काठमाडौं । दाङमा चार सय ७१ जना एचआईभी संक्रमित रहेका छन् । संक्रमितमध्ये दुई सय २७ जना पुरुष, दुई सय ३६ जना महिला, आठ जना यौनिक अल्पसंख्यक र अठार जना बालबालिका रहेको स्वास्थ्य कार्यालय दाङले जनाएको छ । चालु आर्थिक बर्षको चालुआर्थिक बर्षको पाँच महिनामा जिल्लामा १३ जना नयाँ एचआईभी संक्रमित थपिएसँगै जिल्लामा एचआईभी संक्रमितको संख्या चार सय ७१ जना पुगेको स्वास्थ्य कार्यालय दाङ एचआईभी कार्यक्रमका फोकल पर्सन कुन्दन ठाकुर जानकारी दिनुभएको छ । एचआईभी कार्यक्रमका फोकल पर्सन ठाकुरका अनुसार जिल्लामा आर्थिक वर्ष २०७९-०८० मा ३६ नयाँ एचआईभी संक्रमित भेटिएका थिए । त्यसैगरी आर्थिक बर्ष २०८०-०८१ मा ४२ जना र आव २०८१-०८२ मा ३७ जना नयाँ संक्रमित भेटिएका थिए ।
नयाँ थपिने क्रम नरोकिएसँगै दाङमा एचआईभी संक्रमितको संख्या बढिरहेको छ । आर्थिक वर्ष २०७९-०८० मा दाङमा तीन सय ९४ संक्रमित रहेकोमा आर्थिक वर्ष २०८१-०८२ मा संक्रमितको संख्या चार सय ५८ पुगेको थियो । जिल्लामा एचआईभी संक्रमितले घोराहीस्थित राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान, तुलसीपुरमा रहेको राप्ती प्रादेशिक अस्पतालबाट उपचार सेवा लिने गरेका छन् । जिल्लामा एचआईभी संक्रमणको उच्च जोखिममा रहेका समूहहरूमा सुईद्वारा लागूपदार्थ प्रयोग गर्नेहरु, यौनकर्मी, पुरुष समलिंगी तथा तेस्रो लिंगीहरु र रोजगारीका लागि विदेश गएर फर्किएकाहरु रहेको नेपाल परिवार नियोजन संघ दाङका शाखा प्रबन्धक बसन्त खनालले जानकारी दिनुभएको छ । उहाँका अनुसार परिक्षण गर्ने सख्या बढेसँगै संक्रमितको संख्या बढेको बताउनुभयो । जिल्लामा २०८२ मा एड्सबाट संक्रमित दुई जना गरेर हालसम्म एचआईभी एड्सबाट ७६ जनाको मृत्यु भइसकेको स्वास्थ्य कार्यालय दाङले जनाएको छ ।
यसैबिच ३८ औँ विश्व एड्स दिवस–२०२५ का अवसरमा घोराहीमा आयोजना गरिएको कार्यक्रमका सहभागीले एचआईभी एड्सबाट बच्नका लागि स्वास्थ्य सेचतनासँगै सावधानी आवश्यक रहेको बताएका थिए । ‘अवरोधहरू पार गरौँ, एड्स प्रतिकार्य रूपान्तरण गरौँ’ भन्ने मुल नाराका साथ दाङको घोराहीमा एचआईभी÷एड्सबारे सूचना–शिक्षा सामग्री प्रदर्शनी तथा जोखिम रोकथाम, उपचार सेवा र सामुदायिक भूमिकामाथि केन्द्रित विस्तृत छलफल कार्यक्रमका सहभागीले एचआईभी एड्सका बारेमा सचेतना आवश्यक रहेकोमा जोड दिनुभएको थियो ।
स्वास्थ्य कार्यालय दाङको आयोजनामा तथा नेपाल परिवार नियोजन संघ दाङ शाखा, दाङ प्लस, नागार्जुन डेभलपमेन्ट कम्युनिटी, घोराही उपमहानगरपालिका र सुरक्षित आप्रवासन कार्यक्रम (सामी) को सहआयोजनामा भएको कार्यक्रममा नेपाल परिवार नियोजन संघ दाङ शाखाका शाखा प्रबन्धक बसन्त खनालले जिल्लामा एचआईभी-एड्सको अवस्था, संक्रमण विस्तारका कारण, जोखिम समूह, रोकथामका वैज्ञानिक उपाय, उपचार सेवाको उपलब्धता तथा संक्रमण न्यूनिकरणका लागि समुदाय, स्थानीय सरकार, स्वास्थ्य संस्था र नागरिकस्तरमा चाल्नुपर्ने पहलका बारेमा जानकारी गराउनुभएको थियो । गोरखापत्र

