‘समावेशी नेपाल बनाउने अभियान जारी छ’

Published on

काठमाडौं । सञ्चार तथा सूचना प्रविधिमन्त्री एवम् सरकारका प्रवक्ता जगदीश खरेलले समावेशी नेपाल बनाउने अभियान जारी रहेकाले सबैको हातेमालो आवश्यक रहेको बताउनुभएको छ । गोकणेश्वर–३, काठमाडौँमा आयोजित गोरखापत्रको बहुभाषिक पृष्ठ नयाँ नेपाल अन्तर्गत थपिएको कुलुङ भाषाको मङ्गलबार यहाँ पृष्ठ अनावरण गर्नुहुँदै उहाँले सो कुरा बताउनुभएको हो । गोरखापत्रमा आजदेखि प्रकाशन सुरु भएको कुलुङ भाषाको सार्वजनिकीकरण कार्यक्रममा उहाँले भन्नुभयो, “समावेशी नेपाल नामक घर बनाउने अभियान सुरु भएको छ, गोरखापत्रमा कुलुङ भाषा पृष्ठ थपिनु एउटा इँटा थपिनु हो । यो अभियानमा सबैको हातेमालो चाहिन्छ ।”

नेपाल विविध जाति, भाषा र समुदायले बनेकाले जातजातिको भाषा, भेषभुषा र संस्कृति यहाँको गौरव र पहिचान भएको उहाँले बताउनुभयो । सरकार सबै समुदायको घरदैलोमा पुग्ने प्रयासमा रहेको र कुलुङ समुदायको कार्यक्रममा आज यहाँ पुग्नु पनि त्यही अभियान भएको उहाँले चर्चा गर्नुभयो । सरकारले आगामी फागुन २१ गते प्रतिनिधिसभाको निर्वाचन तोकेको छ । सो निर्वाचनलाई सफल बनाउनु सबै नेपालीको कर्तव्य हो । निर्वाचन आफै लोकतन्त्रको आधार स्तम्भ र सुशासन कायम गर्ने अभियान भएकाले सबैको साथको खाँचो रहेको उहाँले बताउनुभयो । 

सो अवसरमा नेपाल किरात कुलुङ भाषा संस्कृति उत्थान सङ्घका अध्यक्ष चन्द्रसिंह कुलुङले मन्त्री खरेललाई फेगा (कुलुङ समुदायको सांस्कृतिक पोशाक) लगाएर स्वागत गर्नुभयो । मन्त्रालयका सचिव राधिका अर्यालले गोरखापत्रमा कुलुङ भाषाले स्थान पाउनु सो समुदायको पहिचान कायम हुनु हो भन्नुभयो । समावेशी नेपाल बनाउने अभियानमा यो पृष्ठ थप हुनु आफैंमा ऐतिहासिक काम भएको उहाँले बताउनुभयो । आजको पत्रकारिता भोलिको इतिहास भएकाले पृष्ठलाई पठनीय बनाउन उहाँले सुझाव दिनुभयो । 

संस्थानका महाप्रबन्धक लालबहादुर ऐरीले राष्ट्रभाषाको श्रीवृद्धिमा गोरखापत्रले खेलेको भूमिका महत्त्वपूर्ण रहेको बताउनुभयो । यस अभियान अन्तर्गत मङ्गलबारदेखि थप भएको कुलुङ भाषा पृष्ठले भाषा संरक्षणमा थप टेवा पुग्ने विश्वास उहाँले व्यक्त गर्नुभयो । गोरखापत्रमा ४६ भाषाको पृष्ठ प्रकाशन भइरहेको बताउँदै उहाँले यसमा सञ्चार मन्त्रालय, भाषा आयोगको उल्लेखीय योगदान भएको बताउनुभयो । गोकणेश्वर नगरपालिकाका प्रमुख दीपककुमार रिसालले नगरपालिका भाषा संस्कृतिको संरक्षण तथा प्रवर्धनमा योगदान दिइरहेको बताउँदै गोरखापत्रको अभियानमा सकेको साथ सहयोग गर्ने बताउनुभयो । भाषा संस्कृति यहाँको पहिचान भएकाले त्यसको प्रवर्धनमा सहयोग गर्ने उहाँले प्रतिबद्धता जनाउनुभयो । 

गोरखापत्र दैनिकका निमित्त प्रधान सम्पादक जुनारबाबु बस्नेतको अध्यक्षतामा भएको कार्यक्रममा महाकुलुङ गाउँपालिकाका अध्यक्ष सूर्य कुलुङ, नेपाल किरात कुलुङ भाषा संस्कृति उत्थान सङ्घका अध्यक्ष चन्द्रसिंह कुलुङले सरकार र गोरखापत्र संस्थानलाई धन्यवाद व्यक्त गर्नुभयो । आफ्नो भाषालाई स्थान दिएकोमा खुसी व्यक्त गर्नुभयो । 

सो अवसरमा संस्थानका महाप्रबन्धक लालबहादुर ऐरीले कुलुङ अगुवाहरूलाई मायाको चिनो प्रदान गर्नुभयो । कार्यक्रममा सञ्चार मन्त्रालयका सहसचिव तथा कर्मचारी, संस्थानका सञ्चालक समिति सदस्य लक्की चौधरी, राइजिङ नेपालका निमित्त प्रधान सम्पादक विष्णुप्रसाद गौतम, संस्थानका विभागीय प्रमुखहरूको सहभागिता थियो ।  गोरखापत्र

spot_img

ताजा समाचार

‘स्मार्ट हुलाक’ विस्तार, सरकारी कागजात अब घरमै

काठमाडौं । सरकारले हुलाक सेवालाई प्रविधिमैत्री बनाउँदै ‘स्मार्ट हुलाक’ कार्यक्रम प्रभावकारी रूपमा अघि बढाएको...

लुम्बिनीमा मन्त्रालय घटाइयो, अब मुख्यमन्त्रीसहित ९ मन्त्रालय

देउखुरी । लुम्बिनी प्रदेश सरकारले कार्यसम्पादनलाई प्रभावकारी बनाउन मन्त्रालय पुनःसंरचना गर्दै मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को...

सी चिनफिङसँग भेट सुनिश्चित भए मात्रै चीन जाने रविको अडान

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले राष्ट्रपति सी चिनफिङसँग भेट सुनिश्चित...

रास्वपाले बालेन शाहलाई वरिष्ठ नेता मनोनित गर्‍यो

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को केन्द्रीय समितिको बैठकले प्रधानमन्त्री बालेन्द्र (बालेन) शाहलाई...