पूर्वपश्चिम राजमार्ग : एसियाली मापदण्डमा विस्तार हुँदै

Published on

काठमाडौं । पूर्व मेचीदेखि पश्चिम महाकाली छिचोल्ने पूर्वपश्चिम राजमार्ग (महेन्द्र राजमार्ग) विभिन्न छ खण्डमा विस्तार भइरहेको छ । मुलुककै यातायातको ‘लाइफ लाइन’ का रूपमा रहेको यो राजमार्ग विस्तार भएपछि तराई/मधेशसहित देशका आधाभन्दा बढी जनता लाभान्वित हुने विश्वास गरिएको छ ।

दुई लेन चौडाइ भएको सो राजमार्ग अहिले छ लेन र चार लेनमा विस्तार भइरहेको छ । दक्षिण एसिया क्षेत्रीय आर्थिक सहकार्य (सासेक) कार्यक्रम अन्तर्गत एसियाली राजमार्गको मापदण्ड अनुसार राजमार्गका विभिन्न खण्डको विस्तार भइरहेको हो । तत्कालीन राजा महेन्द्रले २०१८ सालमा शिलान्यास गर्नुभएको सो राजमार्ग सहरी क्षेत्रमा सर्भिस लेनसहित छ लेन र वनजङ्गल तथा सवारी चाप कम भएको क्षेत्रमा चार लेनमा विस्तार भइरहेको भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयका सहसचिव इन्जिनियर सुशीलबाबु ढकालले जानकारी दिनुभयो ।

उहाँका अनुसार विभिन्न दातृ निकायको ऋण तथा अनुदान सहयोगमा अहिले काँकडभिट्टा–इटहरी खण्ड (९३ किलोमिटर), कञ्चनपुर–कमला खण्ड (८६.८३ किलोमिटर), कमला–ढल्केबर–पथलैया खण्ड (१३० किलोमिटर), नारायणगढ–बुटवल खण्ड (११३ किलोमिटर), बुटवल–गोरुसिङ्गे–चनौटा (६९ किलोमिटर) र कपिलवस्तु–दाङ खण्ड/धान खोला–शिवखोला खण्ड (४० किलोमिटर) विस्तार भइरहेको छ ।

राजमार्गको कमला–ढल्केबर–पथलैया खण्ड र बुटवल–गोरुसिङ्गे–चनौटा खण्ड विश्व बैङ्कको सहुलियतपूर्ण ऋण सहयोगमा, काँकडभिट्टा–इटहरी खण्ड, कञ्चनपुर–कमला खण्ड नारायणगढ–बुटवल खण्डको विस्तार एसियाली विकास बैङ्कको सहुलियतपूर्ण ऋण सहयोगमा विस्तार भइरहेको छ । त्यसै गरी कपिलवस्तु–दाङ खण्ड/धानखोला–शिवखोला खण्डको विस्तार एमसिसी परियोजना अन्तर्गत भइरहेको सहसचिव ढकालले जानकारी दिनुभयो । एमसिसी परियोजना अन्तर्गत विस्तार भइरहेको कपिलवस्तु–दाङ खण्ड/धानखोला–शिवखोला खण्डबाहेकका खण्डको २०७५ सालदेखि ठेक्का प्रक्रिया सुरु गरिए पनि अहिलेसम्म कुनै पनि खण्डको काम पूरा हुन सकेका छैनन् ।

काँकडभिट्टा–इटहरी खण्ड

पूर्वपश्चिम राजमार्गको पूर्वी नेपालको प्रस्थान विन्दुका रूपमा रहेको यस खण्डको विस्तारका लागि अक्टोबर २०२४ मा ठेक्का व्यवस्थापन भई २०८० असोज २३ गतेदेखि काम भइरहेको छ । अहिलेसम्म यस खण्डको भौतिक प्रगति २१ प्रतिशत पुगेको हो । सो खण्डको रुख कटानको काम सम्पन्न भई विद्युत्, खानेपानीलगायत संरचना हटाउने, माटो पुर्ने र पुलहरूको पाइल फाउन्डेसन र केही कलभर्ट निर्माणको काम भइरहेको सडक विभाग एडिबी निर्देशनालय प्रमुख चूडाराज ढकालले जानकारी दिनुभयो ।

यस आयोजना अन्तर्गत निन्दा, बिरिङ, कन्काई, रतुवा, बक्राहा र लोहन्द्रा नदीमा रहेका पुलहरूको निर्माण तथा स्तरोन्नति गर्नुपर्ने छ । २०८० कात्तिक २ गते निर्माण सम्झौता भएको यस आयोजनाको २०८३ माघ १८ गतेसम्म सम्पन्न गर्ने लक्ष्य छ । आयोजनाको कुल लागत ३४ अर्ब ९१ करोड रुपियाँ रहेकामा छ अर्ब ६८ करोड रुपियाँ खर्च भइसकेको छ ।

कञ्चनपुर–कमला खण्ड

पूर्वपश्चिम राजमार्गको कञ्चनपुर–कमला खण्डको विस्तार तथा स्तरोन्नतिका लागि नेपाल सरकार र निर्माण कम्पनीबिच २०७७ असार ११ गते सम्झौता भएको थियो । सम्झौता अनुसार २०८० कात्तिक ११ गतेसम्म निर्माण सम्पन्न गर्नुपर्नेमा अहिले म्याद थप गरेर आयोजनाको म्याद २०८३ पुस १६ गतेसम्म थप गरिएको छ ।

अहिलेसम्म यस खण्डको भौतिक प्रगति ५०.३ प्रतिशत र वित्तीय प्रगति ५६.२ प्रतिशत रहेको छ । १५ अर्ब ६६ करोड रुपियाँ लागत रहेको यस आयोजनाको दुई खण्डमा विस्तार भइरहेको छ । राजमार्गको यस खण्डमा ५४ वटा मुख्य पुल, २१८ कलभर्ट र ७४.९६ किलोमिटर ड्रेन निर्माण गर्नुपर्ने एडिबी निर्देशनालय प्रमुख ढकालले जानकारी दिनुभयो ।

कमला–ढल्केबर–पथलैया

सडक विभागका अनुसार यस आयोजना अन्तर्गत कमला–ढल्केबर खण्ड ७५ किलोमिटर निर्माण सुरु भइसकेको छ भने बाँकी बागमती–पथलैया ५३ किलोमिटरको विस्तार कार्य दोस्रो चरणमा सुरु गरिने छ । तीन वर्षभित्र (२०८४ पुस १६ गतेसम्म) काम सम्पन्न गर्ने गरी २०८१ पुस १७ गते ठेक्का सम्झौता गरिएको थियो । अहिलेसम्म यस खण्डको भौतिक प्रगति १०.९१ प्रतिशत र आर्थिक प्रगति १०.२६ प्रतिशत पुगेको छ । यस खण्डको विस्तारको कुल लागत ३२ अर्ब ३० करोड रुपियाँ रहेकोमा अहिलेसम्म तीन अर्ब ६ करोड रुपियाँ खर्च भइसकेको छ ।

नारायणगढ–बुटवल खण्ड

करिब चार वर्षभित्र (२०७९ साउन २२ गतेसम्म) काम सम्पन्न गर्ने गरी २०७५ पुस ४ गतेदेखि विस्तार सुरु गरिएको यस खण्डको अहिलेसम्मको भौतिक ६९.१८ प्रतिशत र वित्तीय प्रगति ६२.४० प्रतिशत पुगेको छ । २०८३ साउन ७ गतेसम्म यस आयोजनाको म्याद थप गरिएको छ । आयोजनाको सुरुवाती लागत १६ अर्ब ९९ करोड रुपियाँ रहेकामा अहिले १७ अर्ब २७ करोड रुपियाँ पु¥याइएको हो ।

बुटवल–गोरुसिङ्गे–चनौटा खण्ड

आर्थिक वर्ष २०८४/८५ मा सम्पन्न गर्ने गरी यस सडकखण्डको ठेक्का सम्झौता आर्थिक वर्ष २०८०÷८१ मा भएको थियो । सडक विभागका अनुसार अहिलेसम्म आयोजनाको भौतिक प्रगति १२.३३ प्रतिशत र वित्तीय प्रगति ८.७५ प्रतिशत पुगेको छ । यस आयोजनाको लागत कुल १८ अर्ब रुपियाँ रहेको छ ।गोरखापत्र

spot_img

ताजा समाचार

जाँचबुझ आयोगको प्रतिवेदनप्रति बारको असहमति

 काठमाडौं । नेपाल बार एसोसिएसनले गत भदौ २३ र २४ को घटनासम्बन्धी जाँचबुझ आयोग,...

मध्यपूर्वमा द्वन्द्व चर्किदै, वार्ता अनिश्चित

काठमाडौं । मध्यपूर्वमा जारी द्वन्द्व थप जटिल बन्दै गएको छ । एकातिर सैन्य आक्रमण...

प्युठानमा पहिलोपटक डायलोसिस सेवा सुरु

काठमाडौं । प्युठान जिल्ला अस्पताल, बिजुवारमा मिर्गौला रोगीका लागि डायलोसिस सेवा सुरु भएको छ...

शेषमती कोरिडोरका अनाधिकृत संरचना हटाइयो

काठमाडौं । काठमाडौँको तारकेश्वरस्थित शेषमती कोरिडोरमा बनाइएका अनाधिकृत संरचना हटाइएको छ। अनाधिकृत रूपमा निर्माण...