जलवायु परिवर्तनको मारमा मनाङका किसान

Published on

काठमाडौँ । जलवायु परिवर्तनले गर्दा मनाङका किसानहरू मारमा परेका छन् । समयमै हिउँ नपर्दा उवा (करु) का लागि सिँचाइ नै गर्नुपरेको छ । सामान्यतया मनाङमा हिजोआज अत्यधिक चिसो बढ्नाले बालीनालीका लागि पानीको मात्रा कम भई सुख्खा बढेको छ ।

मनाङ चामेका युवा कृषक शेराप विष्टले कहिल्यै उवाका लागि सिँचाइ गरेको नदेखेको नभोगेको भएपनि आफैंले यसपालि पाइपमार्फत सिँचाइ गर्नुपरेको बताउनुभयो । उहाँले भन्नुभयो, “हामीजस्ता कृषक जलवायु परिवर्तनको प्रत्यक्ष मारमा परेका छौं । सँधै समयमै हिउँ पथ्र्यो, जमिनमा चिस्यानको मात्रा रहिरहन्थ्यो तर यसपालि त जीवनमा कहिल्यै पानी लगाउन नपरेको उवा खेतीका लागि पाइप तथा कुलोमार्फत पानी लगाएँ ।”

उहाँले बालीनाली फल्ने पाक्ने समय पनि परिवर्तन भएको बताउनुभयो । उहाँले भन्नुभयो, “हिमाली भेगमा तापक्रम वृद्धि हुँदा पहिले राम्रो नफल्ने बालीनाली फलफूल अहिले फल्छ र पाक्छ ।” उहाँले पुस माघमै गुराँस फुल्ने र हिउँ पर्ने समय धकेलिँदै गएर फागुन चैत पुग्ने गरेको जानकारी दिनुभयो । प्रायः वर्षको एक बाली मात्र उत्पादन हुने हिमाली भेगमा दुई बाली उत्पादन हुन थालेको छ । परम्परागत खेतीकिसानीलाई आधुनिक तरिकाले खेती गर्दा बालीनाली राम्रो हुने तथा उत्पादन पनि बढी हुने उहाँले बताउनुभयो । जलवायु परिवर्तनले गर्दा पहिलेको घनाजंगल मासिएर अहिले मानव बस्तीमा परिणत भएको उहाँको भनाइ छ ।

त्यस्तै जलवायु परिवर्तनको असरले गर्दा हिमपात हुनुपर्ने समयमा हिमपात नहुँदा नियमित चक्र बिथोलिने र कृषि उत्पादन घट्ने चिन्ता रहेको मनाङ ङिस्याङ गाउँपालिका–१ पिसाङका वयोवृद्ध किसान याङ्दु गुरुङले बताउनुभयो । उहाँले दश बाह्र वर्षदेखि बिस्तारैबिस्तारै पुस माघमा पर्ने हिउँ सर्दै सर्दै फगुन चैतमा पर्न थालेको बताउनुभयो । उहाँले भन्नुभयो, “पहिलाको जस्तो हिजोआज पुस माघमा हिउँ पर्दैन, हामीले जान्दासुन्दा त पुसमा हिउँले छोपेको हुन्थ्यो । हिजो आज हिउँ पर्ने समय सरेको छ । चैततिर पो बाक्लो हिउँ पर्न थालेको छ ।”

समयमा हिउँ नपर्दा सिँचाइको अभाव हुने र मुख्य गरी किसानलाई समस्या पर्ने गरेको उहाँले बताउनुभयो । समयमा हिमपात नहुँदा पशुचौपायालाई पनि असर गरेको छ । विश्वले भोगिरहेको जलवायु परिवर्तनको असर मनाङमा पर्नु अत्यन्तै दुर्भाग्यपूर्ण भएको नार्पाभूमि गाउँपालिकाका अध्यक्ष कोन्जो तेन्जिङ लामाले बताउनुभएको छ । उहाँले हिमाली क्षेत्रहरू केही वर्षदेखि नाङ्गा हुँदै आएको र हिउँ पर्ने समयमा हिउँ पर्न नसकेको बताउनुभयो ।

मानव जातिले भौतिक विकासका लागि प्रकृतिको अनुचित दोहन नरोक्दा तथा मान्छे प्रकृतितिरै फर्कनुपर्छ भन्ने जनचेतनाको कमीले पनि यो परिस्थिति देखा परेको उहाँको भनाइ थियो । “मान्छे प्रकृतितिर फर्कनुपर्छ, प्रकृतिको आफ्नो सिस्टम छ त्यो जोगाउनुपर्छ । यदि यो गर्न सकिएन भने जलवायु परिवर्तनको असरले प्राणीको अस्तित्वमा नै संकट ल्याउने निश्चित छ । यसले आजको पुस्ता मात्र नभई भोलिको पुस्तासम्म दूरगामी असर पर्नेछ” अध्यक्ष लामाले भन्नुभयो ।

प्रमुख जिल्ला अधिकारी मातृका आचार्यले पुस १५ सक्दा पनि हिउँ नपर्नु दुःखद भएको बताउनुभयो । उहाँले हिउँ नपर्दा प्रकृतिको भरमा खेती गर्नुपर्ने किसान निराश भएको बताउँदै मानिसको नियमित प्राकृतिक चक्र नै बिथोलिन थालेकामा चिन्ता व्यक्त गर्नुभयो ।

विगत केही वर्षदेखि हिउँ पर्ने समय बदलिँदै गएको पर्यटन व्यवसायी समिति मनाङका अध्यक्ष विनोद गुरुङले बताउनुभयो । गुरुङले जलवायु परिवर्तनको असर प्रत्यक्षरूपमा परेको उल्लेख गर्दै उत्पादन घट्दै गएको र खेतीबाली नै परिवर्तन गर्नुपर्ने अवस्था आउन थालेको बताउनुभयो । “हिउँकै पानीले सिँचाइ हुने मनाङमा हिउँ नै नपरेपछि पानीको अभाव देखिने नै भयो” उहाँले भन्नुभयो ।

spot_img

ताजा समाचार

‘स्मार्ट हुलाक’ विस्तार, सरकारी कागजात अब घरमै

काठमाडौं । सरकारले हुलाक सेवालाई प्रविधिमैत्री बनाउँदै ‘स्मार्ट हुलाक’ कार्यक्रम प्रभावकारी रूपमा अघि बढाएको...

लुम्बिनीमा मन्त्रालय घटाइयो, अब मुख्यमन्त्रीसहित ९ मन्त्रालय

देउखुरी । लुम्बिनी प्रदेश सरकारले कार्यसम्पादनलाई प्रभावकारी बनाउन मन्त्रालय पुनःसंरचना गर्दै मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को...

सी चिनफिङसँग भेट सुनिश्चित भए मात्रै चीन जाने रविको अडान

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले राष्ट्रपति सी चिनफिङसँग भेट सुनिश्चित...

रास्वपाले बालेन शाहलाई वरिष्ठ नेता मनोनित गर्‍यो

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को केन्द्रीय समितिको बैठकले प्रधानमन्त्री बालेन्द्र (बालेन) शाहलाई...