‘लैङ्गिक समानताका लागि सक्रियताका साथ काम भइरहेको छ’

Published on

काठमाडौँ । महिला, बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री नवलकिशोर शाह सुडीले लैङ्गिक समानताको विकास गर्दै राज्यको मूलधारमा पर्न नसकेका, पिछडिएका वर्ग तथा समुदायका महिलाको उत्थानका लागि सरकारले सक्रियताका साथ काम गरिरहेको बताउनुभएको छ । ‘समलैङ्गिक दृश्यता दिवस-२०२५’ को अवसरमा मितिनी नेपालले आज यहाँ आयोजना गरेको कार्यक्रममा मन्त्री सुडीले लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यक समुदायको विकास र सशक्तीकरणका लागि वार्षिक बजेटमा रकम विनियोजन गरी योजना तथा कार्यक्रममा समेटेर काम भइरहेको उल्लेख गर्नुभयो । उहाँले ‘समलैङ्गिक दृश्यता दिवस’ का अवसरमा शुभकामना व्यक्त गर्दै लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यक समुदायको आन्दोलन सुरु भएको दुई दशकभन्दा बढी भए पनि लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यक समुदायभित्रका समलिङ्गी, द्वयलिङ्गी र क्वेर महिलाका विषय अझै ओझेलमा परेका बताउनुभयो ।

मितिनी नेपालले प्रकाशन गरेको लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यक समुदायको महिलाका रूपमा पहिचान गर्ने ११ वटा प्रेरणादायी कथा समेटिएको पुस्तक ‘जीवन परिवर्तनको आँधी’ को विमोचन गर्दै मन्त्री सुडीले महिलावादी आन्दोलनमा पनि लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यक समुदायका मुद्दालाई प्राथमिकता दिएर छलफल नभएको बताउनुभयो । उहाँले भन्नुभयो, “फरक यौनिकता भएकाले यो समुदायका महिला लान्छना, भेदभाव, अपमान, धम्की तथा दुर्व्यवहारको शिकार भएका छन् । यही कारणले समाजमा खुलेर आउन सकेका छैनन् ।” संविधानको धारा ३८ मा ‘महिलाको हक सुनिश्चित गर्दै प्रत्येक महिलालाई लैङ्गिक भेदभावबिना समान हक हुनेछ’ भनिएको छ । त्यसैगरी धारा ३८ मा ‘प्रत्येक महिलालाई सुरक्षित मातृत्व र प्रजनन स्वास्थ्यसम्बन्धी हक हुने र सम्पति तथा पारिवारिक मामिलामा दम्पतीको समान हक हुने छ’ भनी उल्लेख गरिएको छ ।

यसैबिच, लैङ्गिक पहिचानसहितको विवाह दर्ता हुनुपर्ने मागसहित सर्वोच्च अदालतमा परेको रिटमा विसं २०८० असार १३ गते अदालतले समलिङ्गी विवाहका लागि अस्थायी विवाह दर्ता गर्ने फैसला सुनाएको थियो । गृह मन्त्रालयले स्थानीय पञ्जीकाधिकारीको कार्यालयलाई अस्थायी अभिलेख दर्तालाई सहज बनाउन सोहीअनुसार निर्देशन दिएको थियो । सोहीअनुसार सो समुदायका कतिपय जोडीले आफ्नो विवाहलाई अस्थायी रूपमा दर्ता गराउँदै आएका मितिनी नेपालले जनाएको छ । हरेक वर्ष अप्रिल २६ लाई समलैङ्गिक दृश्यता दिवस विश्वव्यापी रूपमा यौनिक तथा लैङ्गिक विविधता भएको समुदायले मनाउँदै आएका छन् । मन्त्री सुडीले लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यक समुदाय र समुदायभित्रका समलिङ्गी, द्वयलिङ्गी र क्वेरको अधिकार स्थापनाका लागि सम्पर्क (फोकल) मन्त्रालयका रूपमा सधदैव साथ र सहयोग रहने प्रतिबद्धता व्यक्त गर्नुभयो । मितिनी नेपालका संस्थापक अध्यक्ष लक्ष्मी घलानले समुदायबाट समयसापेक्ष समर्थन नपाउँदा महिलाभित्रका समलिङ्गी महिलाले अझै पनि विभिन्न चुनौतीको सामना गर्नु परिरहेको बताउनुभयो । संस्थाका कार्यकारी निर्देशक सरिता केसीले राज्यले लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यक समुदायभित्रका समलिङ्गी, द्वयलिङ्गी र क्वेर महिलाका लागि समान अधिकारको व्यवस्था गर्नुपर्ने माग गर्नुभयो । रासस

spot_img

ताजा समाचार

‘स्मार्ट हुलाक’ विस्तार, सरकारी कागजात अब घरमै

काठमाडौं । सरकारले हुलाक सेवालाई प्रविधिमैत्री बनाउँदै ‘स्मार्ट हुलाक’ कार्यक्रम प्रभावकारी रूपमा अघि बढाएको...

लुम्बिनीमा मन्त्रालय घटाइयो, अब मुख्यमन्त्रीसहित ९ मन्त्रालय

देउखुरी । लुम्बिनी प्रदेश सरकारले कार्यसम्पादनलाई प्रभावकारी बनाउन मन्त्रालय पुनःसंरचना गर्दै मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को...

सी चिनफिङसँग भेट सुनिश्चित भए मात्रै चीन जाने रविको अडान

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले राष्ट्रपति सी चिनफिङसँग भेट सुनिश्चित...

रास्वपाले बालेन शाहलाई वरिष्ठ नेता मनोनित गर्‍यो

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को केन्द्रीय समितिको बैठकले प्रधानमन्त्री बालेन्द्र (बालेन) शाहलाई...