काठमाडौं । यातायातमन्त्री कुलमान घिसिङले तोकिएभन्दा बढी भाडा असुल्ने यातायात व्यवसायीलाई तत्कालै कारबाही गरिने बताएका छन्। स्वीकृत भाडादर भन्दा बढी कानूनको प्रतिकूल हुनेगरी कसैले भाडा असुले तत्काल खबर गर्न पनि उनले यात्रुहरूलाई आह्वान गरेका छन्।
चाडबाडको मौका छोपी बढी भाडादर असुल्ने गरेको, टिकटको कालोबजारी गरेकोलगायतका गुनासा यात्रुबाट निरन्तर आइरहेको उल्लेख गर्दै मन्त्री घिसिङले कानून विपरीतका त्यस्ता क्रियाकलाप तत्काल बन्द यातायात व्यवसायीहरूलाई आग्रह गरेका छन्।
ऊर्जा, जलस्रोत तथा सिंचाइ, भौतिक पूर्वाधार तथा यातायात र शहरी विकास मन्त्रालय सम्हालेका घिसिङले हालको देशको विषम परिस्थितमा यातायात व्यवसायीलगायत सबै पक्ष जिम्मेवार बन्नु पर्ने बताएको उनको सचिवालयले जनाएको छ।
‘यात्रुलाई अनावश्यक दुस्ख दिएर चाडबाडलाई कमाउने मौका रूपमा प्रयोग नगर्न, स्वीकृत भाडा दरभन्दा बढी असुल नगर्न र टिकटमा कालोबजारी नगर्न आग्रह गरिएको छ,’ सचिवालयद्वारा जारी प्रेस नोटमा भनिएको छ। यातायात व्यवसायीबाट त्यस्ता क्रियाकलाप गरेको पाइएमा तत्काल स्थानीय सुरक्षा निकाय र प्रशासनलाई खबर गर्न मन्त्री घिसिङले आग्रह गरेका छन्।
बढी भाडा असुले तत्काल कारबाही गर्ने यातायातमन्त्री घिसिङको भनाई
Published on

