रैथाने उत्पादन बढाउने प्रदेश सरकारको योजना

Published on

काठमाडौँ । कर्णाली प्रदेश सरकारले कृषि पर्यटन प्रवर्धन कार्यक्रमलाई प्रभावकारी बनाउने भएको छ । चालु आर्थिक वर्षको नीति तथा कार्यक्रम र बजेटमा समेटेर कार्यक्रम प्रभावकारी बनाउन लागेको हो । प्रदेशमा उत्पादित रैथाने उत्पादनको प्रवर्धन र उत्पादनमा जोड दिन कार्यक्रम कार्यान्वयन गर्न लागिएको हो । उत्पादित दाल, मह, स्याउ, ओखरलगायतका रैथाने बाली सजिलै उत्पादन स्थलमा अवलोकन गर्ने र कोसेलीघरबाट खरिद गरी लैजान पाउने व्यवस्था गरिने छ । जिल्ला जिल्लाका कृषि विकास कार्यालयले कार्यक्रम कार्यान्वयन गरिरहेका छन् ।

आव २०७९/८० बाट कार्यक्रम सुरु गरिएको हो । उक्त कार्यक्रम अन्तर्गत कोसेलीघर निर्माण, मेला सञ्चालन गर्ने र स्थानीय उत्पादनलाई जोड दिने गरिएको प्रदेश सरकारले जनाएको छ । आव २०८०/८१ मा पनि उक्त कार्यक्रम कार्यान्वयन गरिएको थियो । चालु आवमा नीतिमा समेटेर कार्यक्रम कार्यान्वयन गर्न लागिएको हो । यो वर्षदेखि कार्यक्रमलाई प्रभावकारी रूपमा कार्यान्वयन गरिने भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयले जनाएको छ । १० वटै जिल्लाबाट यो वर्ष कार्यक्रम कार्यान्वयनका लागि प्रस्ताव पेस भएको मन्त्रालयका प्रवक्ता धनबहादुर कठायतले बताउनुभयो । उहाँका अनुसार चालु आवबाट कार्यक्रमलाई प्रभावकारी रूपमा कार्यान्वयन गर्न लागिएको हो ।

अघिल्ला वर्षहरूमा पर्यटन प्रवर्धनका लागि आवश्यक पूर्वाधार निर्माण गरिएको थियो । यो वर्ष जिल्लामा उत्पादन हुने वस्तुको बजारीकरण र प्रवर्धनका कार्यक्रम गरिने भएको छ । जिल्ला जिल्लामा मेला, महोत्सवको आयोजना गरिने छ । चालु आवमा प्रदेश सरकारले नयाँ मोडालिटीमा कार्यक्रम कार्यान्वयनको योजना बनाएको छ ।

पालिकापिच्छे किसान पाठशाला

प्रदेश सरकारले यो वर्ष किसान पाठशाला सञ्चालन गर्ने भएको छ । सरकारले कर्णालीका सबै स्थानीय तहमा किसान पाठशाला सञ्चालन गर्ने भएको हो । स्थानीयस्तरमा गुणस्तरीय प्राङ्गारिक मल उत्पादनको प्रविधि प्रसारका लागि ‘एक पालिका, एक किसान पाठशाला’ सञ्चालन गरिने मन्त्रालयका प्रवक्ता कठायतले जानकारी दिनुभयो । किसानको पहुँच अभिवृद्धि गर्न प्राङ्गारिक मल तथा जैविक विषादी उत्पादन, ढुवानी तथा बिक्री मूल्यमा अनुदान दिने नीति सरकारको छ । किसानलाई कार्यस्थलमा प्राविधिक सहयोग उपलब्ध गराउन घुम्ती कृषि प्राविधिक सहयोग सञ्चालन गर्ने कार्यक्रम अघि सारेको सरकारले प्रदेश प्रवेश गर्ने प्रमुख नाका बबईमा कृषि क्वारेन्टाइन राख्ने छ ।

बिमा योजना

सरकारले कृषि, पशु र जडीबुटी बिमा कार्यक्रमलाई प्रभावकारी बनाउन लागेको छ । प्राकृतिक प्रकोपबाट कृषि बाली र पशु चौपायामा हुने क्षतिको जोखिम न्यूनीकरण गरी युवाको कृषि तथा पशुपालन व्यवसायमा आकर्षण बढाउन बिमा कार्यक्रमलाई प्रभावकारी बनाउन लागिएको मन्त्रालयले जनाएको छ । ‘अर्गानिक कृषिमा वृद्धि, कर्णालीको समृद्धि’ को आकर्षक नारासहित सुरु गरिएको कर्णालीको अर्गानिक कृषि अभियानलाई सफल बनाउन कृषि पर्यटन प्रवर्धन कार्यक्रम सञ्चालन गर्ने सरकारको नीति छ ।

यस्तै सरकारले कर्णाली प्रदेशभर उत्पादित खाद्यान्नलगायतका वस्तुको सूची तयार गर्ने छ । सरकारको नीति तथा कार्यक्रममा रैथाने बाली तथा स्थानीय उत्पादनको प्रवर्धन र बजारीकरणमा सहयोग पुर्‍याउन प्रदेश सरकारको आयोजनामा हुने कार्यक्रममा प्रदेशबाट उत्पादित खाद्यान्न तथा अन्य वस्तुको सूची तयार गरी त्यस्तो उत्पादनलाई अनिवार्य प्रयोगमा ल्याउने जनाइएको छ ।

चालु आवमा प्रदेश सरकारले किसानलक्षित कार्यक्रम सञ्चालन गर्ने जनाएको हो । केही नयाँ कार्यक्रमका रूपमा राखिएको छ भने केही पुराना कार्यक्रमलाई समेत नयाँ ढाँचामा सञ्चालन गर्न लागिएको हो । कर्णालीमा कृषिमै आश्रित सङ्ख्या ठुलै छ । उत्पादनमा भने आत्मनिर्भर हुनसकेको छैन । सरकारी तथ्याङ्ककै आधारमा कर्णालीका ३० प्रतिशत घरपरिवार मात्रै आफ्नै उत्पादनमा आत्मनिर्भर छन् ।

spot_img

ताजा समाचार

सुक्खा पहिरो खसेर मेची राजमार्ग अवरुद्ध

काठमाडौँ । ताप्लेजुङको फुङ्लिङ नगरपालिका–८ दोखुस्थित खोक्से खोला–ल्याङ्बा सडकखण्डमा सुक्खा पहिरो खसेर मेची राममार्ग...

अर्थमन्त्री वाग्लेद्वारा पदभार ग्रहणः १५ वटा ऐन र राजस्व अनुसन्धान विभाग खारेज प्रक्रिया अघि बढाउने निर्णय

काठमाडौँ । नवनियुक्त अर्थमन्त्री डा स्वार्णिम वाग्लेले पदभार ग्रहण गर्नुभएको छ । राष्ट्रपति रामचन्द्र...

सञ्चारमन्त्री डा. तिमल्सिनाद्वारा पदभार ग्रहण

काठमाडौँ । नुवाकोट–१ बाट निर्वाचित सांसद डा. विक्रम तिमल्सिना सञ्चार तथा सूचना प्रविधि मन्त्रीमा...

प्रधानमन्त्री शाहलाई भारतीय समकक्षी मोदीको बधाई

काठमाडौँ । नेपालका नवनियुक्त प्रधानमन्त्री बालेन्द्र शाह (बालेन)लाई भारतका प्रधानमन्त्री नरेन्द्र मोदी बधाई दिनुभएको...