बर्दीबास ६ किसाननगर बालविवाहमुक्त वडा घोषणा

Published on

काठमाडौँ । ‘सानै छौं बढ्न देऊ, बिहे हैन पढ्न देऊ’ भन्ने सन्देशमूलक नारासाथ बर्दीबास ६ किसाननगर बालविवाहमुक्त वडा घोषणा भएको छ । वडा कार्यालयले किसाननगरमा औपचारिक कार्यक्रम गरी ‘बालविवाह मुक्त घोषणा पत्र २०८१’ जारी गर्नुका साथै यसविरुद्धको साझा प्रतिबद्धता पत्रमा सामूहिक हस्ताक्षर गरी बालविवाहमुक्त वडा घोषणा गरेको हो ।

१४ वटा वडा रहेको बर्दीबास नगरपालिकामा बालविवाहमुक्त घोषणा गर्ने वडाको सङ्ख्या अब १० पुगेको छ । घोषणा सभालाई सम्बोधन गर्दै नगरप्रमुख प्रह्लाद क्षेत्रीले बाँकी रहेका वडाहरुलाई पनि छिट्टै बालविवाहमुक्त गरि बर्दीबासलाई महोत्तरी जिल्लाकै पहिलो नगर घोषण गर्ने अभियानमा जुटेको बताउनुभयो । यसका लागि नगरपालिकाले रणनीतिकरुपमै अभियान सञ्चालन गर्दै आएको दाबी गर्नुभयो । उहाँले भन्नुभयो, ‘सामाजिक समस्याको रुपमा रहेको बालविवाह जस्ता विकृति उन्मूलनका लागि घोषणा गरेर मात्र पुग्दैन समाज र परिवारले निरन्तर निगरानी र खबरदारी पनि गर्नुपर्छ ।’

नगर उपप्रमुख तारादेवी महतोले मधेशी समुदायलाई दाइजो प्रथा र बालविवाहबट मुक्त गर्नु चुनौतीपूर्ण भएको अनुभव सुनाउनुभयो । स्थानीय तह पुनःसंरचनाका क्रममा साविकको किसाननगर गाविसअन्तर्गतका ६ वटा वडा गाभिएर बनेको बर्दीबास ६ विगतमा बालविवाहले आक्रान्त वडा थियो । वडाध्यक्ष पदमबहादुर आलेकाअनुसार एक हजार ९८ घरधुरीमा साढे ६ हजार जनसङ्ख्या बसोबास गर्ने यस वडामा ०७६ सालमा गरिएको एक सर्भेअनुसार बालविाह दर ५० प्रतिशत थियो । सर्भेले अवस्था भयावह र चुनौतीपूर्ण देखाएपछि वडाध्यक्ष आलेकै नेतृत्वमा ‘वडा बाल समिति’ गठन गरि बालविवाहविरुद्ध सचेतीकरण अभियान सुरु भयो । सचेतनाका लागि बालबालिका घरघरै पुगेर सडक नाटक मञ्चन गरे । कानुनी प्रावधानबारे जानकारी गराए।

अभियानलाई सेभ द चिल्ड्रेन, सामुदायिक विकास पैरवी मञ्च जस्ता सङ्घसंस्थाले साथ दिन थाले । वडा प्रहरी, स्वास्थ्य चौकी, नागरिक समाज, आमा समूह पनि कार्यक्रममा जुट्दै गए । अभियान प्रभावकारी हुँदै गयो । २ वर्षपछि वडा र अभियानकर्ता सङ्घसंस्थाले दोस्रो सर्वे गर्दा किसाननगरको बालविवाह दर ८० प्रतिशतमा झरेको देखियो । ०७८ सालसम्म आइपुग्दा ९० प्रतिसतमा झार्न सफल भएको उहाँले बताउनुभयो । अभियानले वडामा व्याप्त विकृति उन्मूलनमा सघाउ मात्र पुर्‍याएन वडाध्यक्ष आलेलाई लोकप्रिय पनि बनायो । परिणामस्वरुप ०७९ को निर्वाचनमा उहाँ दोस्रोपटक वडाध्यक्षको रुपमा निर्वाचित भएपछि अभियानले थप बल पायो। अभियानले साकाररुप लिंदै जाँदा यस वडाको बालविवाह दर ९७ प्रतिशतमा झार्न सफलता मिलेपछि आज वडा न। ६ लाई बालविवाहमुक्त घोषण गर्न पाउनु सबैका लागि विजय उत्सवसरह भएको उहाँले बताउनुभयो ।

वडाध्यक्ष आलेले भन्नुभयो, ‘बालविवाह मुक्त समाज सभ्यताको प्रतीक र कानुनी राज्यको सफलता पनि हो ।’ बाँकी देखिएका ३ प्रतिशत बालविवाह पनि अभिभावकका कारण नभै किशोर किशोरीबिच भागी विवाह भएको सर्वेका क्रममा देखिएकोले यसलाई शून्यमा झार्ने प्रयास पनि भइरहेको उहाँको भनाइ थियो । घोषणा सभामा नगरपालिकाका प्रमुख कार्यकारी अधिकृत राममणि अधिकारीले बालविवाह कानुनी अपराध भएकोले यसविरुद्ध समाज कठोर हुनुपर्ने बताउनुभयो । समाजका अगुवा, पण्डित पुरोहित, अभियानकर्मी, कानुन व्यवसायी सबैको सहयोगले बालविवाहलाई सदाका लागि अन्त्य गर्न सकिने धारणा राख्नुभयो । सामुदायिक विकास पैरवी मञ्चका अभियानकर्मी नागदेव यादवले नगर क्षेत्रमा बाँकी रहेका ४ वटा वडालाई पनि बालविवाहमुक्त घोषणा गर्ने अभियानमा समन्वय र सहकार्यको प्रतिबद्धता गर्नुभयो ।

spot_img

ताजा समाचार

जुम्लामा ४.१ म्याग्निच्युडको भूकम्प

जुम्ला जिल्लाको टाम्टी आसपास केन्द्रबिन्दु भएर बिहीबार बिहान भूकम्प गएको छ। राष्ट्रिय भूकम्प मापन...

महाकाली नदीमा बढ्दो डुबानका घटना न्यूनीकरण गर्न सचेतनामूलक बोर्डहरू राखिए

निलाक्सी चन्द कञ्चनपुर, जेठ ३ गते । पछिल्लो समय कञ्चनपुरस्थित महाकाली नदीमा मानिस डुबेर मृत्यु...

राष्ट्रिय हक्की टोलीमा मिथिला नगरपालिकाका ६ खेलाडी छनोट

काठमाडौँ । नेपाल हक्की सङ्घले घोषणा गरेको राष्ट्रिय महिला तथा पुरुष हक्की टोलीमा धनुषाको...

गृहमन्त्री गुरुङलाई नवलपुरमा कार्यकर्ताको स्वागत

काठमाडौँ । गृहमन्त्री सुधन गुरुङलाई राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) नवलपुरका सभापति नरेश्वर लामिछाने नेतृत्वको...