करिब पाँच लाख प्याजका बेर्ना बेच्दै इन्द्र दम्पती

Published on

काठमाडौं । गुल्मीको सत्यवती गाउँपालिका–३ ठुलोलुम्पेक बोरहका इन्द्र विश्वकर्मा र प्रेमकला गाहाले करिब पाँच लाख प्याजका बेर्ना बेच्दै हुनुहुन्छ । अहिले प्याज लगाउने मौसम सुरु भएको छ । दम्पतीले स्थानीय तथा बाहिरका बजारमा समेत पठाउने गरेर प्याजका बेर्ना लगाउनुभएको थियो । मूल्य कम परे पनि धेरै बेच्दा राम्रो आम्दानी हुने गरेको छ । अहिले प्याजका बिरुवा दुई रुपियाँमा बिक्री हुने गरेको प्रेमकलाले बताउनुभयो । बिरुवा आफैँमा संवेदनशील हुने भएकाले धेरै टाढा लैजान मुस्किल पर्छ । मोटरसाइकलमा बोकेर स्थानीय र बाहिरी बजारसम्म पुग्ने गरेको इन्द्र विश्वकर्माले बताउनुभयो ।

उहाँले अहिलेसम्म दुई लाख बिरुवा बेचेको बताउनुभयो । इन्द्र दम्पतीको कृषि मोह निकै लोभलाग्दो छ । प्रेमकला आफैँ पनि जनप्रतिनिधि हुनुहुन्छ । तर पनि श्रीमान इन्द्रसँग घरमा फुर्सद निकालेर काम गरेकाले राम्रो कृषि उत्पादन भइरहेको छ । उहाँहरुको बारीमा अहिलेकै सिजनमा आठ हजार गोपी थिए । जसबाट २५ क्विन्टल गोपी बिक्री भएको छ । गोपी बाहेक अहिले नै सय क्विन्टलभन्दा बढी तरकारी बिक्री भएको विश्वकर्माले बताउनुभयो । इन्द्र कामकै लागि मलेसिया र भारत पुग्नुभयो । ०७२ सालमा घर फर्किएर तीन वर्ष गाउँमै बस कुदाउँदा पनि सोँचे अनुसारको कमाइ भएन । पछिल्ला डेढ दशक कृषिमा बिते । तर पूर्णिमा अर्गानिक कृषि तथा पशुपंक्षी फर्ममार्फत पाँच वर्षदेखि मात्रै व्यावसायिक कृषि गरिरहनुभएको छ । विश्वकर्माले अहिले क्याप्सिकम, सिमी र काँक्रासहित कुखुरापालन व्यवसाय गरिरहनुभएको छ ।

इन्द्रको बारीमा सिमी पनि राम्रो फल्यो । सिमीकै मौसम भएकाले मूल्य सोचे अनुसार भएन । तर करिब १५ क्विन्टल सिमी र क्याप्सिकम बिक्री भयो । धेरै पहिलेबाट टमाटर खेती गरिरहनुभएका विश्वकर्माकाले अहिले मात्रै करिब ७० क्विन्टल टमाटर बिक्री भएको दाबी गर्नुभयो । विश्वकर्माकोमा भक्तपुरे जातको काँक्राका पनि साढे दुई सय बोट थिए । टमाटर, सिमी, क्याप्सिकम र काँक्रा गरेर एक टनभन्दा बढी बिक्री गरेको कृषक इन्द्र विश्वकर्माले जानकारी दिनुभयो । २०७९ सालमा असिनाले ध्वस्त बनाएपछि कृषिकर्मबाट हात धुने स्थिति भोग्नुभएका इन्द्रले पाँच लाख खर्च गरेर हेल्दी नेट प्रयोग गरेर कृषि गरिरहनुभएको छ । हेल्दीनेट महँगाे हुने भएकाले सबै कृषकको पहुँचमा छैन ।

इन्द्र दम्पतीले कृषि बाहेक आठ सय बढी कुखुरा, १० बाख्रासहित बङ्गुर पालन गर्नुभएको छ । श्रीमती प्रेमकला गाहा सत्यवती गाउँपालिका–३ को वडासदस्य हुनुहुन्छ । उहाँले वडाको कामसहित श्रीमानसँगै कृषि कर्ममा जोडिनुभएको छ । गाउँभर कृषि क्षेत्रमा ऊर्जा छ । अरुलाई कृषिमा लाग्न उत्प्रेरित गर्न आफूबाट सुरु गर्नुपर्ने गाहाको तर्क छ । सत्यवती गाउँपालिकाले कृषकका सबै उत्पादन बुटवलको २८ नं सटरमा बिक्री गर्ने प्रबन्ध गरिरहेको छ । सबै उत्पादन अहिलेसम्म बुटवलमै बिक्री भइरहेको गाहाले बताउनुभयो । उहाँले खर्च कटाएर परदेशमा बराबर कमाइ घरमै भइरहको बताउनुभयो । कृषि ज्ञान केन्द्रबाट थोपा सिँचाइ प्रविधि, पालिका तथा वडाबाट गत वर्ष टनेल सहयोग भएको थियो । उहाँले वर्षातमा पानी परे सडक समस्या हुने भएकाले राज्यले सडक सञ्चालनमा सहयोग गर्नुपर्ने आशा व्यक्त गर्नुभयो । गारखापत्र

spot_img

ताजा समाचार

जुम्लामा ४.१ म्याग्निच्युडको भूकम्प

जुम्ला जिल्लाको टाम्टी आसपास केन्द्रबिन्दु भएर बिहीबार बिहान भूकम्प गएको छ। राष्ट्रिय भूकम्प मापन...

महाकाली नदीमा बढ्दो डुबानका घटना न्यूनीकरण गर्न सचेतनामूलक बोर्डहरू राखिए

निलाक्सी चन्द कञ्चनपुर, जेठ ३ गते । पछिल्लो समय कञ्चनपुरस्थित महाकाली नदीमा मानिस डुबेर मृत्यु...

राष्ट्रिय हक्की टोलीमा मिथिला नगरपालिकाका ६ खेलाडी छनोट

काठमाडौँ । नेपाल हक्की सङ्घले घोषणा गरेको राष्ट्रिय महिला तथा पुरुष हक्की टोलीमा धनुषाको...

गृहमन्त्री गुरुङलाई नवलपुरमा कार्यकर्ताको स्वागत

काठमाडौँ । गृहमन्त्री सुधन गुरुङलाई राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) नवलपुरका सभापति नरेश्वर लामिछाने नेतृत्वको...