काठमाडौं । सब–डिभिजन वन कार्यालय दुम्कीबासले नवलपुरको विनयी त्रिवेणी गाउँपालिका–२ अन्तर्गत दाउन्ने बजार र दुम्कीबास बजार क्षेत्र आसपास रहेको राष्ट्रिय वन जमिनमा बनेका अवैध संरचना हटाउन निर्देशन दिएको छ। कार्यालयले सार्वजनिक सूचना जारी गर्दै १५ दिनभित्र वन क्षेत्र अतिक्रमण गरी स्थापना गरिएका घर–टहरा, पसल, होटल तथा अन्य व्यापारिक संरचना स्वेच्छिक रूपमा हटाउन आग्रह गरेको हो।
सूचनामा नारायणगढ–बुटवल सडकखण्डको दायाँ–बायाँ पर्ने वनभित्र अनेक बहानामा व्यापारिक टहरा र स्थायी संरचना बनाइँदै गएको उल्लेख छ। “निर्धारित समयभित्र नहटाएमा वन ऐन, २०७६ अनुसार बल प्रयोग गरी संरचना हटाइनेछ,” सूचनामा भनिएको छ। अतिक्रमणमा संलग्न व्यक्तिहरूलाई कानुनी कारबाही समेत हुने चेतावनी दिइएको छ।
सूचना टाँसका लागि गाउँपालिकाको वडा कार्यालय तथा प्रशासनिक कार्यालयमा पत्र पठाइएको छ। वन अधिकृत मनोज बरालका अनुसार दाउन्ने र दुम्कीबास क्षेत्रमा पछिल्लो केही वर्षयता वन जमिन अतिक्रमण गरी घर–टहरा र होटलहरू बिस्तार हुँदै गएको पाइएको थियो। निरीक्षण र नक्साङ्कनपछि ती संरचना वन क्षेत्रभित्रै पर्ने पुष्टि भएपछि कारबाही प्रक्रिया अघि बढाइएको उनले बताए।

