सत्ता साझेदार दलका तीन कार्यदल

Published on

काठमाडौँ । सत्ता साझेदार नेपाली कांग्रेस र नेपाल कम्युनिस्ट पार्टी (एमाले) सरकार सञ्चालन र संसद् प्रभावकारी बनाउन तथा संविधान संशोधनका लागि छुट्टाछुट्टै तीन वटा विषयगत कार्यदलमार्फत द्रुतत्तर गतिमा अघि बढाउने समझदारीमा पुगेका छन् ।

कांग्रेस र एमालेका शीर्षनेता सम्मिलित उच्चस्तरीय राजनीतिक संयन्त्रको बैठकमा सरकार, संसद् र संविधान संशोधन कार्यलाई दृष्टिगत गरी तीन वटा कार्यदल गठन गर्ने निर्णय भएको हो । कांग्रेस उपसभापति एवं संयन्त्रका संयोजक पूर्णबहादुर खड्काले संविधान संशोधनसम्बन्धी कार्यदलबाहेक दुई कार्यदल गठन गरिएको जानकारी दिनुभयो । उहाँका अनुसार संविधान संशोधनसम्बन्धी कार्यदलमा कांग्रेस–एमालेका पूर्वसांसदसहित कानुनविद् सम्मिलित रहने छन् ।

उपसभापति खड्काका अनुसार विचाराधीन विधेयकसहित संसद्लाई प्रभावकारी बनाउने सन्दर्भमा गठित कार्यदलमा कांग्रेस सहमहामन्त्री जीवन परियार, एमाले सचिव योगेश भट्टराईसँगै कांग्रेस एमालेका संसदीय दलका मुख्य सचेतक र सचेतक तथा राष्ट्रिय सभाका प्रमुख सचेतक गरी आठ जना सदस्य रहनुहुने छ ।

एमाले उपमहासचिव प्रदीपकुमार ज्ञवालीका अनुसार संविधान संशोधनसँग सम्बन्धित कार्यदल पनि चाँडै गठन गरिने छ । उहाँले भन्नुभयो, “संविधान कार्यान्वयनको समग्र समीक्षा गरिने छ । संविधान र सङ्घीयता कार्यान्वयनको समीक्षा पनि गर्ने छौँ । त्यसभित्र कार्य विस्तृतीकरणका सुझाव कार्यान्वयन र वित्तीय हस्तान्तरणबारे पनि समीक्षा हुने छ ।”

सरकारलाई विज्ञले सघाउने

उपसभापति खड्काले सेवा प्रभावसँग सम्बन्धित कार्यदलमा कांग्रेसले वरिष्ठ अधिवक्ता अरुण पौडेल, अधिवक्ता सेमन्त दाहाल र नीति तथा योजनाविज्ञ प्रताप पौडेल रहने बताउनुभयो । त्यसै गरी एमालेले पूर्वमुख्यसचिव लीलादेवी गड्तौला, पूर्वमुख्यन्यायाधिवक्ता राजेन्द्र घिमिरे र वरिष्ठ अधिवक्ता केदार कोइरालालाई कार्यदलमा सहभागी गराएको छ । कांग्रेस महामन्त्री गगनकुमार थापाका अनुसार सरकारी सेवा प्रवाह प्रभावकारी बनाउने, सुशासन र लगानीसहितका विषयलाई समयसापेक्ष र सान्दर्भिक बनाउने प्रयासस्वरूप कार्यदल गठन गरिएको हो ।

उहाँले सरकारको सेवा प्रवाहलाई प्रभावकारी, जनमैत्री, छिटोछरितो बनाउने अभिप्रायसाथ पनि सरकारको सेवा प्रवाहसम्बन्धी कार्यदल बनाइएको बताउनुभयो । उहाँले भन्नुभयो, “दोहोरो कानुनी समस्या, विकास निर्माणसहित सरकारका कामकारबाहीलाई दु्रत रूपमा अघि बढाउनकै लागि कार्यदल गठन गरिएको हो । देखिएका समस्या सम्बोधन गर्न सूक्ष्म अध्ययन गरी समाधान खोजिने छ ।”

उपमहासचिव ज्ञवालीका अनुसार सरकारका कामकारबाहीलाई प्रभावकारी र जवाफदेही बनाउन अध्ययन गरी सुझाव दिन कार्यदल गठन गरिएको बताउनुभयो । उहाँले भन्नुभयो, “राज्यका निकायबाट दिने सेवालाई सहज र सबल बनाउने, लगानी भित्र्याउने, व्यावसायिक समस्या सम्बोधन गर्ने र सरलीकरण गर्नका लागि कार्यदलले अध्ययन गरी सुझाव दिने छ ।” सत्तारूढ कांग्रेस र एमालेको उच्चस्तरीय कार्यदलले संविधान संशोधनका लागि आवश्यक तयारी आरम्भ गर्नका लागि संविधान संशोधनसँग सम्बन्धित कार्यदल गठन गर्ने भएको छ ।

महामन्त्री थापाले संविधान कार्यान्वयनको १० वर्ष हुँदै गर्दा समयसापेक्ष रूपमा परिमार्जन र संशोधन गर्नका लागि कार्यदलले सुझाव दिने बताउनुभयो । उहाँका अनुसार कार्यदल चाँडै बन्ने छ । एमाले उपमहासचिव ज्ञवालीले संसद्को विचाराधीन विधेयक, असान्दर्भिक कानुन खारेज, बाझिनेलाई संशोधन र नयाँ कानुन निर्माण गर्नका लागि कार्यदलले सुझाव दिने बताउनुभयो । उहाँले भन्नुभयो, “कानुन निर्माणका लागि सरकारले काम अघि बढाएको छ । सङ्क्रमणकालीन न्याय निरूपणसहित ऐन कानुन निर्माणमा आवश्यक सुझाव संसद्सम्बन्धी कार्यदलले दिने छ ।”

spot_img

ताजा समाचार

जुम्लामा ४.१ म्याग्निच्युडको भूकम्प

जुम्ला जिल्लाको टाम्टी आसपास केन्द्रबिन्दु भएर बिहीबार बिहान भूकम्प गएको छ। राष्ट्रिय भूकम्प मापन...

महाकाली नदीमा बढ्दो डुबानका घटना न्यूनीकरण गर्न सचेतनामूलक बोर्डहरू राखिए

निलाक्सी चन्द कञ्चनपुर, जेठ ३ गते । पछिल्लो समय कञ्चनपुरस्थित महाकाली नदीमा मानिस डुबेर मृत्यु...

राष्ट्रिय हक्की टोलीमा मिथिला नगरपालिकाका ६ खेलाडी छनोट

काठमाडौँ । नेपाल हक्की सङ्घले घोषणा गरेको राष्ट्रिय महिला तथा पुरुष हक्की टोलीमा धनुषाको...

गृहमन्त्री गुरुङलाई नवलपुरमा कार्यकर्ताको स्वागत

काठमाडौँ । गृहमन्त्री सुधन गुरुङलाई राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) नवलपुरका सभापति नरेश्वर लामिछाने नेतृत्वको...