किवी खेतीमा किसान आकर्षित

Published on

काठमाडौं । डोटीमा किवी फलको खेतीतर्फ किसानको आकर्षण बढ्दै गएको छ । जिल्लाका बिभिन्न स्थानमा कृषकले २८ हेक्टर क्षेत्रफलमा किवी खेती गर्दैआएका छन् । यहाँ ६४ दशमलव ९६ मेट्रिक टन किवी उत्पादन हुनेगर्छ ।

जिल्लाका बडिकेदार गाउँपालिका, जोरायल गाउँपालिका, दिपायल सिलगढी नगरपालिका, बोगटान फुड्सिल गाउँपालिका, आदर्श गाउँपालिका लगायतका स्थानमा किवी खेती गरिदैआएको छ । कृषि ज्ञान केन्द्र डोटीका निमित्त कार्यालय प्रमुख गंगादत्त अवस्थिका अनुसार पछिल्लो समय किवी खेती गर्ने कृषकको संख्या पनि बढ्दै गएको छ । निमित्त कार्यालय प्रमुख अवस्थीले भन्नुभयो, ‘आर्थिक बर्ष २०७८–७९ सम्ममा ९ हेक्टर क्षेत्रफल जमिनमा किवी खेती गरिदै आएकोमा ३५ मेट्रिक टन किवी उत्पादन भएको थियो । यसैगरी आर्थिक बर्ष २०७९–८० मा २१ हेक्टर क्षेत्रफलमा किवी खेती गरिएकोमा ४९ दशमलव ४ मेट्रिक टन किवी उत्पादन भएको थियो । जिल्लामा गत आर्थिक वर्ष २०८०–८१ मा २८ हेक्टर क्षेत्रफल जग्गामा किवी खेती गरिएकोमा ६४ दशमलव ९६ मेट्रिक टन किवी उत्पादन भएको छ ।

किवी खेती गर्नेक्रममा सुरुवाती दिनमा किसानको बढी मेहनत चाहिने कृषकको भनाइ छ । किवी खेतीका लागि किसानहरुले झन्झटिलो मान्ने भए पनि फल उत्पादन हुन थालेपछि दीर्घकालीन फाइदा हुने देखेपछि कृषक खुशी हुन्छन् । ‘परीक्षणका रुपमा नौ बर्ष अघि म एक्लैले गाउँमा किवी खेती गर्दा किवी उत्पादन हुन्छकि हुदैन भन्ने चिन्ता लागेको थियो’ बडिकेदार गाउँपालिका –५ दुदिला गाउँका किवी खेती गर्दै आउनु भएका किसान पदम बोहराले भन्नुभयो, ‘आजभोलि मेरो बारीमा किवी फल राम्रो उत्पादन भइरहेको छ । “सुरुवातका केही बर्ष धेरै मेहनत गर्नु परेको थियो । अन्न र तरकारीभन्दा किवीबाट फाइदा राम्रो हुँदैआएको छ” कृषक बोहराले भन्नुभयो, “एकै पटकमा फल लाग्ने र पाक्ने गर्छ । यो बर्ष ४ क्विन्टल र आगामी बर्ष १० क्विन्टल किवी फल बिक्री गर्ने मेरो लक्ष्य छ ।’

डोटीको भिमदत्त राजमार्ग आसपासका क्षेत्रमा किवी खेती गर्दैआएका किसानलाई छिमेकी मुलुक भारतबाट समेत ब्यापारीहरुले किवी किन्न आइपुग्छन् । भारतका ब्यापारीले डोटीको जोरायल गाउँपालिकामा –१ गैराका कृषक भाष्कर भट्टले ३५ रोपनी जमिनमा किवी खेती गरिदै आएको थाहा भएपछि अघिल्लो बर्ष १० क्विन्टल किवीको माग आएको बताउनुभयो । कृषक भट्टले भन्नुभयो, ‘भर्खरै बोटमा फल्न सुरु भएकाले पुगाउन सकिएन । आगामी दिनमा यस क्षेत्रबाट किवी बिक्रीका लागि भारतीय ब्यापारी पनि हाम्रो सम्पर्कमा नै छन् ।’ पछिल्लो समय जिल्लामा खेतीयोग्य जमिन बाँझो राख्ने चलन बढ्न थालेको छ । अन्नबाली कम फल्ने जमिनमा समेत किवी खेती उत्पादन हुँदैआएको छ । आर्थिक रुपमा समेत अन्नबालीभन्दा फलफूल खेतीबाट किसानले बढी फाइदा लिन थालेका छन् । गत बर्ष किवीको बजार मूल्य २ सयदेखि २५० प्रतिकिलोसम्म रहेको थियो । जिल्लामा ६० जनाभन्दा बढी किसानले किवीखेती गर्दैआएको कृषि ज्ञान केन्द्र डोटीले जनाएको छ । बिमा कम्पनीहरुले पनि किवी खेतीलाई बिमाको दायरामा ल्याउन थालेका छन् । राष्ट्रिय बिमा कम्पनीले देशमा पहिलो पटक डोटीको जोरायल गाउँपालिका –१ गैराका किसान भाष्कर भट्टले गरेको किवी खेतीको बिमा गरेको छ । कृषक भट्टले लगाएको ५ सय बोट किवी फलको २५ लाख रुपियाँ बराबरको कृषि बिमा गरिएको छ । गोरखापत्र

spot_img

ताजा समाचार

‘स्मार्ट हुलाक’ विस्तार, सरकारी कागजात अब घरमै

काठमाडौं । सरकारले हुलाक सेवालाई प्रविधिमैत्री बनाउँदै ‘स्मार्ट हुलाक’ कार्यक्रम प्रभावकारी रूपमा अघि बढाएको...

लुम्बिनीमा मन्त्रालय घटाइयो, अब मुख्यमन्त्रीसहित ९ मन्त्रालय

देउखुरी । लुम्बिनी प्रदेश सरकारले कार्यसम्पादनलाई प्रभावकारी बनाउन मन्त्रालय पुनःसंरचना गर्दै मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को...

सी चिनफिङसँग भेट सुनिश्चित भए मात्रै चीन जाने रविको अडान

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले राष्ट्रपति सी चिनफिङसँग भेट सुनिश्चित...

रास्वपाले बालेन शाहलाई वरिष्ठ नेता मनोनित गर्‍यो

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को केन्द्रीय समितिको बैठकले प्रधानमन्त्री बालेन्द्र (बालेन) शाहलाई...