खोला पुनः आफ्नै धारमा

Published on

काठमाडौं । असोज १७ गतेको मध्यरातदेखि जारी वर्षाका कारण काठमाडौँ, भक्तपुर र ललितपुरमा बागमती, हनुमन्ते नदीसहित सहायक खोला आफ्नो धार खोज्दै सहर र बस्तीतर्फ सोझिएका छन् ।

अव्यवस्थित सहरीकरणसँगै नदी र खोलाको अतिक्रमण तीव्र हुँदा बस्ती पनि जलमग्न भएका हुन् । उपत्यकाका तीन वटै जिल्लाका सबै नदीखोलामा पानीको सतह शनिबार साँझसम्म खतराको तहमा पुगेको छ । २०८१ असोज १० देखि १२ गतेसम्म पनि काठमाडौँमा बाढी र डुबान भएको थियो ।

खोलानदी किनार मिचेर निर्माण गरिएका घर, टहरा, व्यापारिक भवन, अस्पताल, स्कुल र कलेज बाढीले जलमग्न भएका छन् । बागमती नदी, विष्णुमती खोला, धोबीखोला, मनोहरा, हनुमन्ते, टुकुचा, गोदावरीसहित सबै खोला उर्लिएका छन् । काठमाडौँका प्रमुख जिल्ला अधिकारी ईश्वरराज पौडेलले त्रिपुरेश्वरको शान्ति निकेतन माविदेखि बल्खु हुँदै चोभारसम्मका सम्पूर्ण बस्ती सुरक्षित स्थानमा सारिएको बताउनुभयो । उहाँले भन्नुभयो, “असोज १७ गतेदेखि नै सुरक्षाकर्मी परिचालन गरेर जोखिमयुक्त क्षेत्र खाली गराउने र स्थानीयलाई सुरक्षित स्थानमा सार्ने काम भइरहेको छ ।”

भक्तपुरका प्रमुख जिल्ला अधिकारी नमराज घिमिरेले भक्तपुर नगरपालिका वडा नं। १, ४, ५, ७ र ८, सूर्यविनायक नगरपालिकासँगै मध्यपुरथिमि नगरपालिकास्थित राधे राधे, बालकोट, लोकन्थली क्षेत्रमा बाढीको जोखिम उच्च रहेकाले स्थानीयवासीलाई सुरक्षित स्थानमा सारिएको र सुरक्षित हुन सूचित गराइएको बताउनुभयो । उहाँले चाँगुनारायण नगरपालिका र सूर्यविनायक नगरपालिकाका केही क्षेत्रमा पहिरोको जोखिम रहेकाले उद्धार र राहतका लागि चाहिने सामग्री तयारी अवस्थामा राखिएको बताउनुभयो । ललितपुरका प्रमुख जिल्ला अधिकारी सुमन घिमिरेले सुरक्षाकर्मीको विशेष टोली रबरबोटसहित परिचालन गरिएको बताउनुभयो । उहाँका अनुसार बागमती नदी किनारका बस्ती र नख्खुखोला आसपासका बस्तीसँगै जोखिमयुक्त क्षेत्रमा उच्च सतर्कता अपनाइएको छ ।

मन्त्री घिसिङ निरीक्षणमा

ऊर्जा, जलस्रोत तथा सिँचाइ, भौतिक पूर्वाधार तथा यातायात एवं सहरी विकासमन्त्री कुलमान घिसिङले शनिबार उपत्यकाको नदी निकास क्षेत्र चोभार गल्छीको निरीक्षण गर्नुभएको छ । मन्त्री घिसिङसँगै सहरी विकास मन्त्रालयका सचिव गोपालप्रसाद सिग्देल पनि निरीक्षणका लागि चोभार गल्छी पुग्नुभयो ।

सहरी विकास मन्त्रालयका सहसचिव एवं प्रवक्ता नारायणप्रसाद मैनालीका अनुसार मन्त्री घिसिङले बागमती नदी किनारसहित उच्च जोखिमयुक्त क्षेत्रको निरीक्षण गरी बस्तीआसपासका क्षेत्रबाट स्थानीयवासीलाई सुरक्षित स्थानमा लान सरोकारवाला निकायलाई निर्देशन दिनुभयो । उहाँले सुरक्षित भएर बस्न स्थानीयवासीलाई आग्रह पनि गर्नुभयो ।

सहसचिव मैनालीका अनुसार मन्त्री घिसिङले उपत्यकाका सबै नदीखोला किनारका जोखिमयुक्त क्षेत्रमा टोली परिचालन गर्नुभएको छ । उहाँले भन्नुभयो, “चोभार गल्छीमा गत वर्ष खसेका ढुङ्गा र गेग्य्रान स्थानीयको विरोधका कारण अहिलेसम्म पनि हटाउन सकिएको छैन । त्यहाँको जोखिमबारे निरीक्षण गरिएको छ । साथै कालीमाटीमा जलमग्न घरटहरामा आधा आधा डुबेर बसेका स्थानीयलाई सुरक्षाकर्मीले उद्धार गरेपछि मन्त्रीसहित मन्त्रालयको टोली फर्किएको छ ।”

अतिक्रमणले निम्तिएको हो बाढी

सर्वोच्च अदालतले बागमती नदीको बहाब क्षेत्र ४० मिटर र अरू सहायक नदीको बहाब क्षेत्र २० मिटर बनाउन फैसला गरेको छ तर सो फैसला पुनरवलोकनको विषय थाती रहँदा काठमाडौँ उपत्यकामा नदी र खोलाकै किनारमा अतिक्रमण गरिएका र स्वाभाविक क्षेत्रमा निर्मित भौतिक संरचना पनि वर्षाका कारण डुबानमा परेका छन् ।

बागमती नदी उर्लिंदा शान्तिनगर, विजयनगर, जागृतिनगर, गैह्रीगाउँ, चाँदनी टोल, प्रगति टोल, कालीमाटी टोल, किमाल फाँट, वंशीघाट, कुरियागाउँ, बुद्धनगर, शङ्खमूलसहित थापाथली, कालीमाटीदेखि बल्खुसम्मै बाढी पसेको छ । विष्णुमती खोला किनारका बस्ती ढिकुरेचौकी, कुमारीस्थान बुद्धज्योति मार्ग, बालाजु जागृति टोल, सङ्गम टोलसहितका क्षेत्रमा रहेका सुकुमवासी बस्ती विस्थापित भएका छन् । हनुमन्ते उर्लिंदा नेकपा ९एमाले० को कार्यालय रहेको तुलसीलाल स्मृति प्रतिष्ठानको भवन डुबानमा परेको छ । ललितपुरको ग्वार्को क्षेत्र कर्मनासा खोलाको बाढीले डुबानमा परेको छ । मनोहरा खोलाको बाढीले मनोहरा वबस्ती डुबानको जोखिम छ ।

विसं २०८० पुस ३ गते सर्वोच्च अदालतका न्यायाधीश डा। आनन्दमोहन भट्टराई र विनोद शर्माको संयुक्त इजलासले बागमती नदीको बहाब क्षेत्र ४० मिटर र अरू सहायक नदीको बहाब क्षेत्र २० मिटर बनाउनुपर्ने फैसला गरेको थियो । वरिष्ठ अधिवक्ता एवं प्रकृति संरक्षण अभियन्ता प्रकाशमणि शर्माले काठमाडौँ उपत्यकाको पानीको स्रोत जोगाउन र नदीखोलालाई आफ्नो बहाब क्षेत्रमा बग्न दिनुपर्ने र सर्वोच्चको फैसला कार्यान्वयन हुनुपर्ने बताउनुभयो । उहाँले भन्नुभयो, “हाम्रो सभ्यता र संस्कृतिसँग जोडिएका नदीखोला अतिक्रमण भएपछि नै सहरमा बाढीको अत्यास आएको हो । त्यसैले नदीखोलाको बहाब क्षेत्रबाट सबै संरचना हटाउनु पर्छ ।” गोरखापत्र

spot_img

ताजा समाचार

जुम्लामा ४.१ म्याग्निच्युडको भूकम्प

जुम्ला जिल्लाको टाम्टी आसपास केन्द्रबिन्दु भएर बिहीबार बिहान भूकम्प गएको छ। राष्ट्रिय भूकम्प मापन...

महाकाली नदीमा बढ्दो डुबानका घटना न्यूनीकरण गर्न सचेतनामूलक बोर्डहरू राखिए

निलाक्सी चन्द कञ्चनपुर, जेठ ३ गते । पछिल्लो समय कञ्चनपुरस्थित महाकाली नदीमा मानिस डुबेर मृत्यु...

राष्ट्रिय हक्की टोलीमा मिथिला नगरपालिकाका ६ खेलाडी छनोट

काठमाडौँ । नेपाल हक्की सङ्घले घोषणा गरेको राष्ट्रिय महिला तथा पुरुष हक्की टोलीमा धनुषाको...

गृहमन्त्री गुरुङलाई नवलपुरमा कार्यकर्ताको स्वागत

काठमाडौँ । गृहमन्त्री सुधन गुरुङलाई राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) नवलपुरका सभापति नरेश्वर लामिछाने नेतृत्वको...