बजेट अभावले सोचे जस्तो काम गर्न सकिएको छैन

Published on

सबैभन्दा नजिकको सरकारका रूपमा रहेको स्थानीय सरकारबाट जनतामा धेरै अपेक्षा रहेको पाइन्छ । घरदैलोमै भेटिने भएकाले पनि स्थानीय सरकारसित जनताका अपेक्षा धेरै हुने गरेका छन् । पछिल्लो पटकको निर्वाचित भएका जनप्रतिनिधिले कार्यभार सम्हालेको पनि २ वर्ष बढि भएको छ । कतिपय स्थानीय सरकारबिच कामका विषयमा प्रतिस्पर्धा पनि भएको पाइन्छ । सधै भेटिने भएकाले जनताले स्थानीय सरकारका हरेक गतिविधि नजिकबाट नियालिरहेका हुन्छन् । संविधानले स्थानीय तहलाई अधिकार दिए पनि बजेट अभावले कार्य गर्न समस्या भइरहेको बेल्डाँडी गाँउपालिका वडा नम्वर ३ का वडाध्यक्ष दुर्गाप्रसाद चौधरी बताउँछन् । आन्तरिक स्रोतको कमी र पालिकाको तर्फबाट कम बजेट पाउँदा नागरिकका आकांक्षा पूरा गर्न निकै गाह्रो परेको चौधरीको अनुभव छ । वडा सञ्चालन गर्दा हालसम्मको अनुभव, वडाको दायित्व, चुनौती र अवसरलगायतका विषयमा केन्द्रित रहेर वडाध्यक्ष दुर्गाप्रसाद चौधरीसित एएनएनकर्मी अरुण चौधरीले गरेको कुराकानीको सार :

तपाईको वडाध्यक्षको पदमा बसेर काम गर्न थालेको यो दोस्रो कार्यकाल हो । यस बिच के–के योजनाहरु तपाईंले सफल पार्नुभयो ? कुन–कुन योजना अहिले कार्यान्व्यनमा छन् ?
सबैभन्दा ठूलो समस्या बाटोघाटो नहुँदा हुन्छ । त्यसैले गाउँमा भएको सबै बाटोको ट्रयाक खोल्यौँ । अधिकांश बाटोमा ग्राभेल पर्‍यो । कमरी, खैरीघाट, बैबाहा र गड्डालाई जोड्ने बाटोमा ग्राभेल पर्‍यो । त्यसैगरी सिमलडाँडीमा ठूलो पक्की पुलको निर्माण भयो । जसले गर्दा बैबाहा र खैरीघाटबासीलाई आवतजावत गर्न सजिलो भयो । वडामा खानेपानीको अभाव थियो । पानी टंकी बन्दा घर–घरमा खानेपानीको धारा पुग्यो । साथै अहिले स्वास्थ्य भवनको पनि निर्माण भएको छ । पहिला वडा कार्यालय भाँडामा थियो । अहिले आफ्नै जग्गामा छ । सँगसँगै ऐलानी जग्गाको पनि नाप नक्सा भएको छ ।
त्यस्तै अहिले कमरी पुल पनि बन्दै छ र शिवनगरको महाकाली सुगर मिल देखि खैरीघाट चौराहा हुँदै सिमलडाँडी–पिर्थीपुरुवा–अग्लीपट्टी–बिचपट्टी–दुर्गा चौराहा हुँदै वडा नं. ४ को चौराहासम्म प्रत्येक वर्ष २ देखि २.५ करोडको योजनामा आरसिसी रोड बन्दै छ ।

शिक्षा, स्वास्थ्य र कृषि क्षेत्रलाई कसरी व्यवस्थापन गर्नु भएको छ ?
शिक्षाको क्षेत्रमा गाउँपालिका स्तरबाटै कक्षा १ देखि १० सम्म निःशुल्क पढाइ हुने घोषणा भइसकेको छ र कार्यान्व्यनमा पनि आइसकेको छ । प्रावि, निमावि र मावि तिनवटै तहमा दरबन्दी मिलान क्रम पनि जारी नै छ । अहिले साना भाइबहिनीहरु कुलतमा फसेर विद्यालय छोड्ने गरेका छन् । तिनीहरुका लागि लागू पदार्थ दुर्व्यसन सम्बन्धी कार्यक्रम पनि बेला बेला भइरहेको छ । अनि प्रत्येक विद्यालयको भौतिक पूर्वाधारलाई एकदमै व्यवस्थित गर्दै अघि लग्दै छौँ । वडामा स्वास्थ्य भवन निर्माण गरी काम गर्ने कर्मचारी समेत ल्याइसकेका छौँ । सुत्केरी महिला देखि लिएर ५ वर्षसम्मका बालबालिकालाई खोप लगाउने कार्यक्रम पनि ल्याइसकेका छौँ । त्यस्तै दादुराको खोप लगाउने कार्यक्रम पनि पूरा हुँदै छ । अनि यस्ता थुप्रै कार्यक्रमहरु पुरा हुँदै जाने छन् ।

कृषि क्षेत्रमा भन्नु पर्दा प्रत्येक वर्ष साना सिंचाईको नाममा ४/६ कार्यक्रम भइरहन्छन् । त्यस्तै ५०% अनुदानमा बिऊबिजन, तरकारी, अन्नबाली पनि वितरण भइरहन्छ । कृषक व्यवसायीहरुका लागि प्रत्येक वर्ष प्रोत्साहन कार्यक्रम र तालिम भइरहन्छन् जसले गर्दा कृषकको मनोबल टुट्न पाउँदैन र कृषि पेसाप्रति उत्साहित हुन्छन् ।
त्यस्तै लक्षित कार्यक्रममा महिला, एकल महिला, दलित, बालबालिका, अपाङ्ग जस्ता व्यक्तिहरुका लागि पनि अनेक किसिमको शिर्षक अनुसारका कार्यक्रमहरु हुन्छन् । जनचेतनामूक कार्यक्रम, सचेतनामूलक कार्यक्रम, आयतमूलक कार्यक्रम जस्ता लक्षित कार्यक्रमहरुले लगातार निरन्तरता पाइरहेका छन् ।

वडाध्यक्षको पदमा बसेर काम गर्दा अवसर, अनुभव र चुनौतीहरु के–के आए ?
दुई कार्यकाल काम गर्ने मौका पाउनु भनेको आफैमा एउटा ठूलो अवसर हो । जनताकै माया र ममता पाएर वडाध्यक्षको पदमा बसेर दुई कार्यकालसम्म काम गर्दै छु । साथै यो दौरानमा धेरै ठाउँमा घुम्ने मौका पनि मिल्यो । अनि ठूल्ठूला मानिसहरुसँग चिनजान पनि भयो ।
एउटा सम्मानित पदमा बसेर कुन शैलीमा कहाँनेर के, कसरी र कति बोल्नु पर्छ भन्ने जानियो । त्यसैगरी वडाध्यक्षको हकमा ३५/३६ वटा हस्ताक्षेर गर्ने अधिकार दिइएको हुन्छ । त्यसबाट नेपालको कानुन सम्बन्धी धेरै कुरा बुझियो र स्थानीय सरकार ऐन सम्बन्धी पनि प्रसस्त कुराहरु थाहा भयो ।

जीवनमा के के प्रशासनिक काम गर्नु पर्छ र कसरी अगाडि जानु पर्छ भन्ने कुराको अनुभव भयो । समाजमा बस्नु देखि लिएर लाउने, खाने, बोल्ने अनि कुन बाटोमा हिँड्दा राम्रो हुन्छ जस्ता यावत कुराहरुको अनुभव भयो । काम गर्दै गर्दा मनोबल पनि बढ्यो । अनि व्यक्तिगत क्षमतामा पनि वृद्धि भयो ।

जनताको अपेक्षा ज्यादा तर सरकारको बजेट कम आउनाले अप्ठ्यारो हुन्छ । अब पालिकाको पनि आयस्रोत केही छैन । जनताको अपेक्षाको अगाडि सरकारको बजेट न्यून हुनाले अति नै गुनासो सुन्नु पर्ने हुन्छ । जति पनि बजेट आयो त्यो सब नेताले खायो भनेर सुनिन्छ । उता भने सरकारको नीति चाँहि बजेटलाई सबै कार्यक्रममा छुवाउनै पर्ने हुन्छ । टोटल बजेटको ३३% लक्षित कार्यक्रममा र बाँकी शिक्षा, स्वास्थ्य, कृषि, भेटनरी, भौतिक पूर्वाधारमा हाल्दा बाँकी केही रहँदैन । जनताले भने बाटो निर्माण गरेको र पोलमा बत्ती जडान गरेको मात्र देख्छन् । यदि त्यो समयमा जनतालाई सम्झाउन सकिएन भने गुनासो स्वतः नै आउँछ ।

जनताका समस्याहरु कस्ता खालका हुन्छन् ? ती समस्याहरुलाई कसरी समाधान गर्न सकिन्छ ?
प्रत्येक व्यक्तिका आ–आफ्नै समस्या र स्वार्थ हुन्छ । कसैले मेरो घर अगाडि होमपाइप हाल्दिनुस् भन्छ । कसैले मेरो छोरालाई नौकरी लगाई दिनुस् भन्छ । कसैले यहाँनेर बत्ती भएन बत्ती लगाउनुस् भन्छ । प्रत्येकको आफ्नो स्वार्थ हुन्छ । अब सबैका इच्छा पूरा गर्न सकिदैन र त्यो सम्भव पनि छैन । समग्र रुपमा गाउँ समाजको विकास हेरिन्छ । सबै जनतालाई शिक्षित दिक्षित बनाउने सक्दो प्रयास गरिन्छ । र गाउँको मूल समस्या के हो त्यसको अध्ययन अनुसन्धान गरेर त्यसलाई जरैबाट उखेल्ने कोसिसमा छौँ हामी ।

तपाईंको कार्यकालको बाँकी आगामी योजना के छ ?
मेरो वडाभित्र सबैभन्दा बढी जग्गा ऐलानी छ । यसलाई कसरी कम भन्दा कम कर र राजस्वमा स्लोप तरिकाले जनतालाई पूर्जा दिने मेरो प्रथम योजना हो । यसलाई मैले आफ्नो प्रमुख लक्ष मानेको छु । यो पूरा गर्न सके भने म आभारी हुन सक्छु भन्ने लाग्छ । ऐलानी जग्गामा बसोबास गर्ने सुकुम्बासीलाई उनीहरुको जमिनको पूर्जा दिएर उनीहरुलाई छिटो भन्दा छिटो जमिनको मालिक बनाउन सके आफूले आफैलाई नै धन्यवाद दिने थिएँ भन्ने मेरो चाहाना हो । अनि शिक्षा र स्वास्थ्यको क्षेत्रलाई सुधार गरेर पूर्वतिरको जस्तो शिक्षित र सभ्य समाज बनाउने र बनेको देख्न चाहने लक्ष्य राखेको छु । बाँकी गाउँ समाज विकास हुने कुरा त भइरहने विषय हुन् ।

spot_img

ताजा समाचार

जुम्लामा ४.१ म्याग्निच्युडको भूकम्प

जुम्ला जिल्लाको टाम्टी आसपास केन्द्रबिन्दु भएर बिहीबार बिहान भूकम्प गएको छ। राष्ट्रिय भूकम्प मापन...

महाकाली नदीमा बढ्दो डुबानका घटना न्यूनीकरण गर्न सचेतनामूलक बोर्डहरू राखिए

निलाक्सी चन्द कञ्चनपुर, जेठ ३ गते । पछिल्लो समय कञ्चनपुरस्थित महाकाली नदीमा मानिस डुबेर मृत्यु...

राष्ट्रिय हक्की टोलीमा मिथिला नगरपालिकाका ६ खेलाडी छनोट

काठमाडौँ । नेपाल हक्की सङ्घले घोषणा गरेको राष्ट्रिय महिला तथा पुरुष हक्की टोलीमा धनुषाको...

गृहमन्त्री गुरुङलाई नवलपुरमा कार्यकर्ताको स्वागत

काठमाडौँ । गृहमन्त्री सुधन गुरुङलाई राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) नवलपुरका सभापति नरेश्वर लामिछाने नेतृत्वको...