष्ट्रिय भूकम्प मापन...

महाकाली नदीमा बढ्दो डुबानका घटना न्यूनीकरण गर्न सचेतनामूलक बोर्डहरू राखिए

निलाक्सी चन्द कञ्चनपुर, जेठ ३ गते । पछिल्लो समय कञ्चनपुरस्थित महाकाली नदीमा मानिस डुबेर मृत्यु...

राष्ट्रिय हक्की टोलीमा मिथिला नगरपालिकाका ६ खेलाडी छनोट

काठमाडौँ । नेपाल हक्की सङ्घले घोषणा गरेको राष्ट्रिय महिला तथा पुरुष हक्की टोलीमा धनुषाको...

गृहमन्त्री गुरुङलाई नवलपुरमा कार्यकर्ताको स्वागत

काठमाडौँ । गृहमन्त्री सुधन गुरुङलाई राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) नवलपुरका सभापति नरेश्वर लामिछाने नेतृत्वको...