ताप्लेजुङमा बढ्यो चिसो

Published on

काठमाडौं । सोमबार रातिदेखि मौसम बदलिएसँगै ताप्लेजुङमा चिसो बढेको छ । सामान्य वर्षा र उच्च हिमाली भेगमा हिमपात सुरु भएकाले जिल्लामा चिसो बढेको हो ।

चिसोका कारण सदरमुकाम फुङ्लिङ बजारसहित जिल्लाको माथिल्लो भेगको जनजीवन प्रभावित बनेको छ । सोमबार रातिदेखि निरन्तर वर्षा भइरहेको र करिव तीन हजार ५०० मिटरभन्दा माथि उचाइ रहेको क्षेत्रमा हिमपात भएपछि चिसोले हिमाली भेगको जनजीवन प्रभावित बन्दै गएको छ ।

यहाँको फक्ताङ्लुङ गाउँपालिका–६ लेलेपको फले, घुन्सा र वडा ७ ओलाङ्चुङगोला तथा याङ्मासहित हिमाली भेगका बस्तीहरुमा चिसो निकै बढेको छ । याङ्माका स्थानीय पेमा शेर्पाका अनुसार निरन्तरको वर्षा र बस्ती नजिकसम्म हिउँ परेकाले चिसो बढेको छ । चिसोका कारण बालबालिका, वृद्धवृद्धा बढी प्रभावित बनेका शेर्पाले बताउनुभयो ।

उहाँका अनुसार कञ्चनजङ्घा भ्रमणमा आएका बाह्य तथा आन्तरिक पर्यटकसमेत वर्षा र हिमपातले प्रभावित भएका छन् । फलेका स्थानीय मिङ्मा शेर्पाले पनि वर्षा र हिमपातका कारण चिसो ह्वात्तै बढ्दा जनजीवन प्रभावित बनेको बताउनुभयो । ओलाङ्चुङगोलाका स्थानीय तेन्जिङ वालुङले पनि चिसोका कारण जनजीवन प्रभावित बन्दै गएको बताउनुभयो ।

यता सदरमुकाम फुङ्लिङमा पनि बुधबार बिहानैदेखि वर्षा भइरहेको छ । वर्षाका कारण चिसो बढेकाले बजारमा चहलपहल पनि न्युन भएको स्थानीय व्यसायीले बताएका छन् । जल तथा मौसम विज्ञान विभाग धरान, ताप्लेजुङ फिल्ड कार्यालयका अनुसार बुधबार बिहानको ताप्लेजुङको न्यूनतम् तापक्रम १४.६ डिग्री सेलसियस रहेको छ । बिहान ८ः४५ बजे मापन गरिएको विवरण अनुसार ताप्लेजुङमा १.१ मिलिमिटर वर्षा भएको फिल्ड कार्यालयका नायब मौसम विज्ञान सहायक सुयोग भट्टराईले जानकारी दिनुभयो ।

यता वर्षा र हिमपातका कारण आफन्त भेटघाट गर्न चीनको स्वशासित क्षेत्र तिब्बत गएका ओलाङ्चुङगोलाका स्थानीय उतै रोकिएका फक्ताङ्लुङ गाउँपालिका अध्यक्ष राजन लिम्बू (मुक्ति) ले जानकारी दिनुभयो । अध्यक्ष लिम्बूका अनुसार टिपताला नाका क्षेत्रमा बाक्लो हिउँ परेपछि तिब्बत पुगेका छ जना उतै रोकिएका छन् । कञ्चनजङ्घा हिमालको खम्बाचेन र लोनाक आधार शिविर क्षेत्रमा पनि बाक्लो हिउँ परेकाले पर्यटकहरु प्रभावित भएका उहाँले जानकारी दिनुभयो ।  गोरखापत्र

spot_img

ताजा समाचार

राष्ट्रिय हक्की टोलीमा मिथिला नगरपालिकाका ६ खेलाडी छनोट

काठमाडौँ । नेपाल हक्की सङ्घले घोषणा गरेको राष्ट्रिय महिला तथा पुरुष हक्की टोलीमा धनुषाको...

गृहमन्त्री गुरुङलाई नवलपुरमा कार्यकर्ताको स्वागत

काठमाडौँ । गृहमन्त्री सुधन गुरुङलाई राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) नवलपुरका सभापति नरेश्वर लामिछाने नेतृत्वको...

क्रिकेटर करण केसी कारबाहीमा : म्याच शुल्क कट्टा हुने, एक खेलमा प्रतिबन्ध

काठमाडौँ । नेपाल क्रिकेट संघ (क्यान) ले राष्ट्रिय टोलीका सदस्य तथा नेपाल पुलिस क्लबका...

टिप्परको ठक्करबाट स्कुटर चालकको मृत्यु

काठमाडौँ । प्यूठानमा टिप्परको ठक्करबाट एक जना पुरुषको मृत्यु भएको छ । चेरनेटा–बरौला सडक...