रुपन्देहीमा लामिछानेको बयान

Published on

काठमाण्डौँ । सहकारी बचत अपचलनबारे अनुसन्धानका लागि भैरहवा ल्याइएका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेको बयान लिइएको छ । विमानबाट पोखरादेखि भैरहवा मङ्गलबार ल्याइएका लामिछानेको रुपन्देही जिल्लाको सरकारी वकिल कार्यालयमा बयान लिइएको हो । पछिल्लो पटक आइतबार कास्की जिल्ला अदालतले लामिछानेलाई थप १३ दिन हिरासत राख्न अनुमति दिएपछि प्रहरीले उहाँलाई रुपन्देही ल्याएको छ । रुपन्देही प्रहरी प्रमुख प्रहरी उपरीक्षक रञ्जितसिंह राठौरले सकेसम्म मङ्गलबार बयान सक्ने तयारी भए पनि पोखराबाट आउँदा ढिला भएकाले समय अपुग भएको बताउनुभयो ।

बयानका लागि जिल्ला सरकारी वकिल कार्यालयले सुप्रिम सहकारीसँग सम्बन्धित करिब ७० वटा प्रश्नावली तयार गरेको थियो । लामिछानेलाई बढीमा तीन दिन मात्र रुपन्देहीमा राख्ने प्रहरीको तयारी छ । सुप्रिम बचत तथा ऋण सहकारी संस्थाको १४ करोड २९ लाख रुपियाँ गोर्खा मिडिया नेटवर्कमा अवैध किसिमले लागिएको संसदीय छानबिन समितिले आफ्नो प्रतिवेदनमा उल्लेख गरेको छ । प्रतिवेदन अनुसार बुटवलस्थित सहकारीबाट एक करोड ९६ लाख लामिछानेको नाममा, दुई करोड ५० लाख छविलाल बन्जाडे जोशीका नाममा र साढे १२ करोड रुपियाँ अन्य व्यक्तिका नाममा गोर्खा मिडिया नेटवर्कमा गएको उल्लेख छ ।

यसैबिच लामिछानेलाई जिल्ला अदालत कास्कीले आइतबार थप १३ दिन थुनामा राखेर अनुसन्धान गर्न अनुमति दिएको थियो । कात्तिक २ गते काठमाडौँबाट पक्राउ परेका लामिछानेलाई पहिलो पटक कात्तिक ४ गते पाँच दिनको म्याद थप गरेको थियो भने पुनः दोस्रो पटक सात र तेस्रो पटक १० दिनको म्याद थप भएको थियो । लामिछानेविरुद्ध कास्की प्रहरीले सहकारी ठगी, सङ्गठित अपराध र सम्पत्ति शुद्धीकरण मुद्दामा अनुसन्धान गरिरहेको छ । प्रहरीले सहकारी ठगी मुद्दामा बढीमा २५ दिन, सङ्गठित अपराधमा बढीमा ६० दिन र सम्पत्ति शुद्धीकरण मुद्दामा बढीमा ९० दिनसम्म हिरासतमा राखेर अनुसन्धान गर्न पाउने कानुनी व्यवस्था रहेको छ ।

प्रतिवेदन कार्यान्वयनका लागि आग्रह

सरकारले सहकारी संस्था बचत रकम दुरुपयोगसम्बन्धी संसदीय छानबिन विशेष समितिको प्रतिवेदन कार्यान्वयनका लागि स्थानीय तहलाई आग्रह गरेको छ । छानबिन समितिले दिएको सुझाव तथा सिफारिस कार्यान्वयन गर्न सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले सबै स्थानीय तहलाई आग्रह गरेको हो । मन्त्रीपरिषद्को गत असोज २ गतेको निर्णय अनुसार उक्त प्रतिवेदनले औँल्याएका सुझाव तथा सिफारिस कार्यान्वयनका लागि भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयलाई पत्राचार गरेको थियो । सामान्य प्रशासन मन्त्रालयले समितिको प्रतिवेदन कार्यान्वयनका लागि ७५३ वटै स्थानीय तहलाई परिपत्र गरेको जनाएको छ । मन्त्रालयका उपसचिव रेशम कँडेलले भूमि मन्त्रालयको पत्राचार अनुसार नै सामान्य प्रशासन मन्त्रालयले प्रतिवेदनको सुझाव तथा सिफारिस कार्यान्वयनका लागि ७५३ वटै स्थानीय तहलाई परिपत्र गरिएको जानकारी दिनुभयो ।

रास्वपाका नेतामाथि मुद्दा दर्ताको आदेश

सर्वोच्च अदालतले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का अधिकांश केन्द्रीय पदाधिकारीमाथि अपहेलना मुद्दा दर्ताको आदेश गरेको छ । सहरजिस्टारको आदेशले दरपीठ भएको मुद्दा दर्ताको आदेश मङ्गलबार भएको हो । न्यायाधीश विनोद शर्माको एकल इजलासले अधिवक्ता अनुपम भट्टराई निवेदक रहेको मुद्दा दर्ताको आदेश गरेको हो । सभापति रवि लामिछाने पक्राउ परेपछि अदालतको न्यायिक कार्यमा अवरोध पुग्ने गरी प्रदर्शन गरेको, आफ्ना अभिव्यक्तिमार्फत अदालतलाई प्रभावमा पार्ने र धम्क्याउने काम गरेको जिकिर मुद्दामा गरिएको छ । यस्तै न्यायाधीशमाथि अप्रमाणित आक्षेप लगाएको दाबी पनि मुद्दामा गरिएको छ । लामिछानेबाहेकका रास्वपाका १९ सांसदमाथि नै अवहेलना दर्ता गरिएको छ । यस्तै बागमती प्रदेश सभापति अच्युतम लामिछानेमाथि पनि मुद्दा दायर भएको छ । दरपीठ आदेश बदर भएसँगै अब मुद्दा दर्ताको प्रक्रिया अघि बढ्ने छ ।

spot_img

ताजा समाचार

जुम्लामा ४.१ म्याग्निच्युडको भूकम्प

जुम्ला जिल्लाको टाम्टी आसपास केन्द्रबिन्दु भएर बिहीबार बिहान भूकम्प गएको छ। राष्ट्रिय भूकम्प मापन...

महाकाली नदीमा बढ्दो डुबानका घटना न्यूनीकरण गर्न सचेतनामूलक बोर्डहरू राखिए

निलाक्सी चन्द कञ्चनपुर, जेठ ३ गते । पछिल्लो समय कञ्चनपुरस्थित महाकाली नदीमा मानिस डुबेर मृत्यु...

राष्ट्रिय हक्की टोलीमा मिथिला नगरपालिकाका ६ खेलाडी छनोट

काठमाडौँ । नेपाल हक्की सङ्घले घोषणा गरेको राष्ट्रिय महिला तथा पुरुष हक्की टोलीमा धनुषाको...

गृहमन्त्री गुरुङलाई नवलपुरमा कार्यकर्ताको स्वागत

काठमाडौँ । गृहमन्त्री सुधन गुरुङलाई राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) नवलपुरका सभापति नरेश्वर लामिछाने नेतृत्वको...