काठमाडौँ । नेपाली कांग्रेसले देशभर भइरहेका लगातारका भारी वर्षा र त्यसबाट उत्पन्न हुन सक्ने सम्भावित विपद्प्रति गम्भीर ध्यान आकर्षण गराउँदै आम नागरिकलाई सजग रहन आग्रह गरेको छ। शनिबार कांग्रेसका मुख्यसचिव कृष्णप्रसाद पौडेलले एक विज्ञप्ति जारी गर्दै जल तथा मौसम विज्ञान विभागले गरेको भारी वर्षाको प्रक्षेपणलाई मध्यनजर गर्दै सरकार, सम्बन्धित निकायहरू, राजनीतिक दलहरू, स्वयंसेवक र सम्पूर्ण नागरिकलाई सचेत र तयार रहन अपिल गरेका हुन्।
कांग्रेसले यस सन्दर्भमा सातवटा मुख्य बुँदामा आधारित सतर्कता उपायहरू सार्वजनिक गरेको छ। विज्ञप्तिमा भनिएको छ कि दशैंको समयमा लाखौं नागरिक सडक यात्रामा रहेका हुँदा मौसमसम्बन्धी सूचना प्रभावकारी तरिकाले प्रवाह गरिनु आवश्यक छ, जसबाट यात्रुहरूले समयमै निर्णय लिन सकून्। साथै, सरकारले वा सरोकारवाला निकायहरूले जारी गर्ने सूचना र निर्देशनको कडाईका साथ पालना गर्न सबै नागरिकलाई अनुरोध गरिएको छ, र अरूलाई पनि सो जानकारी पुर्याउने जिम्मेवारी बहन गर्न भनिएको छ।
सम्भावित बाढी तथा पहिरोको जोखिम भएका क्षेत्रका बासिन्दालाई केही समयका लागि सुरक्षित स्थानमा सार्न स्थानीय तह र प्रशासनले आवश्यक कदम चाल्नुपर्ने कांग्रेसको सुझाव छ। त्यस्तै, पहाडी भेगका जोखिमपूर्ण सडकहरूलाई अस्थायी रूपमा बन्द गरेर जनधनको क्षति हुन नदिन सकिने उपायको रूपमा लिइएको छ। यदि सडक अबरुद्ध हुने अवस्था आयो भने यात्रु तथा स्थानीयवासीलाई पर्ने कठिनाइ कम गर्न स्थानिय प्रशासन, राजनीतिक दल र स्वयंसेवकबीच समन्वयात्मक सहयोग आवश्यक हुने उल्लेख गरिएको छ।
कांग्रेसले विपद्को सम्भावनालाई ध्यानमा राख्दै सबै तहका सरकारहरूले पूर्वतयारी स्वरूप आवश्यक साधन, स्रोत र जनशक्ति तयारी अवस्थामा राख्नुपर्छ भनेको छ। अन्त्यमा, सम्भावित जोखिम रहेका स्थानहरूमा अन्य कार्यहरूलाई केही समयका लागि थाँती राखी सबै पक्ष एकजुट भई चुनौतीको सामना गर्नुपर्ने अपिल गरिएको छ।

