काठमाडौं । रुकुमपश्चिमका प्रमुख जिल्ला अधिकारी दिनेशप्रसाद थानीको स्वर, संगीत र अभिनय समावेश गरिएको राष्ट्रभक्ति भिडियो गीत ‘सयौं थरी फूलहरूको’ सार्वजनिक गरिएको छ। यो गीत बिहीबार दिनेश थानीको आधिकारिक युट्युब च्यानलमार्फत सार्वजनिक गरिएको हो। सुनिता पराजुलीको शब्दमा तयार भएको उक्त गीतले राष्ट्रप्रेम, एकता र नेपालीपनको भावना उजागर गरेको छ। गीतमा सबै नेपाली समान छन्, भाषा–धर्म फरक भए पनि सबै एकै माटोका सन्तान हुन् भन्ने सन्देश दिइएको छ।
भिडियोको छायांकन रुकुमपश्चिमको सदरमुकाम मुसीकोट र आसपासका रमणीय स्थानहरूमा गरिएको हो। भिडियोमा थानीसँगै जनदिश चन्द्र हमाल (सशस्त्र प्रहरी नायब उपरीक्षक) र नेवबहादुर राना (प्रमुख अनुसन्धान अधिकृत) ले पनि अभिनय गरेका छन्। सिभिल इन्जिनियरिङ पृष्ठभूमिबाट प्रशासन सेवामा प्रवेश गरेका सर्जक तथा प्रशासक थानीका यसअघि पनि ‘नजर नजरमै’, ‘साँझ पख’ लगायतका गीत सार्वजनिक भइसकेका छन्।

