कानुन निर्माण ढिलाइमा मन्त्रीकै असन्तुष्टि

Published on

काठमाण्डौँ । सरकार र संसद्बाट कानुन निर्माण प्रक्रियामा भइरहेको ढिलाइमा बहालवाला मन्त्रीले नै असन्तुष्टि जनाउनुभएको छ । प्रतिनिधि सभाको राज्य व्यवस्था तथा सुशासन समितिमा गृहमन्त्री रमेश लेखकले सरकार र संसद् दुवै पक्षबाट कानुन निर्माण प्रक्रियामा ढिलाइ भएको बताउनुभएको हो । मन्त्री लेखकले सरकारले समयमा विधेयक संसद्मा नलैजाने र संसद्ले निष्कर्षमा पुर्‍याउन झनै ढिला गर्ने गरेको बताउनुभयो । विधायिकी चरणको अहिलेको व्यवस्थालाई समयसीमामा बाँध्न आवश्यक रहेको राय पनि लेखकले समितिमा दिनुभयो । पछिल्लो समय संसदीय समितिका प्राथमिकतामा विधेयकका छलफल पर्न सकेका छैनन् । पाँच वर्षभन्दा पुराना विधेयकसमेत थन्किएका छन् । पाँच वर्षदेखि संसदीय प्रक्रियामा रहेको अख्तियार दुरुपयोग अनुसन्धान आयोग ऐन संशोधन विधेयकको छलफलमा उपस्थित हुनुभएका मन्त्री लेखकले विधायिकी प्रक्रियालाई समयसीमामा बाँध्न आवश्यक रहेको राय पनि दिनुभयो ।

उहाँले भन्नुभयो, “यसमा दुवै पक्ष छन् । नेपाल सरकारले आवश्यक विधेयक समयमा संसद्मा पुर्‍याउन पनि ढिला भएको छ । संसद्मा पुगेको विधेयक कानुनका रूपमा निष्कर्षमा पुग्न झनै ढिला भएको छ । यो विधेयक २०७६ सालको विधेयक हो, २०८१ मा छलफल गरिरहेका छौँ । यसमा जवाफ दिनु पर्छ कि पर्दैन ? त्यो पनि भ्रष्टाचार नियन्त्रण गर्ने संस्था अख्तियार दुरुपयोग अनुसन्धान अयोगको विधेयक हो यो ।” मन्त्री लेखकले संसद्मा विधेयक प्रवेश गरेपछि सबै चरणलाई समयमा बाँध्न आवश्यक भएको पनि बताउनुभयो । अहिले विधेयक दर्तापछि परिपक्व हुन लाग्ने समय, संशोधन दर्ताको अवधि तोकिए जस्तै सैद्धान्तिक छलफल, दफावार छलफल र समितिमा हुने छलफलको समय पनि तोक्नुपर्ने उहाँको भनाइ छ । तोकिएको अवधिमा समितिले विधेयक छलफल गरी टुङ्गो नलगाए फिर्ता हुने व्यवस्था राख्नुपर्ने मन्त्री लेखकले बताउनुभयो ।

उहाँले भन्नुभयो, “यसका लागि दुई सदनको नियमावली संशोधनका लागि समिति बनाउन सकिन्छ । विधायिकी चरणलाई समयमा बाँध्ने काम गरौँ । कति दिन लाग्छ ? ६०, ९०, १४० कति लाग्छ ? यदि त्यो अवधिमा विधेयक फिर्ता नभए जुन रूपमा समितिमा आएको छ, त्यस्तै फिर्ता गरौँ ।” उहाँले सङ्घीयतासँग जोडिएको निजामती सेवा विधेयक, विद्यालय शिक्षालगायतका विधेयक लामो समयदेखि रोकिएको स्मरण गराउनुभयो । अख्तियार र भ्रष्टाचार निवारणसम्बन्धी विधेयक लामो समयदेखि छलफलकै क्रममा रहेको स्मरण पनि मन्त्री लेखकले समितिमा गराउनुभयो । निजामती सेवा राज्य व्यवस्थामै विचाराधीन छ । विद्यालय शिक्षा, शिक्षा स्वास्थ्य तथा सूचना प्रविधि समितिमा विचाराधीन छ ।

कुन समितिमा कति विधेयक ?

प्रतिनिधि सभाका पाँच समितिमा १५ विधेयक विचाराधीन छन् । सबैभन्दा बढी अर्थ समितिमा पाँच विधेयक छन् । अर्थमा भन्सार विधेयक, बैङ्क तथा वित्तीय संस्थासम्बन्धी (पहिलो संशोधन) विधेयक, सुरक्षित कारोबार (पहिलो संशोधन) विधेयक, धितोपत्रसम्बन्धी (पहिलो संशोधन) विधेयक र आर्थिक कार्यविधि तथा वित्तीय उत्तरदायित्व विधेयक विचाराधीन छन् । यस्तै उद्योग समितिमा विद्युतीय व्यापार विधेयक विचाराधीन छ । यस्तै कानुन समितिमा केही नेपाल ऐन संशोधन गर्न बनेको विधेयक विचाराधीन छ । राज्य व्यवस्थामा अख्तियार दुरुपयोग अनुसन्धान आयोग (तेस्रो संशोधन) विधेयक, निर्माणमुखी सामग्री (व्यवस्थापन तथा नियमन) विधेयक, भ्रष्टाचार निवारण (पहिलो संशोधन) विधेयक र सङ्घीय निजामती सेवा विधेयक विचाराधीन छन् । अख्तियार र भ्रष्टाचार निवारणसम्बन्धी दुवै विधेयक उपसमितिमा पठाइएका छन् ।

यस्तै पूर्वाधार र शिक्षा समितिमा दुई/दुई विधेयक विचाराधीन छन् । पूर्वाधारमा विद्युत् विधेयक र जलस्रोत विधेयक विचाराधीन छन् । विद्यालय शिक्षा र सहिद दशरथचन्द स्वास्थ्य विज्ञान विश्वविद्यालय विधेयक शिक्षा समितिमा विचाराधीन छन् । राष्ट्रिय सभाको विधायन व्यवस्थापन समितिमा अहिले चार विधेयक छन्, जसमध्ये एक विधेयकको प्रतिवेदन तयार भई सभामा पेस गर्ने क्रममा छ । मिडिया काउन्सिल विधेयकको प्रतिवेदन तयार भइसकेको छ । नवीकरणीय ऊर्जा तथा ऊर्जा दक्षतासम्बन्धी विधेयक, तिलगङ्गा नेत्र विश्वविद्यालय विधेयक र कानुन व्यवसायी परिषद् (दोस्रो संशोध) विधेयक माथिल्लो सदनको समितिमा छन् ।

spot_img

ताजा समाचार

जुम्लामा ४.१ म्याग्निच्युडको भूकम्प

जुम्ला जिल्लाको टाम्टी आसपास केन्द्रबिन्दु भएर बिहीबार बिहान भूकम्प गएको छ। राष्ट्रिय भूकम्प मापन...

महाकाली नदीमा बढ्दो डुबानका घटना न्यूनीकरण गर्न सचेतनामूलक बोर्डहरू राखिए

निलाक्सी चन्द कञ्चनपुर, जेठ ३ गते । पछिल्लो समय कञ्चनपुरस्थित महाकाली नदीमा मानिस डुबेर मृत्यु...

राष्ट्रिय हक्की टोलीमा मिथिला नगरपालिकाका ६ खेलाडी छनोट

काठमाडौँ । नेपाल हक्की सङ्घले घोषणा गरेको राष्ट्रिय महिला तथा पुरुष हक्की टोलीमा धनुषाको...

गृहमन्त्री गुरुङलाई नवलपुरमा कार्यकर्ताको स्वागत

काठमाडौँ । गृहमन्त्री सुधन गुरुङलाई राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) नवलपुरका सभापति नरेश्वर लामिछाने नेतृत्वको...