काठमाडौं, असोज २० – लगातारको वर्षा र त्यसले निम्त्याएको बाढीपहिरोका कारण देशभरका १८ वटा प्रमुख राजमार्गहरू पूर्णरूपमा अवरुद्ध भएका छन्। प्रहरी प्रधान कार्यालयका अनुसार, सङ्खुवासभा जिल्लाको भोटखोला गाउँपालिका–४ र मकालु गाउँपालिका–३ मा कोशी राजमार्ग पूर्ण रूपमा अवरुद्ध छ। यस्तै, ओखलढुंगा जिल्लाको मानेभञ्याङ गाउँपालिका–६ र ७ लाई जोड्ने सिद्धिचरण लोकमार्ग र उदयपुरको कटारी नगरपालिका–१४ दलदले क्षेत्रमा रहेको सिद्धिचरण राजमार्ग पनि सञ्चालनमा आउन सकेको छैन।
त्यसैगरी, धनकुटा जिल्लाको पाख्रिबास नगरपालिका–५ ढिकुरे क्षेत्रको मध्यपहाडी लोकमार्ग र साँगुरीगढी गाउँपालिका–१ स्थित कोशी लोकमार्ग पनि अबरुद्ध भएका छन्। इलाम नगरपालिका–९ राजदुवाली क्षेत्रसहित मेची राजमार्गका विभिन्न खण्डमा पनि सडक अवरोध भएको छ। रसुवाको गोसाइँकुण्ड गाउँपालिका–२ स्थित नेपाल–चीन मितेरी पुल, सोही गाउँपालिका–५ को स्याफ्रुबेँसीसहित चार स्थानमा सडक पूर्ण रूपमा बन्द भएको प्रहरी प्रधान कार्यालयले जनाएको छ।
यसैगरी, सिन्धुपाल्चोक जिल्लाको भोटेकोशी गाउँपालिका–४ चारकिलो क्षेत्रको अरनिको राजमार्ग र काभ्रेपलाञ्चोकको रोशी गाउँपालिका–११ माम्तीखोलास्थित बिपी राजमार्ग पनि पहिरोका कारण आवागमन ठप्प भएको छ। मकवानपुर जिल्लाको बकैया गाउँपालिका–११ घट्टेखोला, भीमफेदी गाउँपालिका–८, र इन्द्रसरोवर गाउँपालिका–३ कुलेखानी क्षेत्रका सडकहरू (कान्ति लोकपथ र दक्षिणकाली सडक) पनि पूर्ण रूपमा अवरुद्ध छन्। त्यस्तै, सिन्धुलीको फिक्कल गाउँपालिका–६ नागस्थानस्थित मध्यपहाडी लोकमार्ग र सुनकोशी गाउँपालिका–१ नेपालथोकस्थित बिपी राजमार्गसमेत सञ्चालनमा आउन सकेका छैनन्।
बाढीपहिरोका कारण मुलुकका विभिन्न भूभागमा यातायात व्यवस्था अस्तव्यस्त बनेको छ। प्रहरीका अनुसार, अवरुद्ध सडकहरू खुलाउने प्रयास भइरहेको छ भने आवश्यक सुरक्षाकर्मी र प्राविधिक टोली परिचालन गरिएका छन्। नागरिकहरूलाई सतर्क रहन र सम्भव भएसम्म वैकल्पिक मार्ग प्रयोग गर्न आग्रह गरिएको छ।

