आमाछोराद्वारा भडाहा र हुड्कोको प्रस्तुति

Published on

काठमाडौँ । अरू दिन नियमित पठनपाठन हुने वीरेन्द्र माध्यमिक विद्यालयमा सोमबार बेग्लै माहोल थियो । ७० वर्षीय वृद्धा शारदा दमाईं भडाहा सुनाउन मञ्चमा प्रकट हुँदा उहाँका छोरा गणेश दमाईंले हुड्को बजाएर साथ दिनुभएको थियो । हुड्कोको लय र ताल कतै लिपिबद्ध नहुँदा नयाँ पिँढीका मानिसलाई हुड्को बजाउन आउँदैन । यही कारण ७० वर्षीय जानकार वृद्धा शारदा दमाईं र उहाँका छोरा गणेशलाई वार्षिकोत्सवका अवसर पारी विद्यालयमा बोलाइएको थियो ।

स्थानीय पाठ्यक्रममा हुड्कोको चित्र समावेश गरिए पनि कतिपय विद्यार्थीले हुड्कोको आवाज र भडाहाको गाथा पहिलो पटक सुनेका थिए । भडाहा गाउँदै नाचिने हुड्केउली नाच छलियाभन्दा पुरानो नाच हो । वीर रसमा अधारित भडाहामा ‘पाइक’ (वीर) हरूको लडाइँ कौशललाई शारदा दमाईंले पृथ्वीनारायण शाहकालीन भाषामा वर्णन गर्नुभयो ।

वार्षिकोत्वसका अवसरमा १० दिनदेखि विज्ञान प्रदर्शनीमा जुटेका १४/१५ वर्षका कलिला विद्यार्थीले विद्यालयको प्राङ्गणमा पहिलो पटक हुड्कोको तालमा भडाहा सुन्न पाउँदा बेग्लै रौनक सिर्जना भएको कक्षा १० का विद्यार्थी आदर्श पन्तले सुनाउनुभयो । भडाहाको भाषा भने नबुझेको अधिकांश विद्यार्थीले बताएका छन् । जिल्ला सदरमुकामको दशरथ चन्द नगरपालिका–४, शाहीलेकस्थित वीरेन्द्र माध्यमिक विद्यालयको ७१ औँ वार्षिकोत्सवका अवसरमा ज्ञान, विज्ञान र कला संस्कृति प्रदर्शन गरिएको प्रधानाध्यापक हर्कबहादुर चन्दले बताउनुभयो । उहाँले भन्नुभयो, “सिकाइ आदानप्रदान गर्न एउटै मञ्चमा विज्ञान प्रदर्शनी र हुड्केउली नाच पहिलो पटक आयोजना गरेका हौँ । भडाहा र हुड्को लोप हुन थालेपछि विद्यालयको वार्षिकोत्सवमा समावेश गरेका हौँ ।”

मादलको लय र ताल लिपिबद्ध भए पनि हुड्को लय र ताल कतै लिपिबद्ध नभएकाले यसको संरक्षण गरिनुपर्ने हुड्कोविज्ञ मेलौली नगरपालिका–७ का ६९ वर्षीय मनोहर परियारले बताउनुभयो । उहाँले हुड्कोको ‘धाउँ कुति धाउँ’ लयरताल बढी प्रयोगमा रहेकाले अन्य ताल खोजी गरेर भडाहासमेत लिपिबद्ध गर्ने धोको हो तर यसका लागि कतैबाट सहयोग नपाएको बताउनुभयो । बैतडी जिल्लाभरि भडाहा गाएर हुड्को बजाउन सक्ने दुई÷चार जनाभन्दा बढी नभएको उहाँले बताउनुभयो । हुड्को बजाउने पुराना पुस्ता डाँडामाथिको जून भएकाले यसको संरक्षण हुनु पर्छ भन्ने सन्देश दिनका लागि विद्यालयको वार्षिकोत्वसका अवसरमा विज्ञानसँगै हुड्को नाच प्रदर्शन गरिएको प्रधानाध्यापक चन्दले बताउनुभयो ।

विज्ञान प्रर्शनी अन्तर्गत कक्षा ९ देखि १२ सम्मका विद्यार्थीले बनाएका हाइड्रालिक पुल, जेसिबी, मिनी वाटर पम्प, मानव मुटु, मिर्गौला र सूक्ष्मदर्शक यन्त्र राखिएका थिए । विज्ञान प्रदर्शनी र हुड्केउली नाच हेर्न अभिभावकसमेत विद्यालयमा जम्मा भएका थिए । वीरेन्द्र माविले स्थानीय सरकारले तोकेको पाठ्यक्रमसँगै अतिरिक्त कक्षाका रूपमा सङ्गीत, वाद्यवादन, दमाहा जस्ता विषयको नियमित कक्षा सञ्चालन गरिरहेको छ । यसका साथै विद्यालयमा प्राविधिक धारतर्फ कम्युटर विज्ञान र सिभिल इन्जिनियरिङको पढाइसमेत भइरहेको छ ।

चालु शैक्षिक सत्रदेखि विद्यालयले अङ्ग्रेजी माध्यममा समेत पठनपाठन सुरु गरेपछि विद्यालयप्रति आकर्षण बढ्दै गएको विद्यालय व्यवस्थापन समितिका अध्यक्ष भगवान चन्दले बताउनुभयो । विद्यालयमा करिब छ सय जना विद्यार्थी अध्ययनरत रहेका छन् । विद्यालयको शैक्षिक गुणस्तर वृद्धि गर्न शिक्षक, अभिभावक र स्थानीय तहका सरकारले स्थानीय कला संस्कृति, वेशभूषाको संरक्षण गर्न हातेमालो गरी अघि बढ्न सके सामुदायिक विद्यालयलाई नमुना बनाउन सकिने अभिभावक महेशदत्त भट्टले बताउनुभयो ।

spot_img

ताजा समाचार

जुम्लामा ४.१ म्याग्निच्युडको भूकम्प

जुम्ला जिल्लाको टाम्टी आसपास केन्द्रबिन्दु भएर बिहीबार बिहान भूकम्प गएको छ। राष्ट्रिय भूकम्प मापन...

महाकाली नदीमा बढ्दो डुबानका घटना न्यूनीकरण गर्न सचेतनामूलक बोर्डहरू राखिए

निलाक्सी चन्द कञ्चनपुर, जेठ ३ गते । पछिल्लो समय कञ्चनपुरस्थित महाकाली नदीमा मानिस डुबेर मृत्यु...

राष्ट्रिय हक्की टोलीमा मिथिला नगरपालिकाका ६ खेलाडी छनोट

काठमाडौँ । नेपाल हक्की सङ्घले घोषणा गरेको राष्ट्रिय महिला तथा पुरुष हक्की टोलीमा धनुषाको...

गृहमन्त्री गुरुङलाई नवलपुरमा कार्यकर्ताको स्वागत

काठमाडौँ । गृहमन्त्री सुधन गुरुङलाई राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) नवलपुरका सभापति नरेश्वर लामिछाने नेतृत्वको...