‘हाम्रो मायाको घर’ निर्माण अन्तिम चरणमा

Published on

काठमाडौं । सडक मानव, असहाय बालबालिका, परित्यक्त वृद्धवृद्धा र मानसिक स्वास्थ्य समस्याबाट पीडित व्यक्तिहरूलाई आश्रय दिने उद्देश्यले बर्दिबासमा निर्माण भइरहेको ‘हाम्रो मायाको घर’ अन्तिम चरणमा पुगेको छ । निर्माण कार्य करिब ९० प्रतिशत पूरा भएको निर्माण समिति अध्यक्ष शम्भु भट्टराईले जानकारी दिनुभयो ।

बर्दीबास–२ हङ्कङडाँडा नजिक निर्माणाधीन भवनबारे जानकारी दिँदै भट्टराईले भवन र क्यान्टिन गरी दुईवटा संरचनाको निर्माण अन्तिम चरणमा पुगेको बताउनुभयो । उहाँका अनुसार भवन निर्माण सम्पन्न गर्न अझ करिब एक करोड रुपियाँ आवश्यक छ । ‘केही मौज्दात रकम पनि छ, बाँकी बक्यौता उठेपछि खर्चको अभाव हुनेछैन,’ उहाँले भन्नुभयो ।

‘हाम्रो मायाको घर’ का लागि स्थानीय १५ जना दाताले डेढ करोड रुपियाँ मूल्य बराबरको साढे पाँच कठ्ठा जग्गा दान गरेका थिए । भागवत मञ्जरी राधिका दासीको प्रेरणामा बर्दिबासमा आयोजित महायज्ञमार्फत करिब १ करोड ८२ लाख ४२ हजार रुपियाँ सङ्कलन भएको थियो । त्यसपछि विभिन्न सङ्घसंस्था र निकायले पनि थप सहयोग गरेपछि भवन निर्माण सुरु गरिएको थियो ।

अध्यक्ष भट्टराईका अनुसार हालसम्म भवन निर्माण र थप जग्गा खरिदमा १ करोड १८ लाख ९ हजार रुपियाँ खर्च भइसकेको छ । करिब १० लाख मौज्दात रकम छ । ८० लाख रुपैयाँ जति बक्यौता उठ्न बाँकी रहेको उहाँले बताउनुभयो ।

०८१ साल साउनमा तत्कालीन मुख्यमन्त्री सतिसकुमार सिंहले शिलान्यास गरेपछि भवन निर्माण थालिएको हो । वर्ष दिनको छोटो अवधि र कम लागतमा भएको निर्माण प्रगति आफैंमा उदाहरणीय भएको जनाइएको छ । प्रदेश सांसद शारदादेवी थापाले निर्माणाधीन ‘मायाको घर’ दान, धर्म, दया र स्नेहको प्रतिक भएको बताउँदै यो श्रम, सहयोग, इमान र मितव्ययिताको उदाहरणीय नमुना भएको उल्लेख गर्नुभयो ।

होटल तथा पर्यटन महासङ्घ मधेश प्रदेशका अध्यक्ष हीरा गौतमले असहाय सडक बालबालिका, वृद्धवृद्धा, मानसिक रोगी तथा परिचय गुमाएका व्यक्तिहरूलाई नयाँ जीवन र माया दिने उद्देश्यले ‘हाम्रो मायाको घर’ निर्माण भइरहेको बताउनुभयो ।

यसअघि रोटरी क्लब अफ बर्दिबासका अध्यक्ष सीताराम ढुंगेलको सहकार्यमा भवन परिसरमा विभिन्न प्रजातिका ३० वटा बिरुवा रोपिएको थियो । बर्दिबासको ‘हाम्रो मायाको घर’ अब छिट्टै सडक मानवका लागि आश्रयस्थल बन्ने तयारीमा रहेको उहाँले बताउनुभयो । गोरखापत्र

spot_img

ताजा समाचार

‘स्मार्ट हुलाक’ विस्तार, सरकारी कागजात अब घरमै

काठमाडौं । सरकारले हुलाक सेवालाई प्रविधिमैत्री बनाउँदै ‘स्मार्ट हुलाक’ कार्यक्रम प्रभावकारी रूपमा अघि बढाएको...

लुम्बिनीमा मन्त्रालय घटाइयो, अब मुख्यमन्त्रीसहित ९ मन्त्रालय

देउखुरी । लुम्बिनी प्रदेश सरकारले कार्यसम्पादनलाई प्रभावकारी बनाउन मन्त्रालय पुनःसंरचना गर्दै मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को...

सी चिनफिङसँग भेट सुनिश्चित भए मात्रै चीन जाने रविको अडान

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले राष्ट्रपति सी चिनफिङसँग भेट सुनिश्चित...

रास्वपाले बालेन शाहलाई वरिष्ठ नेता मनोनित गर्‍यो

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को केन्द्रीय समितिको बैठकले प्रधानमन्त्री बालेन्द्र (बालेन) शाहलाई...