रु दुई अर्ब बराबरको सम्पत्ति जफतको प्रक्रियामा गृह मन्त्रालय

Published on

काठमाडौं । गृह मन्त्रालयले भ्रष्टाचारबाट आर्जन गरेको सम्पत्ति सरकारका नाममा फिर्ता ल्याउन सक्रियता बढाएको छ ।
सो क्रममा सर्वाेच्च अदालतबाट जफत हुने भनेर फैसला भएका घरजग्गा सरकारको नाममा ल्याउने प्रस्ताव गृह मन्त्रालय मार्फत मन्त्रिपरिषद् पठाइएको कसूरजन्य सम्पत्ति व्यवस्थापन विभागका महानिर्देशक सुरेश पन्थीले जानकारी दिनुभयो ।

“ पाँच जना पूर्वप्रशासक र आपराधिक गतिविधिबाट एक भारतीले नेपालमा खरिद गरेको घरजग्गा जफतका लागि प्रस्ताव पठाइएको छ ।” महानिर्देशक पन्थीले भन्नुभयो–“ हामीले अदालतबाट सो सम्बन्धी भएका फैसलाको लागत सङ्कलनका लागि शाखा अधिकृतको नेतृत्वमा पाँच वटा समुह बनाएर खटाएका छौं ।” उहाँले सम्पत्ति जफत सम्बन्धी विभिन्न अदालतबाट तीन हजार पाँच सय फैसला भएको जानकारी दिनुभयो । महानिर्देशक पन्थीले रु दुई अर्ब बराबरको सम्पत्ति जफतको तयारीमा रहेको बताउनुभयो । पहिलो चरणमा पाँच पूर्वप्रशासकको काठमाडौं उपत्यकाका विभिन्न स्थानमा भ्रष्टाचारबाट आर्जन गरेको सम्पत्ती जफतको प्रक्रिया अघि बढाइएको बताउनुभयो ।

अदालतबाट फैसला भई जफत गर्नुपर्ने घरजग्गा लामो समयदेखि कसुरदारहरूले नै प्रयोग गर्दै आएको अवस्थामा मन्त्रालयले जफत गर्ने कार्यलाई सक्रियताका साथ अघि बढाएको गृहमन्त्रालयले जनाएको छ । कसुरजन्य सम्पत्ति जफतसम्बन्धी ऐनअनुसार सर्वाेच्चबाट फैसला भएअनुसारका घरजग्गा जफत गरी सरकारको नाममा ल्याउने कार्य तिव्र गतिमा अघि बढाइने महानिर्देशक पन्थीको भनाई छ ।

कसूरजन्य सम्पत्ति व्यवस्थापन विभागका अनुसार पूर्वप्रशासक, कर्मचारी तथा परिवारका सदस्यहरु, आमोनन्द मिश्र, सरस्वती ढुङ्गाना, मुरारी बहादुर कार्की, केशरजङ्ग खड्का र रामात्रा चर्तुबेदीको काठमाडौं उपत्यकाका विभिन्न स्थानमा रहेको घरजग्गा जफत गर्ने प्रक्रिया मन्त्रिपरिषद्मा पुगेको हो । त्यस्तै, आपराधिक गतिविधिबाट एक भारतीले नेपालमा खरिद गरेको घरजग्गा पनि जफतका लागि मन्त्रिपरिषद्मा प्रस्ताप पेश भएको छ ।

विगतमा अपराधिक गतिविधिमा संलग्न भारतको असाम राज्यका निरञ्जन होजाईले नेपाली महिलाको नाममा काठमाडौंमा राखेको जग्गा र घर जफतका लागि गृह मन्त्रालयले अघि बढेको हो । डेढ बर्ष अघि कसुरजन्य सम्पत्ति व्यवस्थापन विभागले सो घर खाली गराए पनि सरकारको नाममा आउन नसकेको महानिर्देशक पन्थीले बताउनुभयो ।

“ होजाईसँग विवाह गरेकी सरिता गिरीको नाममा सो घरजग्गा छ ।” उहाँले भन्नुभयो–“ होजाईले नेपालमा निर्मल राईको नाममा नागरिकता लिई आफ्नो पहिचान लुकाएर आतंकवाद/अपराधिक गतिविधिको पैसा ल्याएका थिए । सिन्धुपाल्चोककी सरितासँग बिहे गरी उनी र उनको परिवारको नाममा सम्पत्ति लुकाएको अनुसन्धानमा भेटिएपछि मुद्दा दायर भएको थियो ।”
कसुरजन्य सम्पत्तिको जफतको कामलाई तीव्रता दिइने बताउँदै विभागका महानिर्देशक पन्थीले केही कसुरजन्य सम्पत्ति जफतका लागि प्रक्रिया अघि बढिसकेको जानकारी समेत दिनुभयो ।

“ जफतको ठहर भएका घरजग्गा लिलामी गर्ने वा सरकारको नाममा ल्याउने दुवै विकल्प कानुनले दिएको छ ।” उहाँले भन्नुभयो–“ भ्रष्टाचारसम्बन्धी मुद्दामा जफत गर्न लागिएका घरजग्गा भने सरकारको नाममा ल्याएर सरकारी प्रयोजनमा प्रयोग गरिनेछ ।”

ताजा समाचार

जग्गाको स्वामित्व नपाएको वनकरियाको गुनासो

काठमाडौँ । मकवानपुरको मनहरी गाउँपालिका–४, मुसेधापमा बसोबास गर्दै आएका लोपोन्मुख समुदायका वनकरियाले जग्गाको स्वामित्व...

पाकिस्तानका पूर्वप्रधानमन्त्री खानलाई भ्रष्टाचार मुद्दामा १४ वर्षको जेल सजाय

काठमाडौँ । पाकिस्तानको एक अदालतले पाकिस्तानका पूर्व प्रधानमन्त्री इमरान खान र उहाँकी पत्नी बुशरा...

क्यालिफोर्नियामा आगलागीको जोखिम अझै उच्च

काठमाडौँ । दक्षिणी क्यालिफोर्नियामा अझै पनि डढेलोको उच्च जोखिम रहेको बताइएको छ । अग्नि...

गाजा युद्धविराममा प्यालेस्टिनीका लागि राहत

काठमाडौँ । हर्ष र दुःखको मिश्रणबिच दशौं हजार प्यालेस्टिनी हमास र इजरायलबिचको युद्धविराम सम्झौताको...