मतदाता नामावली दर्ता : युवापुस्ताको सङ्ख्या धेरै

Published on

काठमाडौं । आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा निर्वाचनलाई लक्षित गर्दै देशभर सञ्चालन भएको मतदाता नामावली दर्ता अभियानमा लुम्बिनी प्रदेशका विभिन्न जिल्लामा उल्लेख्य सङ्ख्यामा नयाँ मतदाता थपिएका छन् । असोज ११ देखि मङ्सिर ५ गतेसम्म चलेको दर्ता अभियानले विशेष गरी युवाको सहभागिता बढेको देखिएको छ ।

बाँकेमा सोह्र हजार 

बाँकेमा यो वर्ष १६ हजार ८११ नयाँ मतदाताले नाम दर्ता गराएका छन् । जिल्ला निर्वाचन कार्यालयका प्रमुख टेकबहादुर शाहीका अनुसार कार्यालयमा आएर दर्ता गराउने ११ हजार ७११ जनामध्ये पाँच हजार ८३७ पुरुष र पाँच हजार ८७४ महिला छन् । राष्ट्रिय परिचयपत्रको आधारमा अनलाइन दर्ता गराउने पाँच हजार एक सय जनाको विवरण छुट्याउने काम भइरहेको छ ।

शाहीले नयाँ मतदाता दर्तामा युवाको सहभागिता अत्यधिक रहेको बताउनुभयो । १८ देखि २५ वर्ष उमेर समूहका युवा सबैभन्दा बढी दर्ता भएका छन् । दर्ता समय मङ्सिर ५ गतेसम्म बढाइएको भए पनि अझै नाम छुट्ने सम्भावना रहेको कार्यालयले जनाएको छ । २०७९ सालमा बाँके जिल्लामा तीन लाख ३३ हजार ९३४ मतदाता रहेका थिए । यस वर्ष नेपालगन्ज उपमहानगरपालिका र कोहलपुर नगरपालिकाबाट धेरै युवा दर्ता भएको उल्लेख छ ।

पाल्पामा छ हजारभन्दा बढी  

पाल्पामा छ हजार ८८७ जनाले नाम दर्ता गराएका छन् । जिल्ला निर्वाचन कार्यालयका नासु विनोद घिमिरेका अनुसार राष्ट्रिय परिचयपत्रका आधारमा चार हजार ३२५ जनाले नाम दर्ता गराएका छन् । कार्यालयमा आएर दर्ता गराउने एक हजार ८२७ जनामध्ये एक हजार १७ पुरुष र ८१० महिला छन् । अन्य जिल्लाबाट पाल्पा स्थानान्तरण हुने ६३५ जनामध्ये २५९ पुरुष र ३७६ महिला रहेका छन् ।

बाहिरी जिल्लाबाट आएर पाल्पामा मतदाता बनेका १९३ जनामा १२२ महिला र ७१ पुरुष छन् । दर्ता भएको विवरण अहिले रुजु तथा त्रुटि सच्याउने चरणमा पुगेको कार्यालयले जनाएको छ । जिल्ला निर्वाचन कार्यालयका प्रमुख महेश शर्माका अनुसार दर्ता भएका नयाँ मतदातामध्ये अधिकांश युवा उमेर समूहका छन् । आगामी निर्वाचनमा पाल्पामा यसअघि नै कायम ११८ मतदान स्थललाई यथावत् राख्ने निर्णय भएको छ । सहायक प्रमुख जिल्ला अधिकारी ऋषिराम सुवेदीका अनुसार मतदाता सङ्ख्या र आवश्यकताका आधारमा केही स्थानमा मतदान केन्द्र थप्ने विषयमा समीक्षा भइरहेको छ ।

दाङमा पाँच हजार 

दाङमा आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा निर्वाचनका लागि पाँच हजार २८२ जना नयाँ मतदाताले नाम दर्ता गराएका छन् । लुम्बिनी प्रदेश निर्वाचन कार्यालय दाङका सूचना अधिकारी गेहेन्द्र कुँवरका अनुसार दर्ता भएका नयाँ मतदातामध्ये दुई हजार ९१७ जना पुरुष र दुई हजार ३६५ जना महिला रहेका छन् । अधिकांश नयाँ मतदाता युवापुस्ताका रहेका छन् । त्यसै गरी बाह्य जिल्लाका ४२२ पुरुष र २०१ महिला मतदाताले पनि दाङमा मतदाता नामावलीमा आफ्नो नाम दर्ता गराएका छन् । यस अवधिमा एक हजार ३५ जना मतदाताले त्रुटि सच्याउन र एक हजार ४० जना मतदाताले ठाउँ सारीका लागि निवेदन दिएका छन् । गोरखापत्र

spot_img

ताजा समाचार

जुम्लामा ४.१ म्याग्निच्युडको भूकम्प

जुम्ला जिल्लाको टाम्टी आसपास केन्द्रबिन्दु भएर बिहीबार बिहान भूकम्प गएको छ। राष्ट्रिय भूकम्प मापन...

महाकाली नदीमा बढ्दो डुबानका घटना न्यूनीकरण गर्न सचेतनामूलक बोर्डहरू राखिए

निलाक्सी चन्द कञ्चनपुर, जेठ ३ गते । पछिल्लो समय कञ्चनपुरस्थित महाकाली नदीमा मानिस डुबेर मृत्यु...

राष्ट्रिय हक्की टोलीमा मिथिला नगरपालिकाका ६ खेलाडी छनोट

काठमाडौँ । नेपाल हक्की सङ्घले घोषणा गरेको राष्ट्रिय महिला तथा पुरुष हक्की टोलीमा धनुषाको...

गृहमन्त्री गुरुङलाई नवलपुरमा कार्यकर्ताको स्वागत

काठमाडौँ । गृहमन्त्री सुधन गुरुङलाई राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) नवलपुरका सभापति नरेश्वर लामिछाने नेतृत्वको...