किशोरीहरुले मुख्यमन्त्रीलाई सुनाए पुथाउत्तरगङ्गाको समस्या

Published on

काठमाडौँ । रुकुम पूर्व पुथा उत्तरगङ्गा गाउँपालिकाका किशोरीहरुले लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यलाई भेट गर्दै समुदायका समस्या सुनाएका छन् । सोमवार मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय राप्ती उपत्यका देउखुरीमा भेट गर्दै किशोरीले गाउँ समाजमा आफूहरुले भोगिरहेका समस्या मुख्यमन्त्री आचार्यलाई सुनाएका हुन् । उनीहरुले उज्ज्वल भविष्य र बलियो अभियान सञ्चालनका लागि १७ बुँदे मागपत्र मुख्यमन्त्री आचार्यलाई पेश गरेका हुन् । मुख्यमन्त्री आचार्यले किशोरीहरुले राखेका समस्यालाई प्रदेश सरकारले सम्वोधन गर्ने प्रतिबद्धता जनाउनुभएको छ । किशोरीहरुले थालेको अभियानमा प्रदेश सरकारले साथ दिने बताउँदै उहाँले किशोर किशोरीहरुको स्वास्थ्य, शिक्षालगायत मनोसामाजिक क्षेत्रमा सहयोग पुग्नेगरी कार्यक्रम बनाएको जानकारी दिनुभयो । समुदाय केन्द्रित जनजागरण अभियानलाई तीव्रता दिन, त्यस अभियानमा किशोर किशोरीको सहभागिता सुनिश्चित गरिने पनि बताउनुभयो ।

‘तपाईंहरुले उठाएका मागहरु प्रदेश सरकारले सुन्छ । बालविवाह मुक्त प्रदेश बनाउने अभियानमा यहाँहरुको साथ सहयोग चाहिन्छ’ उहाँले भन्नुभयो, ‘बनेका नीति, नियम तथा कानुनहरुको कार्यान्वयन गर्न सरकार प्रतिबद्ध छ ।’ बालविवाहको समस्या समाधान गर्न जनजागरणको अभियानलाई तीव्र पार्नुपर्ने बताउनुभयो । नीगित रुपमा प्रदेश सरकारले सम्बोधन गरेको र छुटेका विषयलाई आगामी दिनमा सम्वोधन गरिने पनि बताउनुभयो । पुथा उत्तरगङ्गामा विकास र समृद्धि कायम गर्न प्रदेश सरकारले प्राथमिकतामा राखेको बताउनुभयो । ‘त्यस क्षेत्रको विकास नगरेसम्म समग्र लुम्बिनी प्रदेशको विकास हुन सक्दैन भन्ने कुरामा प्रदेश सरकार जानकार छ’ उहाँले भन्नुभयो, ‘पुथाउत्तरगङ्गादेखि मर्चवारसम्मलाई माथि उठाउन सक्यौं भने प्रदेशको समग्र विकास भएको मानिने छ । यस दिशामा सरकार अघि बढेको छ ।’ भूगोलबाट पछाडि परेको, जनचेतनाको अभावले पनि पछाडि परेका क्षेत्रको पहिचान गरेर प्रदेश सरकारले काम गर्ने जानकारी दिनुभयो ।

समुदायमा अझैं पनि जातीय छुवाछूत, दाइजो प्रथा, बोक्सीको आरोप लगाउने, छोट्टी बस्ने, बहुविवाह गर्नेजस्ता समाजिक र सांस्कृतिक परम्पराको नाममा हुने हिंसा अन्त्यका लागि प्रदेश सरकारले भूमिका बढाउनुपर्ने किशोरीहरुले माग राखेका छन् । पुथा उत्तरगङ्गाका बालबालिका र विशेषगरी युवाहरुमा लागू औषधको प्रयोग र मदिरा सेवन बढिरहेको भन्दै यसले घरेलु हिंसा, यौन दुर्व्यवहार र छोट्टी बस्नेजस्ता सामाजिक अपराधहरु पनि बढाउने भएकाले समस्या समाधानका लागि बृहत जनचेतनामूलक अभियान चलाउन माग राखिएको छ । स्वास्थ्य चौकीको स्थापना र सहज उपचारसेवादेखि खेलक्षेत्रको विकासका लागि खेलकुद मैदान, खेल सामग्रीको व्यवस्था गर्न माग राखेका छन् । घर र विद्यालयमा स्वच्छ खानेपानीको व्यवस्था गर्नुपर्ने, बालबालिका र ज्येष्ठ नागरिकलाई सामाजिक सुरक्षा भत्ताको व्यवस्था भए पनि त्यो भत्ता समयमा आइनपुग्ने, महिला, बालबालिका, एकल महिला, अपाङ्गता भएका व्यक्ति, ज्येष्ठ नागरिक, यौनिक तथा लैङ्गिक अल्पसङ्ख्यक र अति विपन्नलाई सहज तरिकाले मासिक भत्ता लिने व्यवस्था मिलाउनुपर्ने माग राखिएको छ । मुख्यमन्त्रीलाई समस्या सुनाउन किशोरी सञ्जालमा आबद्ध स्मृति सेन, प्रतिमा पुन, आरती घर्ती, समृद्धि बुढा, सुप्रिया घर्तीलगायत आउनुभएको थियो । गोरखापत्र

spot_img

ताजा समाचार

जुम्लामा ४.१ म्याग्निच्युडको भूकम्प

जुम्ला जिल्लाको टाम्टी आसपास केन्द्रबिन्दु भएर बिहीबार बिहान भूकम्प गएको छ। राष्ट्रिय भूकम्प मापन...

महाकाली नदीमा बढ्दो डुबानका घटना न्यूनीकरण गर्न सचेतनामूलक बोर्डहरू राखिए

निलाक्सी चन्द कञ्चनपुर, जेठ ३ गते । पछिल्लो समय कञ्चनपुरस्थित महाकाली नदीमा मानिस डुबेर मृत्यु...

राष्ट्रिय हक्की टोलीमा मिथिला नगरपालिकाका ६ खेलाडी छनोट

काठमाडौँ । नेपाल हक्की सङ्घले घोषणा गरेको राष्ट्रिय महिला तथा पुरुष हक्की टोलीमा धनुषाको...

गृहमन्त्री गुरुङलाई नवलपुरमा कार्यकर्ताको स्वागत

काठमाडौँ । गृहमन्त्री सुधन गुरुङलाई राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) नवलपुरका सभापति नरेश्वर लामिछाने नेतृत्वको...